चुनौतीको सामना पुष्कर सरको नाममा



शैलेन्द्र थापा

पुष्कर सरले भन्नुभयो– ‘मुलुकमा संकटकालको बेला छ, गोरखाबाट राम्रो समाचार आइरहेको छैन, तपाई सधै गोरखा बस्नुपर्ने होइन, महिनाको बढीमा एक हप्ता गोरखामा बसेर रिपोर्टिङ गर्नुहोस् र अन्य समय त्यहाँ हुने घटनाको तत्काल यहीं बसेर रिपोर्टिङ गर्ने वातावरण बनाउनुस्।’

खासमा मैले पत्रकारिता बुझेर रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस भर्ना भएको थिइनँ, तर जसै म आईए भर्ना भएँ। कक्षा सञ्चालन भएको केही समयपछि नै यो विषयमलाई किन–किन प्रिय लाग्न थाल्यो। पत्रकारिता तथा आम सञ्चारको किताबी ज्ञानले मात्र हुँदैन। फिल्डको अनुभव पनि लिनुपर्छ भनेर कुनै पत्रिकामा काम सिक्ने उद्देश्यले भोलेन्टियर भए पनिगर्न तयार थिएँ। सोही क्रममा बागबजारबाट प्रकाशित हुने समदृष्टि साप्ताहिकमा २०५७ माघ÷फागुनतिर हो, म कामको खोजीमा पुगेको थिएँ। सो पत्रिकामाकाम शुरू गरेको केही दिनमा नै मैले लेखेका फिचर स्टोरी, एंकर न्युज प्रथम पृष्ठमा प्राथमिकताका साथ छापिँदा म फुरुंग थिएँ। समदृष्टिका प्रधानसम्पादक बिके पाण्डेले मलाई फिल्डमा अझ राम्रो गर्न प्रेरणा दिनुहुन्थ्यो। सो साप्ताहिकमा डेढ महिनाकाम गरिसकेपछि मैले फिल्डको राम्रै अनुभव हासिल गरेको थिएँ। सोही क्रममा बागबजारबाट नै निस्कने एक साप्ताहिक पत्रिकाले काम गर्न बोलाएपछि मैले समदृष्टि छोडें।

शुरूमा मासिक तलब दिन्छु भनेको साप्ताहिकले तीन महिनासम्म श्रम शोषण गरेपछि त्यो साप्ताहिक छोडिदिएँ। खासमा समदृष्टि साप्ताहिकमा म काम सिक्न गएको थिएँ भने त्यो अर्को साप्ताहिक (जसको नाम उल्लेख गर्न आवश्यक ठानिनँ) मा चाहिँ म जागिर खान गएको थिएँ, तर श्रम शोषण मलाई ठीक लागेन र छोडिदिएँ। पारिश्रमिक माग्दा त्यसका प्रकाशकसँग मेरो झगडा नै परेको थियो। म खान नपाएर तपाईंको पत्रिकामा काम गर्न आएको होइन तपाईंले नै बोलाउनु भएको हो। मेरो सीप जहाँ पनि बिक्छ भनिदिएँ। ठीक त्यसैबेला नेपाल समाचारपत्रमा आजको विशेषअन्तर्गत महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, आदि विषयमा फिचर स्टोरी प्रकाशित हुन्थ्यो। त्यसमा मैले झण्डै एक दर्जन जति स्टोरी लेखें। यो २०५८ सालको कुरा हो। जहाँबाट अप्रत्यक्षरूपमा म नेपाल समाचारसँग जोडिएको थिएँ। फ्रिलान्सरको रूपमा काम गर्दै जाँदा मलाई नमीठो गरी मिडियाको नसा लागेको थियो। सोही समयमा हालको अन्नपूर्ण पोस्ट दैनिक टेब्लोइड साइजमा प्रकाशित हुँदै थियो। जहाँ केही शुरूआती समय चरणमा काम गर्ने अवसर मिल्यो, तर केही समयपछि सम्पादकसँग खटपट परेपछि अन्नपूर्ण पोस्ट पनि छोडिदिएँ।

तपाईंको बसाइ काठमाडौं मै छ, तर मैले दिएको चुनौतीलाई फिल्डमा उतार्नुहुन्छ ?

