नम्रता अब एक्सन अवतारमा



नायिका नम्रता श्रेष्ठ अब एक्सन अवतारमा देखिने भएकी छिन्। आगामी भदै ६ गतले अल नेपाल रिलिज हुने फिल्म जाइरामा नम्रता एक्सन अवतारमा देखिने भएकी हुन्।

उनको प्रमुख भूमिका रहेको जाइराको बुधबार राजधानीमा आयोजित एक समारोहबीच टिजर सार्वजनिक गरीएको छ। आशुतोष राज श्रेष्ठको डेब्यु निर्देशन र कथा रहेको फिल्ममा नम्रता मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा छिन्। बदलाको भावनाको कथामा बनेको फिल्मको टिजरमा नम्रतालाई एक साधारण युवतीबाट कडा परिश्रम गर्दै मार्सल आर्टको खेलाडी बनेको देखिन्छ।

कार्यक्रममा बोल्दै नम्रताले फिल्म एक मार्सल आर्टिस्टको बदलाको कथामा बनेको बताइन्। ‘फिल्ममा मार्सल आर्टिस्ट जस्तो देखिनका लागि मैले धेरै नै मेहनत गरेकी छु। शारीरिक, मानसिक तथा भावनात्मकरूपमा कथालाई न्याय दिनका लागि मैले ५/६ महिना अघिदेखि नै जिम क्लासहरू लिएँ’, नम्रताले भनिन्– ‘म कहिल्यै पनि जिम नगएको मान्छे यो फिल्मका लागि गएको हँु। करिब एक वर्षसम्म फिल्म रिलिजमा नआउनुका कारण भनेको फिल्ममा मेहनत गरांै र हामीले हेर्दा ठीक छ है भन्ने भएपछि रिलिज गरौं भनेर समय लगाएको हौं।’ नम्रताले यो फिल्मको आफ्नो भूमिकाका लागि कपाल पनि काटेकी थिइन्।

निर्देशक आशुतोषराज श्रेष्ठले एक्सन फिल्ममा काम गर्न आफू पहिलेदेखि नै लालयित भएको र जाइराले त्यो मोह पूरा गरेको बताए। अभिनेता अनुपविक्रम शाहीले फिल्ममा नम्रताले निकै मेहनत गरेको बताए। ‘नम्रताको मेहनतका लागि ह्याट्स अफ⁄ यतिको मेहनतका साथ साधारण मान्छेले यस्तो काम गर्न सक्दैन। दिनमा ४/५ घन्टा त प्राक्टिसमै समय लाग्थ्यो जुन मेहनत मैले पनि गर्न सक्दिनथें होला।’ –उनले भने। फिल्मका अर्का कलाकार रेमणदास श्रेष्ठले फिल्ममा आफ्नो सानो भूमिका भएको जनाउँदै नम्रताले फिल्मका लागि कडा परिश्रम गरेको बताए।

फिल्ममा नम्रताको कोचको भूमिकामा रहेका सम्राट मगरले आफूले फिल्मबाट धेरै कुरा सिक्न पाएको र फिल्म पनि राम्रो बनेको दाबी गरे। ‘हामीले फिल्म शुरू हुनुभन्दा ४/५ महिना अघिदेखि नै यसको तयारी गरेका थियौं। यस कारण पनि फिल्म राम्रो बनेको छ र दर्शकले मन पराउनुहुन्छ होला।’ –उनले भने। फिल्ममा खेलाडीका रूपमा रहेकी नवकलाकार सिर्जना रेग्मीले आफूलाई फिल्ममा काम गर्दा नम्रताले धेरै कुरा सिकाएको र फिल्म राम्रो बनेको बताइन्।

अर्की नवकलाकार सुजिता श्रेष्ठले आफूहरू फिल्मका लागि नयाँ भए पनि फिल्म टिमको तर्फबाट सहयोग र धेरै कुरा सिक्ने मौका पाएको बताइन्।

कटामरी फिल्म्स्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा बनेको फिल्ममा आशुतोषराज श्रेष्ठ र निरोज मर्हजनको संवाद रहेको छ भने प्रमोद अग्रहरीले पनि अभिनय गरेका छन्।

कल्याण सिंह, डीजे राजु र टम्ब्लिविडको संगीत रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व कोरियोग्राफी, केशव थापाको नृत्य, बाबु श्रेष्ठको छायाकंन निर्देशन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्