लघु, घरेलु तथा साना उद्योगको ब्रान्डिङ गरौं ः उद्योगमन्त्री यादव



नेपाल समाचारपत्र, काठमाडौं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्धिको मुख्य आधार भएको भन्दै यस्ता उद्योगहरूको ब्रान्डिङमा जान सुझाव दिनुभएको छ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा बुधबार भृकुटीमण्डप शुरू भएको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को उद्घाटन गर्दै उहाँले भन्नुभयो– ‘नेपालीको क्रयशक्ति बढेको छ, हामी ब्रान्ड खोज्छौं तर बिना ब्रान्डका नेपाली उत्पादन हेर्नेबित्तिकै मनपर्छ, त्यसैले हाम्रा उद्योगको प्रविधि सुधार गर्दै आफ्नै ब्रान्ड बनाऔं।’

मुलुकमा उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने भन्दै उहाँले स्वदेशी उद्योगहरूको विकासबिना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो। उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पूरा गर्नका लागि यस्ता उद्योगहरूको प्रवद्र्धन, विकासमा ध्यान दिनुपर्ने आवश्यकता उहाँले औैंल्याउनुभयो। आर्थिक समृृद्धिको अभियानमा कुनै पार्टी या समूह नभनेर सबैलाई समेटेर अगाडि बढ्ने भन्दै मन्त्री यादवले भन्नुभयो– ‘मुलुकमा ८०–९० वर्षदेखिको राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलन सकिएको छ, अबको आन्दोलन भनेको आर्थिक समृद्धिका लागि हो।’

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका साना तथा घरेलु उद्योगहरूका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रोत्साहन गर्ने हिसाबको बजेट विनियोजन भएको बताउनुभयो। उद्योगको क्षेत्रमा लगानी गर्नको लागि केही पछाडि परेको स्वीकार गर्दै उहाँले अब यस्तो समस्या नदोहोरिने भन्दै आगामी वर्षको बजेटले उद्योगलाई उचित प्राथमिकता दिएको बताउनुभयो। अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा विकराल बन्दै गएको बेरोजगारी समस्याको समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताउनुभयो।

उत्पादक र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने भन्दै उहाँले सरकारले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय मुलुकमा निर्यात गर्न सहजीकरण गर्नका लागि आवश्यकीय कुटनीतिक पहल गर्नका लागि अन्तर्राष्ट्रिय नियोगसँग सहकार्य गर्ने समेत बताउनुभयो। आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै उहाँले यस्ता उद्योगहरूको प्रवद्र्धन र विकासका लागि प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने भनाइ राख्नुभयो।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले स्वदेशमा उत्पादित वस्तुलाई प्रदर्शनीको माध्यमबाट क्रेता विक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, राष्ट्रियस्तरमा मागअनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरूको सीप, प्रविधि र उद्यमशीलताको कदर गरी राष्ट्रियस्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ ३०औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को आयोजना गरिएको बताउनुभयो। घरेलु विभागका महानिर्देशक विनोदप्रकाश सिंहले औद्योगिक प्रदर्शनीमा ताप्लेजुङदेखि कञ्चनपुरसम्मका लघु घरेलु उत्पादन प्रदर्शनी एवं बिक्रीमा रहेको जानकारी दिनुभयो।

मुलुकभर उत्पादन भएका स्वदेशी वस्तुहरूको प्रयोगलाई प्रवद्र्धन गर्न आम नागरिकमा प्रचारप्रसार गर्ने, यस्ता वस्तुको उत्पादकत्व अभिवृद्धिका लागि प्रतिस्पर्धी सम्भावनाको खोजी गर्ने, गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ तथा सामग्री बजार रणनीतिबारे सहभागी एकअर्का उद्यमीबाट अनुभव साटासाट गरी प्रतिस्पर्धी हुन अभिप्रेरित गर्ने बताइएको छ। त्यसै गरी क्रेता विक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, मागअनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरूको सीप, प्रविधि र उद्यमशीलताको कदर गरी राष्ट्रियस्तरमा सम्मान र पुरस्कृत गर्ने प्रदर्शनीको उद्देश्य रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्