फेरि अवसर आयो राजधानी दैनिकका लागि। राजधानी दैनिकमा पत्रकारिता शुरू गर्न मैले छुट्टै बिट मागे्र, तर समसामयिक रिपोर्टिङ गर्नुपर्ने भएपछि त्यहाँकाम गर्ने रुचि जागेन। भलै भर्खर स्थापना भएको महेन्द्र पुलिस क्लबको हेल्थ क्लबसम्बन्धी समाचार लेखिदिन आग्रह गरेपछि त्योचाहिं लेखिदिएको थिएँ। यतिबेलासम्म मलाई किन–किन अन्यत्रभन्दा नेपाल समाचारपत्र सहज लागेको थियो र त त्यहाँका लेखाइलाई निरन्तरता दिँदै थिएँ। लेखअनुसारको पारिश्रमिक आएकै थियो। सोही क्रममा ब्याचलर पढ्दै गर्दा गर्नुपर्ने इन्टर्नसीपको लागि मैले नेपाल समाचारपत्र नै रोजें। अबचाहिं म प्रशिक्षार्थी पत्रकारको रूपमा कामना पब्लिकेसन्स् प्रालिमा छिरें। शुरूवाती दिनदेखि मैले कस्तो रिपोटिङ गर्थे यहाँ उल्लेख गर्नु नै पर्दैन। त्यसबेला हाल नेपाल टेलीभिजनका अध्यक्ष डा। महेन्द्र विष्ट, वरिष्ठ पत्रकार दाजु टंक पन्त, बद्री तिवारी, कमल पौडेल, दीपक रिजाल, गजेन्द्र बुढाथोकी, विष्णु सितल, डेक्स सम्पादक दानदास श्रेष्ठ आदिबाट पाएको प्रेरणा र सहयोग सम्झनयोग्य छ। करिब ३ महिनाको इन्टर्नसीप सकिनै लाग्दा मसँगै गएका केही साथीहरूले पहिल्यै पुष्कर सरलाई अब नियमित जागिरको हिसाबले काम गर्ने भनिसकेका रहेछन्। सरले एकै पटकमा ओके गर्नुभएछ।

मैले यो कुरा ३/४ दिनपछि मात्र थाहा पाएँ। अनि एक दिन पुष्कर सरलाई भनें– ‘सर म पनि यहीं ज्वाइन हुन पाए हुन्थ्यो। सरले केही सेकेन्ड सोचेपछि भन्नुभयो तपाईंले २/४ दिनपहिले भन्नुपथ्र्यो, तर केही छैन म मिलाउँछु मलाई भोलि भेट्नु। म थोरै निराश र केही उत्साही थिएँ। भोलिपल्ट पुष्कर सरलाई भेटें, उहाँले भन्नुभयो– ‘मैले एउटा चुनौती सोचेको छु, तपाईं पत्रकारिता सिक्दै हुनुहुन्छ र आमसञ्चारको विद्यार्थी पनि। तपार्इंको बसाइ काठमाडौं मै छ, तर मैले दिएको चुनौतीलाई फिल्डमा उतार्नुहुन्छ रु’ केही नबुझेपछि फेरि सोधें– ‘के कुरा सर रु’ पुष्कर सरले भन्नुभयो– ‘मुलुकमा संकटकालको बेला छ, गोरखाबाट राम्रो समाचार आइरहेको छैन, तपाईं सधैं गोरखा बस्नुपर्ने होइन, महिनाको बढीमा एक हप्ता गोरखा बसेर रिपोर्टिङ गर्नुहोस् र अन्य समय त्यहाँ हुने घटनाको तत्काल यही बसेर रिपोर्टिङ गर्ने वातावरण बनाउनुस्। केही समय यो काम गर्नुस् त्यसपछि कुनै पनि बेला केन्द्रमै बसेर काम गर्नुहोला।’

सरले दिनुभएको यो चुनौतीपूर्ण जिम्मेवारी मेरो लागि त्यति सहज थिएन, अहो संकटकाल अनि गोरखारु मैले तुरुन्त हुन्छ भनिदिएँ। द्वन्द्वको रिपोर्टिङ मेरो लागि बिलकुल नयाँ थियो र सन्तुलित समाचार दिन पनि त्यति नै सजग हुनुपर्ने। केही दिनका लागि म जब गोरखा पुगें, दैनिकजसो भीडन्त, बम विस्फोटको घटना हुँदै थिए। साँझ नपर्दै गोरखा सदरमुकाम सुनसान हुन्थ्यो। त्यस बेला गोरखामै रहेर पत्रकारिता गरिरहेका साथीहरू कैलाशबाबु श्रेष्ठ, किशोर थापा र भीमलाल श्रेष्ठबाट पाएको सहयोग स्मरणीय छ। यसका साथै गोरखाका तत्कालीन डीएसपी ईश्वरबाबु कार्की, इन्सपेक्टर वसन्त कुँवर,भोला रावल सरबाट राम्रो सपोर्ट भएको थियो भने तत्कालीन प्रमुख जिल्ला अधिकारी माधव ओझा सरलगायतसँग एक किसिमको आत्मीय सम्बन्ध बन्दा काठमाडौं बसेर पनि रिपोर्टिङ गर्न सहज वातावरण भइसकेको थियो। त्यसमा तत्कालीन विद्रोही पक्षका केही साथी पनि निरन्तर सम्पर्कमा हुँदा सूचनाको पहुँच सजिलो हुँदै गयो। त्यही बेला हो तत्कालीन संकटकाललाई मिडियाको आँखाले हेर्न पाएको। कहिले गोरखा र धेरैजसो काठमाडौं बसेर समाचार लेख्नु सहज थिएन पनि। पुष्कर सरको प्रेरणाले आजसम्म पनि संकटकालमा गोरखा बसेर पत्रकारिता गरेको अनुभव छ भनेर गर्वका साथ भन्न पाइएको छ। जुन चुनौतीको सामना गर्ने अवसर पुष्कर सरले दिनुभएको हो। त्यससँगै सन्तुलित समाचारकै कारणबाट हुन सक्छ त्यसबेला कुनै पक्षबाट पनि समाचारको विषयलाई लिएर कुनै गल्ती औंल्याउन सक्ने स्थिति थिएन। करिब डेढ÷दुई वर्षको यो कर्मपछि मलाई स्वास्थ्य बिटमा कलम चलाउने जाँगर चल्दै थियो र समाचारपत्रमा स्वास्थ्यसम्बन्धी फिचर पनि लेख्ने गर्थे। त्यहीबेला खोजमूलक साधना मासिक स्वास्थ्यसम्बन्धी सामग्रीका साथ साधना हेल्थ हुँदै थियो। अब मैले त्यसमा स्वास्थ्य बिटमा काम गर्ने अवसर पाएँ। त्यसका सम्पादक लक्ष्मण अधिकारी तथा कार्यकारी सम्पादक रोहिणी घिमिरे सर, सहकर्मी ध्रुव पौडेलसहितको छरितो हाम्रो टिम पारिवारिक वातावरण र सम्बन्धको थियो। त्यसबेला उक्त पत्रिकाको लागि गरिएको इमानदार लेखनको साक्षी त्यही टिम छ।

