दूर–शिक्षामा आकर्षण



घरै बसी–बसी औपचारिक शिक्षा हासिल गर्नसकिने विधि अहिले विश्वमै लोकप्रिय बन्दैआएको छ । सत्रौं शताब्दीमा हुलाकको स्थापनासँगै पत्र पठाएर टाढाको व्यक्तिलाई प्रशिक्षण दिने काम सुरु भएको थियो । तर, १९८० को दशकमा सर्वसाधारणका लागि इन्टरनेट खुला भएपछि क्रमशः यसको माध्यमबाट पत्राचार हुनथाल्यो ।

विस्तारै रेखाचित्रसहितको पत्र पठाएर पनि शिक्षा दिन थालियो । १८७३ मा आएर अमेरिकामा घरै बसीबसी शिक्षा हासिल गराउने प्रयोजनले पहिलो पाठशाला खुल्यो भने बेलायतले उच्च शिक्षामा दूर शिक्षा प्रणालीलाई प्रवेश गराउने कार्यमा प्रथम बन्ने इतिहास बनायो । युनिभर्सिटी अफ लण्डन यसका लागि आदि विश्वविद्यालयका रुपमा परिचित छ । नेपालमा भने २०७३ असार ३० गते नेपाल खुला विश्वविद्यालय ऐन पारित भएपछि खुला विश्वविद्यालय स्थापना भएको हो ।

खुला शिक्षा प्रणालीलाई नवीनतम शिक्षण विधि तथा सूचना प्रविधिको माध्यमबाट विभिन्न विषयको उच्चस्तरीय अध्ययन–अध्यापन तथा अनुसन्धान गर्न स्थापना भएको यो विश्वविद्यालयमा हाल ६ सय ३१ विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयले जनाएको छ । यस विश्वविद्यालयले विसं २०७४ जेठ ३० गतेदेखि आधुनिक सूचना तथा सञ्चार प्रविधि र उपकरणको प्रयोग गरी खुला तथा दूर शिक्षा प्रणालीको माध्यमबाट प्राज्ञिक अनुसन्धानमूलक तथा पेशागत विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । खुला तथा दूर शिक्षा प्रणालीका मानक स्थापना गर्ने, विज्ञहरु उत्पादन गर्ने तथा पूर्वाधार विकास गर्दै राष्ट्रिय स्रोत केन्द्रको रुपमा विकास गर्ने उद्देश्यका साथ यो सक्रिय छ ।

सूचना प्रविधिको आधुनिक विकल्प प्रयोग गरी बजारको माग र आवश्यकताअनुसार विभिन्न विधामा योग्य, दक्ष र गुणस्तरीय शिक्षित जनशक्ति उत्पादन गर्न यो विश्वविद्यालय स्थापना भएको देखिन्छ । देशको आर्थिक र सामाजिक विकासको मूल प्रवाहमा आउन नसकेका र पछि पारिएका, निरन्तर कक्षामा उपस्थित हुन नसक्ने जनशक्तिलाई घरमै बसेर अध्ययन गर्न विश्वविद्यालय स्थापना भएको हो ।

परम्परागत उच्चशिक्षा प्रणालीमा समाहित भई उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट वञ्चित भएका शिक्षित वर्गलाई उनीहरुको पायक पर्ने स्थान, समय र सिकाइको गतिमा उच्च शिक्षा अध्ययनको अवसर उपपब्ध गराउनु साँच्चिकै समयसापेक्ष कदम हो ।

खुला विश्वविद्यालयले आम सञ्चार र पत्रकारिता विषयमा पनि पठन–पाठन सुरु गर्ने तयारी गरेको बुझिएको छ । नेपालको पत्रकारिता क्षेत्रमा ३५ वर्षदेखि सक्रिय नेपाल प्रेस इन्टिच्युट खुला विश्वविद्यालयको आतिथेय संस्थाका रुपमा काम गर्न सहमत भएको छ । अब खुला विश्वविद्यालयको पाठक्रम नेपाल प्रेस इन्ष्टिच्यूटले पढाउनेछ । स्नातक र स्नातकोत्तरमा घरै बसेर शैक्षिक योग्यता हासिल गर्न सकिनेछ, व्यावसायिक पत्रकार बन्ने ज्ञान र सीप हासिल हुनेछ ।

पछिल्लो जानकारीअनुसार विश्वविद्यालयले विभिन्न सेमेष्टरमा २ सय ८० जना विद्यार्थी भर्ना गर्न आवेदन मागेकोमा ९ सयको आवेदन परेको छ । यसैगरी आमसञ्चारमा पनि विद्यार्थीको चाप बढ्ने निश्चित छ । यो समयको माग पनि हो । दूरशिक्षामा गुणस्तरीयता कायम गर्नसकियो भने आजको व्यस्त जीवनमा यसप्रति अझ बढी आकर्षण बढ्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्