वीरगन्ज नाकाबाट ९४ अर्बभन्दा बढीको इन्धन आयात



कृष्णउदास खनाल, वीरगन्ज
मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट मात्रै ९४ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। चालू आर्थिक वर्षको जेठ १५ गतेसम्ममा वीरगन्ज नाकाबाट ९४ अर्ब २१ करोड ४८ लाख ७६ हजार रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको हो।

वीरगन्ज भन्सार नाकाबाट डिजल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात हुँदै आएको छ। चालू आर्थिक वर्षमा गत आर्थिक वर्ष २०७४÷०७५ को सोही अवधिमा भन्दा २५ अर्ब ४ करोड १९ लाख ६० हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो।

वीरगन्ज भन्सार कार्यालयले दिएको तथ्यांकअनुसार वैशाखसम्ममा ६९ अर्ब १७ करोड २९ लाख १६ हजार रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगन्ज भन्सार कार्यालय हुँदै आयात हुने प्रमुख २० मालवस्तुमा स्थान ओगट्न सफल पेट्रोलियम पदार्थबाट राजस्व पनि राम्रो उठ्ने गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थबाट मात्रै कार्यालयले २६ अर्ब ८३ करोड ३४ लाख ८८ हजार रुपियाँ राजस्व संकलन गरेको छ।जुन गत वर्षको तुलनामा ४ अर्ब ९३ करोड ९३ लाख ५२ हजारले बढी हो। चालू आर्थिक वर्षको साउनदेखि जेठ दोस्रो सातासम्ममा वीरगन्ज भन्सार नाका हुँदै सबैभन्दा बढी मूल्यको डिजेल र कम मूल्यको मट्टितेल आयात भएको छ। भन्सारको तथ्यांकअनुसार वैशाख महिनासम्म ४८ अर्ब २ करोड ६२ हजार ८६ लाख मूल्य बराबरको ६ लाख ८३ हजार ८ सय ४० किलोलिटर डिजेल, १६ अर्ब ४९ करोड ५२ लाख ७९ हजार रुपियाँको २ लाख ६२ हजार ५ सय ५९ किलोलिटर पेट्रोल, १० अर्ब ६० करोड ३३ लाख १३ हजार रुपियाँको १ लाख ५२ हजार ९ सय ९६ किलोलिटर एटीएफ र ७५ करोड ५३ लाख १३ हजार रुपियाँको १० हजार ७ सय ८० लिटर मट्टितेल आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्