विश्वकप जित्न नसकेका लिजेन्डहरू



फिरोज राजोपाध्याय

आईसीसी क्रिकेट विश्वकप प्रतियोगिताको उद्घाटन भइसकेको छ। इंग्ल्यान्ड र वेल्स संयुक्त आयोजक बनेको यस प्रतियोगिताको यो १२औं संस्करण हो। प्रतियोगिता लिजेन्ड खेलाडीका लागि यो अन्तिम विश्वकप पनि हुन सक्छ। जसमा कोही सफल होलान् त कोही असफल पनि। सायद सबै लिजेन्ड पनि सफल हुन सक्छन्। विश्वकप जितेर एल्भिस कालीचरण, एलेन बोर्डर, स्टिभ वाग, सेर्न वार्न, इमरान खान, भिभियन रिचर्ड, सचिन तेन्दुलकर, अरबिन्द डि सिल्भा, महेन्द्रसिंह धोनी, जावेद मियाँदाद, रिकी पोन्टिङ, माइकल क्लार्क आदि भाग्यमानी बनेका छन्।

तर यसै क्रममा कतिपय लिजेन्ड क्रिकेटरका लागि विश्वकपको ट्रफी निकै टाढाको विषय बनेको छ। जसमा इंग्ल्यान्डका ग्राहम गुच, इयान बोथम, वेस्ट इन्डिजका ब्रायन लारा र शिवनारायण चन्द्रपाल, श्रीलंकाका कुमार संंगाकारा, भारतका राहुल द्रविड र सौरभ गांगुली, पाकिस्तानका शाहिद अफरिदी, दक्षिण अफ्रिकाका ज्याक कालिस, हान्से क्रोने, एबी डिभिलियर्स तथा न्युजिल्यान्डका बे्रन्डन म्याककुलुम र स्टेफन फ्लेमिङ भने विश्वकप जित्ने खेलाडीमा पर्न सकेनन्। उनीहरूले क्रिकेटमा सबैथोक हासिल गरे पनि विश्वकपको मामिलामा उनीहरू अभाग्यशाली ठहरिए। यहाँ त्यस्ता केही खेलाडीको चर्चा गरिएको छ ः

एबी डिभिलियर्स, दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाका लिजेन्ड एबी डिभिलियर्सलाई मिस्टर ३६० उपनामले चिनिन्छ। उनले ग्रेभिटीको नियमलाई चुनौती दिन सक्छन्। उनी बायाँ र दायाँ हातले ब्याटिङ गर्न सिपालू छन्। ब्याटिङ गर्न उनलाई निकै सजिलो छ भन्ने प्रमाण उनले मैदानमा बेला–बेला देखाउँछन्। तर, अहिले उनी विश्वकपमा छैनन्। राम्रो विकेटकिपर रहेका डिभिलियर्सले दक्षिण अफ्रिकालाई विश्वकप दिलाउन भने सकेनन्।

उनले ओडीआई (वान डे अन्तर्राष्ट्रिय) मा २ सय २८ खेल खेलेर ९ हजार ५ सय ५८ रन बनाएका छन्। उनको औसत ५० अर्धशतक र २४ शतकसहित ५३ दशमलव ५ को रहेको छ। सन् २०१५ को विश्वकपमा दक्षिण अफ्रिकाले उपाधि जित्ने संकेत देखाएको थियो। तर, सेमिफाइनलमा न्युजिल्यान्डसँग हार्दा दक्षिण अफ्रिकाको अभागी ट्याग हट्न सकेन। एबीले पनि त्यो ट्यागलाई मेटाउन सकेनन्। प्रतियोगितामा एबीले कुल ४ सय ८२ रन जोडेका थिए।
यसअघि उनले सन् २००७ र २०११ को विश्वकपमा पनि खेलेका थिए। २००७ को विश्वकपमा उनको शुरूआत नै खराब भएको थियो। उनले पहिलो तीन खेलमा डकआउट भएर खराब कीर्तिमानको भागिदार बन्नुपरेको थियो। तर, उनले सुपर–८ मा वेस्ट इन्डिजविरुद्ध १ सय ४६ रन बनाएर आफ्नो क्षमता पेस गरे। २०११ को विश्वकपमा त उनले पहिलो दुई खेलमै लगातार शतक प्रहार गरेका थिए।

राहुल द्रविड
भारत

द वाल यानिकि पर्खाल उपनामले चर्चित राहुल द्रविड एक शानदार ब्याट्सम्यान हुन्। राहुल खास गरी टेस्ट म्याचका लागि निकै उपयुक्त थिए। तर, उनले वान डे ढाँचामा पनि आफ्नो क्षमता प्रस्तुत गरे। कसरी ब्याटिङलाई बलियो बनाउने उनलाई थाहा छ। त्यसैले उनी भारतीय टोलीमा सधैं मध्यक्रममै ब्याटिङ गर्थे। उनले एक्लैको बलमा पनि वान डे र टेस्टमा भारतलाई जित दिलाएका थिए।
२००७ को विश्वकप द्रविडको व्यक्तिगत चौथो सहभागिता थियो, जसमा उनी भारतीय टोलीका कप्तान थिए। तर, प्रतियोगिताको समूह चरणबाटै बाहिरिएपछि उनको निकै आलोचना भएको थियो। यो असफलताले एक शानदार खेलाडीमाथि कतिपयले प्रश्न चिह्न लगाए। उनको आलोचना गर्नेहरूले उनको क्षमतामाथि नै शंका गरेका थिए। राहुलले ओडीआईमा ३ सय १४ खेल खेलेर १० हजार भन्दा बढी रन बनाएका छन्। यसको बाबजुद उनी विश्वकप जित्न नसक्ने अभागी खेलाडीको सूचीमा परेका छन्।

