डायरी हराएर त हैन ?



सरकारले हालै प्रस्तुत गर्या बजेटको चर्चा परिचर्चा अझै बाँकी छ। बजेटको समर्थन र विरोध जारी छ। सत्ताको कित्तामा हुने निर्धक्क समर्थनमा उत्रिया छन्, प्रतिपक्षी कित्तामा उत्रनेको राजनीतिक जात र धर्म अर्कै भएकाले तीनले समर्थन गर्ने कुरै भएन।

कर्मचारीको तलब बढ्यो, बा–आमा र अन्यको भत्ता पनि बढ्यो। तर सरकारले जतिसुकै ढाकछोप गरोस् सत्तापक्षले नै बजेटको खुलेर प्रंशसा गर्या छैनन्। यसपटकको बजेट पर्फेक्ट नभए पनि पर्फेक्ट नजिक पुग्या अर्थमन्त्री खतिवडा तर्क गर्छन्।

असन्तुष्टीबारे प्रष्ट जानकार उनी भन्छन्– ‘आगामी बजेटमा सबैलाई खुसी बनाउँला।’अचम्म छ भन्या अर्को वर्ष चाहिँ कसरी सबैको चित्त बुझ्ने बजेट आउँछ ?

फलफूल रोप्ने अभियान देशव्यापी बनाउने भन्या सरकारले पैसा फल्ने बोट बिरुवा पनि धमाधम रोप्दै छ कि क्या हो, यति त्यस्तो हो भने बोटबिरुवा घरघरै बाँढ्दै पो छ कि ? सबैतर्फबाट प्राप्त भएका राय, सुझाव, आलोचना टिपोट गर्या हुनाले आगामी वर्षको बजेट चित्त बुझ्दो बनाउने खतिवडाको तर्क सुन्दा धरहरा राम्रैसँग झस्कियो।

हैन, पोहोर बजेट भाषण गर्ने पनि यिनै खतिवडा हुन्, कि अर्कै परे। उनै हुन् भने गत वर्ष पनि अनगिन्ती राय, सुझाव, आलोचना छताछुल्ल भाथ्यो, उनले ती राय सुझाव टिप्न कसरी छुटाए ? कि टिपेको डायरी हरायो, त्यही भएर यसपटकको बजेटले सबैलाई खुसी बनाउन नसक्या हो क्यार !

प्रतिक्रिया दिनुहोस्