कृषिमा आधुनिकता यताबाट पनि सिकौं



असहजतालाई सहजतामा बदल्दा अलौकिक सन्तुष्टि मिल्छ। व्यक्ति र राष्ट्र दुवैको जीवनमा यो सत्य लागू हुन्छ। इजरायलकै उदाहरण लिऊँ न ⁄ संसारभरबाट लखेटिएका यहुदीहरूको सानो बस्ती सधैं बम र बारुदको चपेटामा र≈यो र रहँदै छ। मृतसागरनजिकको यो मरुभूमिलाई कालान्तरमा यहुदीहरूले आफ्नो माने। त्यही भूमिमा आफ्नो श्रम र पसिना पोखे अनि संसारकै विकसितमध्ये एक देशमा दर्ज गराए। अहिले इजरायलले मरुभूमिमा तरकारी फलाउँछ। पानीको दुःख रहेको देशले समुन्द्रकै पानी प्रशोधन गरी पिउन र सिँचाइमा प्रयोग गरेको छ। थोपा सिँचाइ अनि उत्पादकत्व वृद्धि गर्दै थोरै भूमिबाट अधिकतम लाभ लिने सफलता हात पारेको छ। इजरायल नेपालको पुरानो साथी हो। सन् १९६० मा दक्षिण एसियाका अरू देशले उसको अस्तित्व स्वीकार गर्न हिच्किचाउँदा नेपालले इजरायलसँग सहकार्यको हात फैलाएको थियो। त्यहीं इजरायल यतिबेला नेपाली कृषकलाई कृषि प्रणाली सिकाउने गुरु बनेको छ। इजरायलमा कृषिकर्म गरेर फर्केकाले नेपाली भूमिमा देखाएको उदाहरणीय कार्यले हामीलाई पनि गरे हुँदोरहेछ भन्ने शिक्षा दिएको छ।

नेपाललाई प्रकृतिले अनुपम उपहार प्रदान गरेको छ। यहाँ धेरै अग्लो ठाउँमा हुने जडिबुटी, अन्नपात र खाद्यान्नदेखि होचो भूभागमा पाइने वनस्पतिसम्म पाइन्छ। देशका अधिकांश जनता अहिले पनि कृषिमै आश्रित छन्। तर, हाम्रो कृषि प्रणाली आत्मनिर्भर छैन। देशले अर्बौंको मासु, फलफूल र खाद्यन्न आयात गर्छ। निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक बनाउने उद्घोष गरिएको वर्षौंसम्म पनि हाम्रो कृषि प्रणाली उस्तै छ। आधुनिक कृषि प्रणालीका लागि आवश्यक पर्ने नयाँ प्रविधि, सिँचाइ, मलखाद र यान्त्रिकीकरणमा नेपाल अझै पछि रहेको छ। गाउँमा हल गोरु नपाएर मान्छे नै नारिएर जोतिनुपर्ने नियतिले हामीलाई छाडेकै छैन। अर्कोतर्फ लागतको तुलनामा उत्पादनको मात्रा न्यून हुँदा कृषि कर्ममा लाग्नेहरू पनि बिरक्तिएका छन्।

देशले तीव्र गतिको आर्थिक वृद्धि खोजेको बेला कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कृषिको हुनुपर्ने हो। तर, बहुसंख्यक नागरिक कृषिमा आश्रित हुँदा पनि त्यो लक्ष्य प्राप्ति हुन कठिन देखिएको छ। आयातमा निर्भर रहँदै भन्सार शुल्कबाट उठेको राजस्वले हामी समृद्धिको कल्पनामा रमाएका छौं। कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो। कृषिमा लगानी र आधुनिकीकरणले नेपाललाई सम्मृद्ध बनाउँछ। तर, पुरानै खेती प्रणालीले त्यो सम्भव छैन। अब नेपालले कृषिमा आधुनिकीकरण थाल्नै पर्छ। भएका गतिविधिहरूको निर्मम समीक्षा गर्दै हाम्रा जमिनलाई उर्वर बनाउन, थोरै लगानीबाट धेरै प्रतिफल लिन र उच्च बजारमूल्य भएका कृषिजन्य उत्पादनमा जोड दिनुपर्छ।
चा≈यो भने नेपालले हाम्रा हिमालमा फुल्ने सुन्दर फूल बेचेर करोडौं विदेशी डलर कमाउन सक्छ। यहाँ फल्ने प्रांगारिक तरकारी निर्यात गरेर आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्छ। त्यो लक्ष्यलाई टाढाको कुरा मान्ने हो भने पनि, कम्तीमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुन धेरै समय लाग्दैन। कृषि कर्मबाट केही व्यक्तिले पाएको सफलतालाई आम जनमानसमा पु¥याउँदै राज्यले कृषिमा थप बजेट व्यवस्था गर्दै समयमै मल, बिउ, आधुनिक औजार एवं आवश्यक पर्दा अनुदानको पनि व्यवस्था गरिनुपर्छ। कृषिमा दिइँदै आएको अनुदान कार्यकर्ता पोस्ने काममा प्रयोग गरिनु हुँदैन। कृषिमा लगानी गर्न अझै हिच्किचाउने हो वा यसलाई व्यवस्थित नगर्ने हो भने समृद्धि प्राप्ति सम्भव छैन भन्ने राज्यले बुझ्नुपर्छ।

अतः कृषिलाई सम्मानित पेसा बनाउँदै लगानीअनुसारको प्रतिफल दिने प्रविधि आत्मसात् गर्नुपर्छ। इजरालयले गरेको प्रगतिबाट सिक्दै आधुनिक खेती प्रणालीलाई कार्यान्वयनमा ल्याउनुपर्छ।
– नारायण पौडेल, रामपुर।

प्रतिक्रिया दिनुहोस्