पर्यटकको रोजाइमा नांगी गाउँ र महरेडाँडा



प्रताप बानियाँ, म्याग्दी ।

पर्यटकीय क्षेत्र नांगी र महरेडाँडा पर्यटक आकर्षणको केन्द्र बन्दै जान थालेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेस्थित रहेको नांगी गाउँ र महरेडाँडा जिल्ला भित्रिने पर्यटकहरुको गन्तव्यको रोजनाइमा पर्न गएका हुन् ।

सन् २०१० सालमा नांगी गाउँमा सामुदायिक लज स्थापना गरी सञ्चालनमा आएपछि पर्यटकको आगमनमा वृद्धि भएको हो । तत्कालीन समयमा जिल्ला विकास समितिको कार्यालय म्याग्दीमार्फत मेडेप कार्यक्रमबाट १० लाख ४३ हजार नौसय ५८ सहयोग गरिएको थियो भने स्थानीयले ९ लाख ७० हजार ५ सय ९० रुपैयाँ बराबरको श्रमदान गरी सामुदायिक लज बनाएका थिए ।

यसैगरी सोही समयमा तत्कालीन राम्चे गाविसले लज आसपासको क्षेत्रलाई लक्षित गरेर इन्टरनेट सञ्चालनका लागि ५ प्रतिशत बजेटको व्यवस्थापन गरेको थियो ।

नांगी सामुदायिक लज क्षेत्र र महरेडाँडामा पर्यटकलाई फ्रि वाईफाईको व्यवस्था गरिएको छ । खान र बस्नका लागि उचित व्यवस्था, इन्टरनेट तथा बिजुलीको उपलब्धता, रमणीय दृश्यावलोकन र एसियाका म्यागासेसे पुरस्कार विजेता नांगीवासी सामाजिक कार्यकर्ता महाविर पुनको गाउँका रुपमा चिनिएपछि अहिले नांगी र महरेडाँडा पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ ।

पर्यटनको सिजन अनुसार नांगी र महरेडाँडामा पर्यटकको चहलपहल र आकर्षण बढ्दै गएको स्थानीयले बताएका छन् । अहिले सामुदायिक लजमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकहरु युके, मलेसिया, सिङ्गापुर, अस्टेलिया, ईटाली, जापान, स्पेनबाट दैनिकजसो पर्यटकहरु आउने गरेको सामुदायिक लज व्यवस्थापन समितिका सदस्य गेममाया पुनले बताइन् ।

उनका अनुसार लजमा पर्यटकको रोजाई अनुसार नेपाली खानाका विभिन्न परिकार र आइटमका साथै इन्डियन, चाईनीज, कन्टिनेन्टल खानाहरु पाइन्छन् । नेपालको पूर्वी जिल्लाबाट भरिया र गाइडहरुले पर्यटकलाई लिएर आउने गरेका छन् ।

सामुदायिक लज व्यवस्थापन समितिका उपाध्यक्ष डमबहादुर फगामी पुनले अहिलेसम्म प्राप्त आम्दानीले लजको क्षमता विस्तार गरिएको बताउँदै ३० जना विदेशी र ३० जना नेपाली पर्यटकको क्षमता रहेको जानकारी दिए ।

लजमार्फत पर्यटकहरुलाई आवश्यक सेवासुविधाहरु उपलब्ध गराइएको भन्दै उनले पर्यटनको विकासमा जोड दिएको बताएका छन् । सामुदायिक लजमा पुग्ने पर्यटकहरु आफ्नो इच्छा अनुसार टेन्ट टाँगेर बस्ने सक्ने व्यवस्था पनि रहेको उनको भनाइ छ । नांगी र महरेडाँडामा सञ्चालित लजमा स्थानीय ८ जनाले रोजगारी पाएका छन् ।

नांगी र महरेडाँडामा खासगरी असोज–मंसिर र फागुन–जेठ महिनासम्म पर्यटकहरुको आगमन बढ्ने गरेको छ । चालु आर्थिक वर्षको अहिलेको यो सिजनसम्म नांगीको सामुदायिक लजमा १ हजार २ सयजना र महरेडाँडामा १ हजार ५ सयजना विदेशी पर्यटकहरु आइसकेको व्यवस्थापन समितिका उपाध्यक्ष पुनले बताए ।

समुन्द्री सतहदेखि ३ हजार ३ सय १३ मिटरको उचाइमा अवस्थित महरेडाँडा नांगी गाउँदेखि करिब ४ घण्टाको पैदल दुरीमा रहेको छ । संसारकै चर्चित पर्यटकीयस्थल घोरेपानी र पुनहिलको रुटमा पर्ने महरेडाँडा हुँदै पर्यटकहरु पुनहिल–घोरेपानी र नांगी–महरेडाँडा पदयात्रामा रमाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्