कलाकार संघको अध्यक्षमा रवीन्द्र र सरिताको उम्मेदवारी



सदस्यता वितरणको विषयलाई लिएर रोकिन पुगेको नेपाल चलचित्र कलाकार संघको निर्वाचन आगामी शनिबार राजधानीमा हुने भएको छ।

नयाँ कार्यसमितिको आगामी कार्यकालको हुने निर्वाचनमा अभिनेता रवीन्द्र खड्का र अभिनेतृ सरिता लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

खड्का संघमा एक कार्यकाल अध्यक्ष रहेका थिए भने सरिता हाल महासचिव पदमा छिन्। कार्यसमितिको २ उपाध्यक्ष पदका लागि अभिनेतृ रेजिना उप्रेती, मनोज केसी र सानुकुमार ताम्रकारले उम्मेदवारी दिएका छन् भने महासचिवमा सञ्जय खतिवडा र चेतबहादुर सिंहले उम्मेदवारी दिएका छन्। कोषाध्यक्ष पदमा भने सुनील कटुवाल निर्विरोध भएका छन्। कार्यसमिति चयनका लागि सर्वसम्मतिको प्रयास भए पनि सो असफल भएपछि निर्वाचन प्रक्रिया शुरू भएको हो।

संघका अध्यक्ष रामकेशर बोगटीको एक घटनामा असामयिक निधन भएपछि तीन महिनाअगाडिकै लागि तोकिएको संघको चुनावी साधारणसभा एक पक्षले संघमा सदस्यता वितरणमा अनियमितता भयो भन्दै काठमाडांै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछि स्थगित भएको थियो। उजुरीउपर छानबिन गर्न फिल्मकर्मी नीर शाहको संयोजकत्वमा एक समिति गठन गरिएको समितिले आवश्यक छानबिन गरी विवाद निरुपण गरेको थियो। विवाद निरुपणपश्चात् तदर्थ समितिले जेठ २५ गतेलाई संघको निर्वाचन मिति तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्