सहकारीमा २६ करोड घोटाला काण्ड



नेपाल समाचारपत्र, बाँके
सहकारी वित्तीय विकास संस्था लिमिटेडले ग्राहकको पैसा फिर्ता गर्न शुरु गरेको छ। चार जना कर्मचारीले करिब २६ करोड हिनामिना गरेर फरार भएपछि बन्द भएको सहकारीले बिहीबारदेखि ग्राहकको पैसा फिर्ता गर्न शुरू गरेको हो।

ठूलो संख्यामा प्रहरी परिचालन गरेर सहकारीले शुरुवाती चरणमा बचतबाट १० प्रतिशत फिर्ता गरेको छ। पैसा फिर्ता हुने भनेपछि गाउँ–गाउँबाट ग्राहकहरू विहानै नेपालगन्ज आएका छन्।

सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले अब बिहीबार र सोमबार १० बजेदेखि ३ बजेसम्म पैसा फिर्ता गरिने जानकारी दिनुभयो।‘ दिनमा ५० जना महिला र ५० जना पुरुषको पैसा फिर्ता गर्छौ, अध्यक्ष चौधरीले भन्नुभयो–‘सहकारीको अवस्था नाजुक भए पनि ग्राहकको पैसा फिर्ता गर्न लागि परेको छु।’ उहाँले सबै पैसा फिर्ता गर्नका लागि आफ्नो ८० कठ्ठा जमिन बैंकमा राख्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। बिहीबार पहिलो दिन सय जनालाई ३३ लाख ६० हजार नौ सय रुपियाँ फिर्ता गरिएको छ।
सहकारीको रकम हिनामिना गरेर फरार रहेका चार जनाले आफन्तमार्फत ७७ लाख रुपियाँ फिर्ता गरेपछि र अन्य खोजखाज गरेर ग्राहकको पैसा फिर्ता गर्न शुरु गरेको अध्यक्ष चौधरीले बताउनुभयो।

चार जना कर्मचारीले करिव २६ करोड हिनामिना गरेर फरार भएपछि जेठ १२ गतेदेखि सहकारी बन्द रहेको थियो। सहकारीका बैंकिङ प्रबन्धक अरूणकुमार पाठकले २२ करोड, नायब महाप्रवन्धक गंगाधुर सुवेदीले ३ करोड, खजुरा शाखाका प्रमुख सूर्यकुमार बिकले ६४ लाख र बैजापुर शाखाका लिलाधर वलीले ४४ लाख हिनामिना गरेको अध्यक्ष चौधरीको भनाइ छ। यी फरार रहेकालाई प्रहरीले खोजी गरिरहेको छ। यता, प्रहरी सम्पर्कमा आएका पाठकले आफूलाई फसाइएको दाबी गर्नु भएको छ। २१ गते प्रहरी सम्पर्कमा आएका पाठकले सहकारीमा पहिलादेखि नै आर्थिक गडबडी भए पनि गत भदौ २६ गतेदेखि आफूलाई प्रबन्धक बनाएर फसाइएको दाबी गर्नुभयो। पाठक २१ गतेदेखि नै प्रहरी नियन्त्रणमा छन्।

सहकारीमा रकम हिनामिना भएको सुनेपछि पैसा डुब्यो भनेर अत्तालिएका पचपोखरीका विर्जलाल राढ दिनको एकपटक सहकारीमा आउँदै फर्किदै गर्नुहुन्छ। बिहीबारदेखि पैसा बाड्ने सुनेपछि विहानै ६ बजे नै नेपालगन्ज आइ पुग्नुभयो। छोराले मलेसियाबाट पठाएको चार लाख ११ हजार ९ सय ५० रुपियाँ विर्जलालले सहकारीमा जम्मा गर्नु भएको छ। ‘श्रीमती जगदम्बीको नाममा पैसा जम्मा गरेको छु। छोराले मलेसियाबाट पठाएको हो,’ बिर्जलालले भन्नुभयो–‘सहकारीका कर्मचारीले पैसा खाएर भागेको सुनेपछि मन आत्तिएको छ।

म दैनिक नै नेपालगन्ज आउँदै बुझ्दै जाँदै गरेको छु। आज पैसा बाँड्ने थाहा पाएपछि विहान ६ बजे नै नेपालगन्ज आइपुगे।’ बदरुल अन्सारी पनि सहकारी अगाडि लाइनमा बस्नु भएको थियो। उहाँको पनि छोराले विदेशबाट पठाएको ११ लाख रुपियाँ सहकारीमा जम्मा रहेको छ। नेपालगञ्ज, खजुरा र बैजापुरमा शाखा राखेर चलाएको सहकारीमा १४ हजार बढी ग्राहक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्