ब्रायन लारा, वेस्ट इन्डिज
ब्रायन लारा पनि क्रिकेटको इतिहासमा एक प्रसिद्ध क्रिकेटरमा गनिन्छन्। १९९० को दशकमा चम्केका लाराले वेस्ट इन्डिजलाई कैयौं खेलमा जित दिलाएका थिए। उनको ब्याटिङ शैली र सचिन तेन्दुलकरको ब्याटिङ शैली निकै भिन्न भए पनि दुवैलाई त्यतिबेला को राम्रो भनेर ठम्याउन सकिँदैनथ्यो। कोही लारालाई राम्रो भन्छन् त कोही सचिनलाई। तर, विज्ञहरूका अनुसार लारा सचिनभन्दा राम्रो ब्याट्सम्यान भएको मानिन्छ।
लाराको ब्याटिङ शैली निकै आक्रामक हुन्थ्यो। विशेष गरी अफ र अन साइडमा उनको ब्याटिङ कलाको जवाफ नै थिएन। उनले कैयौंपटक वेस्ट इन्डिजको पुरै भारसमेत लिएका थिए। त्यसैले पनि उनलाई खेलको नतिजा उल्टाउन सक्ने ब्याट्सम्यानमा अग्रपंक्तिमा लिइन्छ।

२ सय ९९ सय ओडीआई खेलेर लाराले १० हजार ४ सय ५ रन बनाएका छन्। उनको १९ शतक र ६३ अर्धशतकसहित ४० दशमलव ४८ को ब्याटिङ औसत रहेको छ। यस्ता लिजेन्ड खेलाडीको भाग्यमा विश्वकप ट्रफी पर्न सकेन। लाराले कहिल्यै विश्वकप जित्न सकेनन्।
१९९२ को विश्वकपमा लाराले ३ अर्धशतक प्रहार गरेका थिए। तापनि उनको टोली सेमिफाइनलमा पुग्न सकेन। १९९६ विश्वकप त उनका लागि बिर्सनलायक बनेको थियो। डेब्यु गरेको केन्यासँग वेस्ट इन्डिज ९३ रनमै धरासायी भएर लारा र उनको टोलीले निकै आलोचना खेप्नुपरेको थियो। तापनि वेस्ट इन्डिज नकआउट चरणमा पुगेर लाज ढाकेको थियो। लाराकै १ सय ११ रनको कारण वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो। सेमिफाइनलमा भने वेस्ट इन्डिज अस्टे«लियासँग हारेको थियो। १९९९ को विश्वकपमा वेस्ट इन्डिज सुपर सिक्समा पुग्न सकेन।

ज्याकस कालिस, दक्षिण अफ्रिका
ज्याकस कालिस पनि विश्वकप जित्न नसक्ने खेलाडीमा पर्छन्। उनी अलराउन्डर खेलाडी हुन्। त्यसो भए पनि एउटा खेलाडीले उपलब्धि हासिल गर्ने विश्वकपसँग उनलाई सम्बन्ध गाँस्न सकिएन। २ सय ५० विकेट र १० हजारभन्दा बढी रन बनाएका कालिस वान डे र टेस्ट क्रिकेटका लिजेन्ड खेलाडी हुन्।
हरेक नयाँ खेलाडीका लागि प्रेरणाको स्रोत कालिसभन्दा अरू हुन सक्दैन। उनले जस्तै बलिङ गर्ने र उनले जस्तै फिल्डिङ गर्ने तथा उनले जस्तै ब्याटिङ गर्न जो कोही पनि चाहन्छन्, तर उनलाई स्थापन्न गर्न कसैले सक्दैनन्।
कालिसको ब्याटिङ फास्ट बलर र स्पिनर दुवैका लागि टाउको दुखाइ हुन्छ। उनी दुवै विधाका बलरविरुद्ध राम्रो ब्याटिङ गर्न सक्छन्। तर, आईसीसीको प्रतियोगिताको मामिलामा उनी पनि अभागी नै सिद्ध भएका छन्। उनले १९९९ विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जित दिलाउन सकिने थियो। तर, उनको टोली अस्टे«लियासँग कडा प्रतिस्पर्धामा हार्न पुग्यो।
१९९६ विश्वकपमा खासै उपलब्धि हासिल गर्न नसकेको दक्षिण अफ्रिकाले १९९९ विश्वकपमा केही गर्ला जस्तो सबैलाई भएको थियो। सन्तुलित टिम र खेलाडीको शानदार प्रदर्शनले गर्दा विज्ञहरू दक्षिण अफ्रिकालाई च्याम्पियन बन्ने सम्भावनामा राखेका थिए। सेमिफाइनलमा २ सय १३ रनमै टाइ भएको थियो, जसमा कालिसले ५३ रनको योगदान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्