हजार्डलाई गुमाउँदा चेल्सीलाई घाटा



लन्डन, (एजेन्सी)
युरोपा लिग च्याम्पियन प्रिमियर लिग क्लब चेल्सीले मुख्य स्ट्राइकर इडेन हजार्डलाई गुमाएको छ । हजार्डलाई १ सय ५० मिलियन पाउन्डसम्म पु¥याउने सम्झौताअनुसार रियल मेड्रिडले अनुबन्धन गरेको छ । बेल्जियन फरवार्डले चेल्सीका लागि ३ सय ५२ खेलमा १ सय १० गोल गरेका थिए । उनी सन् २०१२ मा फ्रेन्च क्लब लिलेबाट चेल्सीमा आबद्ध भएका थिए । उनले चेल्सीलाई गत साता युरोपा लिग उपाधि दिलाएका थिए ।

हजार्डले भने पनि—चेल्सी छाड्ने निर्णय मेरो लागि ज्यादै कठिन निर्णय भएको छ ।
स्पेनी ला लिगा क्लब रियलले हजार्डलाई ८९ मिलियन पाउन्डमा (१ सय मिलियन युरो) मा अनुबन्धन गरेको हो । हजार्ड बेचेवापत चेल्सीलाई थप ६० मिलियन पाउन्ड बोनस स्वरुप प्राप्त हुनेछ । रकम पाए पनि चेल्सीले खर्च गर्न पाउने छैन । चेल्सीको ट्रान्सफर प्रतिबन्ध बाँकी छ । त्यसैले सो क्लबले जनवरी २०२० सम्म कोही पनि खेलाडीलाई किन्न सक्दैन । उनीहरु हजार्डको स्थानमा कोही खेलाडी राख्न असमर्थ छन् ।

२०१८–१९ प्रिमियर लिग सिजनको दौरान चेल्सीको लिग गोलमा हजार्ड झण्डै आधा प्रतिशतका भागिदार थिए । उनले १६ गोल र १५ एसिस्ट गरेका थिए । उनकै कारण चेल्सी शीर्ष चारमा पुगेको थियो ।

हजार्डले चेल्सीका लागि दुई प्रिमियर लिग उपाधि जितेको थियो । स्टामफोर्ड ब्रीजमा पहिलो सिजन उनको निकै लाभदायक भएको थियो । उनले २३ एसिस्ट र १३ गोल गरेका थिए । जोसे माउरिन्हो चेल्सीमा जुन २०१३ मा पुन फर्कदा उनी लगातार प्लेयर अफ द सिजन घोषित भएका थिए । २०१३–१४ सिजनमा उनले १७ गोल र १० एसिस्ट गरेका थिए । तर २०१५–१६ मा माउरिन्होकै नेतृत्वमा हजार्डले मात्र ६ गोल गरेका थिए । किनभने त्यतिबेला नीलो जर्सीले २८ खेलमा गोल गर्न सकेको थिएन ।

यसपछि माउरिन्होको बर्खास्तपछि एन्टोनीयो कोन्टे मेनेजरमा आउँदा हजार्डले प्रिमियर लिगमा कीर्तिमान १६ गोल गरे । उनले हाल माउरिजियो सारीको नेतृत्वमा पनि त्यति नै गोल गरेका थिए । गत सिजनमा हजार्डको एक मात्र गोलकै सहायतामा चेल्सीले एफएकप फाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो ।

हजार्डको रियल मेड्रिडमा जाने सपना थियो । त्यो पुरा भएको छ । उनले दुई वर्ष अगाडि नै बेर्नबउमा जाने सपना रहेको रहस्य खोलेका थिए । उनले भने—रियल विश्वमा उत्कृष्ट क्लब हो । म सानैदेखि रियल मेड्रिडबारे सपना देख्थे ।

प्रतिक्रिया दिनुहोस्