रावणको जन्मभूमी पौलस्त्य पुलहाश्रम ओझेलमा (तस्विरसहित)



प्रताप बानियाँ, म्याग्दी ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको लङ्काका राजा रावण जन्मिएको पौलस्त्य पुलहाश्रम मन्दिर ओझेलमा पर्दै जान थालेको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पुलाडाँडा नजिकै पछैमा रहेको पौलस्त्य पुलहाश्रम मन्दिर ओझेलमा परेको हो ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै बेनीको शिरमा रहेको पौलस्त्य पुलहाश्रम मन्दिरमा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुनु, मन्दिरको बारेमा प्रचारप्रसारको कमी, विकासका पूर्वाधार निर्माणमा बजेटको अभाव, सरोकारवाला निकायको वेवास्ता जस्ता कारणले गर्दा मन्दिर ओझेलमा पर्न गएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाको उच्च महत्व बोकेको मन्दिर विकासका गतिले पछाडि परेको छ ।

सदरमुकाम बेनीबजारको हुलाकचोक भएर करिब डेढ घण्टाको पैदलयात्रा र ४५ मिनेटको सवारीसाधनको यात्रामा पुग्न सकिने भए पनि पुलहाश्रमले खासै गति लिन सकेको छैन । पौलस्त्य ऋषिका नाति रावण जन्मिएको भनेर चिनिए पनि पुलहाश्रम मन्दिर आसपासका ठाउँमा भौतिक संरचनाको अभाव देखिन्छ । पौलस्त्य पुलहाश्रम मन्दिरका विषयमा जति चर्चा र परिचर्चा हुने गरेको छ, त्यो अनुसार मन्दिरको प्रचारप्रसार तथा विकासका पूर्वाधारहरु नबन्दा मन्दिर मन्दिरमा मात्रै सीमित हुन पुगेको आँकलन गरिएको छ ।

विश्वका प्रमुख १५ ओटा धार्मिक तीर्थस्थलहरुमध्ये एक मानिने पौलस्त्य पुलहाश्रमको विषयमा पुराणहरुमा समेत उल्लेख गरिएको पाइन्छ । पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको भन्ने ढुङ्गा (पत्थर) समेत रहेको छ । तर, पनि मन्दिर ओझेलमा परेको हुँदा स्थानीयवासिन्दाले चिन्ता व्यक्त गरेका छन् । विगतमा मन्दिर व्यवस्थापन समितिले महायज्ञ लगाएर त्यसबाट सङ्कलित रकमले केही पूर्वाधार थप पनि अरु काम हुन सकेन ।

धार्मिक पर्यटनको पर्याप्त सम्भावना रहेको पौलस्त्य मन्दिरको विकासका लागि बेनी नगरपालिकामार्फत आवश्यक जोड दिइएको भन्दै उपप्रमुख सन्जु बरुवालले प्रदेश सरकारले पनि यसको विकासमा आर्थिक सहयोग गरेको बताइन् । यता बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँले वडाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रचारप्रसारमा जोड दिएको बताउँदै पर्यटन प्रवद्र्धनका लागि वडाबाट आवश्यक सिफारिससहित योजना माग गरिएको बताए ।

पौलस्त्य मन्दिरमा पुग्नका लागि बेनीदेखि पक्की पदमार्ग समेत निर्माण थालिएको छ । राउण्ड धौलागिरी बेसक्याम्पसम्म पु¥याउने लक्ष्य राखिएको पदमार्ग धार्मिकस्थल पौलस्त्य पुलहाश्रम हुँदै अगाडि बढाउनका लागि निरन्तरता दिइने भएको छ । पौलस्त्य आश्रम गिठिनी सामुदायिक वन क्षेत्रमा पर्ने पौलस्त्य पुलहाश्रम मन्दिर नजिकै चालु वर्षमा सङ्घीय सरकारको पाँचलाख रुपैयाँको बजेटमार्फत पर्यापर्यटनको कार्यक्रम परेको छ ।

पौलस्त्य पुलहाश्रम मन्दिरबाट सदरमुकाम बेनीबजार, लभ्लीहिल, पर्वतको मल्लाज क्षेत्र, मिलनचोक बजार, माछापुच्छ«े, अन्नपूर्ण, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । पौलस्त्य मन्दिरमा दैनिक रुपमा पुजाआजा हुँदै आएको छ । पछिल्लो समय यस मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटकहरुको चहलपहल बढेको छ । धार्मिक पर्यटनको विकासका रुपमा पौलस्त्य मन्दिरको विकास गरी अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्