व्यंग्यचित्रमा कार्यशाला र गोष्ठी



नेपाली क्यारिकेचरको विकास, सशक्तीकरण र प्रवद्र्धन गर्ने लक्ष्य राखेर कार्यशाला तथा गोष्ठी गरिएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको कार्यशाला, प्रदर्शनी तथा प्रतियोगिताको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक समारोहका बीच शुभारम्भ गरे।

उनले अन्य कलाका क्षेत्रलाई जस्तै क्यारिकेचर विधालाई पनि प्राथमिकतामा ल्याउन प्रतिष्ठानले प्रतियोगिता तथा प्रदर्शनीको आयोजना गर्न लागेको जाानकारी गराए। ‘क्यारिकेचर सजिलो काम होइन, चुनौतीपूर्ण काम हो। यसमा कलाकारले आफ्नो सीप, दक्षता तथा सामाजिक आयामलाई नजिकबाट बुझ्न र नियाल्न सक्नुपर्दछ’ –उनको भनाइ थियो।

उनले आफ्नो व्यंग्यचित्रलाई सही मूल्यांकनमा पार्न व्यंग्यसम्बन्धी नीतिनियम बुझेर मात्र बनाउन कार्टुनिस्टलाई आग्रहसमेत गर्दै भने– ‘नेपाली व्यंग्यचित्रलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सक्ने बनाउनुपर्दछ। यसमा प्रतिष्ठानले सक्दो सहयोग गर्दछ।’ क्यारिकेचर कार्टुनका लागि अति महŒवको विषय रहेको प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख तथा प्राज्ञ रमेशनाथ खनालले बताए। उनले प्रतिष्ठानले कार्टुन तथा क्यारिकेचर विधाको विकास र सशक्तीकरणका लागि विगतदेखि काम गर्दै आएको जनाए।

‘समाजमा सचेतना ल्याउन र नागरिकलाई विकृति, विसंगतिविरुद्ध आवाज उठाउने बनाउन कार्टुन र कार्टुनिस्टको भूमिका अहम् रहँदै आएको छ’ –उनले भने।

कार्यक्रममा अग्रज कार्टुनिस्ट अशोकमान सिंहले क्यारिकेचरका सैद्धान्तिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा परिचर्चा गरे।

उनले यस विधाको महŒवलाई बुझेर नै आमसञ्चार तथा समाजले अनुग्रहण गरेको सुनाए। नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले नेपालमा २००७ सालअगाडि राणाशासनको अन्त्यका लागि पहिलोपटक चन्द्रमानसिंह मास्केले व्यंग्यचित्र बनाएको बताए। ‘पहिले पत्रिकालाई आकर्षक बनाउन विदेशी कार्टुनहरू प्रयोग गरिन्थ्यो भन्ने इतिहासबाट प्रष्ट हुन्छ। पहिले प्रविधिको विकास नभएकाले व्यंग्यचित्र प्राथमिकतामा नआए पनि अहिले प्रविधिको सहजतासँगै आर्थिक कारणबाट यसको विकास हुन सकेको छैन’ –उनले भने। त्यस्तै, क्लबका सचिव योगेश खपांगीले कार्टुनका प्राविधिक तथा सैद्धान्तिक विषयमाथि परिचर्चा गरे। उनले प्रविधिको विकाससँगै कार्टुन तथा क्यारिकेचर बनाउन सहज भएको बताए। उक्त अवसरमा क्यारिकेचरका अन्तर्राष्ट्रिय मान्यता, सैद्धान्तिक, सामाजिक तथा राजनीतिक पक्षमा प्रकाश पार्दै क्लबका अध्यक्ष अविन श्रेष्ठले क्यारिकेचर गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी दिए।

प्रतियोगितासहित गर्न लागिएको प्रदर्शनीमा नेपालको सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तित्वको क्यारिकेचर बनाइने आयोजकले जनाएका छन्। प्रदर्शनी यही जेठ ३०, ३१ र ३२ गते नेपाल आर्ट काउन्सिल बबरमहलमा गरिने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्