यात्रु नपाएपछि जापान उडान सरेको सर्यै



काठमाडौं, (नेस)
नेपाल वायुसेवा निगमले जापान उडानमा पर्याप्त यात्रु नपाएपछि उडान सारेको छ। असार र साउन जापानका लागि अफ सिजन रहेको र यात्रुको चाप कम भएसँगै निगमको जापान उडान फेरि सेरेको छ।

असार १९ बाट जापानको ओसाका उडान गर्ने गरी तयारी थालेको निगमले यात्रुको अभाव भएसँगै उडानतालिका पर सारेको छ। पर्यटकीय सिजन शुरू भएसँगै उडान गर्ने योजना रहेको छ।

साउनको अन्तिम वा भदौको शुरूतिर उडान गर्ने गरी आन्तरिक तयारी थालिएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताउनुभयो। हालका बुकिङ हेर्दा जुलाइमा करिब १ दर्जनमात्र हवाई टिकट बुक भएका छन्। यता अगस्टमा भने राम्रो रहेको छ। यसकारणले पनि हामीले अगस्ट वा सेप्टेम्बरमा उडान गर्ने योजना रहेको कोइरालाको भनाइ छ।

वाइडबडी विमान एयर बस ३३०–२०० खरिदको एक वर्षपछि जापान उडान गर्ने तयारी गरेको निगमको तालिका परिवर्तन गर्नुपरेको छ। निगमले नयाँ २ वटा एयरबस ३३०–२०० वाइडबडी विमान गत वर्ष आयात गरेको थियो। विमानस्थलबाट ओसाकास्थित कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा उडान (मंगलबार, बिहीबार र शनिबार) भर्ने तालिका थियो। २ सय ७४ सिट क्षमताको एयरबस ३३०–२०० मा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लासका सिट रहेका छन्।

भदौमा ओसाका र नारिता गरी दुवै विमानस्थलमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक तयारी थालेको कोइरालाको भनाइ छ। निगमले १२ वर्षअगाडि विमानको अभाव देखाउँदै विसं २०६४ बाट उडान बन्द गरेको थियो। नागरिक उड््डयन प्राधिकरणले भने निगमलाई नेपालको तर्फबाट जापान उडानका लागि वायुसेवा सञ्चालन (एओसी) अनुमतिपत्र दिइसकेको छ। निगमले काठमाडौंबाट जापानको नारिता विमानस्थलमा उडानका लागि समेत निवेदन दिइसकेको छ।

नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता गत असारमा पुनारावलोकन भएको थियो। हवाई सम्झौतासँगै नेपाल र जापानबीच सातामा १४ वटासम्म उडान गर्न पाउने सहमति भएको छ। नयाँ सम्झौतामा जापानको हनेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने सम्झौतामा उल्लेख छ। जापान, साउदी अरब, कोरिया गरी ३ नयाँ गन्तव्यमा सीधा उडान गर्ने गरी निगमले वाइडबडी ए ३३०–२०० दुई थान विमान २४ अर्ब रुपियाँ नागरिक लगानी कोष र सञ्चयकोषसँग ऋण लिएर गत असार र साउनमा खरिद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्