एक पटकको कुरा हो साधना मासिकका लागि रिपोर्टिङ गर्न प्रसूति गृह थापाथली पुगेको थिएँ। रिपोर्टिङका क्रममा यताउता हिँड्दै थिएँ। अचानक पुष्कर सर भेट हुनुभयो। सरलाई रिपोर्टिङको लागि आएको बताएँ। ‘अफिस फर्कन साधन छ रु’ –सरले सोध्नुभयो। मैले छैन भन्ने संकेत गरेपछि सरले भन्नुभयो– ‘ल रिपोर्टिङ सकेर तल झर्नु, म पार्किङमा हुन्छु। नभन्दै करिब आधा घण्टापछि म तल झर्दा पुष्कर सर मलाई नै कुरेर बस्नुभएको थियो। त्यसपछि सरसँग कामनाको अफिस सोल्टिमोडसम्म कुरा गर्दै आएको थिएँ। त्यसमा केही रोचक रिपोर्टिङको यादचाहिँ सधैं आउँछ। म काठमाडौंमा अवैध गर्भपतन गराउने ठाउँको खोजीमा थिएँ। त्यस बेला बागबजारका केही औषधि पसलमा गलफ्रेन्ड गर्भवती भएकाले गोप्य रूपमा गर्भपतन गराउनुपर्ने भन्दै बनावटी घटना बनाएर ग्राहकको रूपमा गएको अनि माछापोखरीको एक मेडिकलमा चाहिँ यत्तिकै सोध्ने आँट नभएपछि एक बोतलवियर पिएर अवैध गर्भपतनको रिपोर्टिङ गरेको थिएँ।

यसबाहेक नक्कली डाक्टरको बिगबिगी शीर्षकमा रिपोर्टिङ गर्दा एक नक्कली डाक्टरले आर्थिक प्रलोभनमा पार्न खोजेको कुरा इमानदारिताका साथ सम्पादक सरसँग सेयर गरेको थिएँ। यसका साथै हाइट बढाउन भन्दै गरिएका विज्ञापनमा कुनै सत्यता नभएको समाचार लेख्दा ममाथि कामनाकै अफिसमा तीन जना भुसतिग्रेबाट भौतिक आक्रमणको प्रयास हुँदा त्यसलाई पुष्करलाल सरले सहज बनाउनुभएको थियो। समाचारकै कारण पोखराको एक अवैध आयुर्वेदिक अस्पताल बन्दसमेत भएको थियो। त्यसै बेला हो रेडियो नेपालको १०० मेघाहर्जमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अवसर मिलेको। सिंहदरबारभित्रको सो स्टुडियोमा करिब २ वर्ष स्वास्थ्यसम्बन्धी टक सो सञ्चालन गरेपछि स्टार एफएम आफ्नै स्टुडियो बानेश्वर स¥यो। त्यहाँ करिब १ वर्ष कार्यक्रम सञ्चालन गरें। त्यसैबेला गोंगबुस्थित विनायक अस्पतालमा मिडिया संयोजक भएर समेत कामगर्दै थिएँ भने ओम अस्पतालका अध्यक्ष डा। भोला रिजालसँग एक ढंगको सहकार्य थियो।

यसरी कामना प्रकाशन गृहमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा करिब ६ वर्षको पत्रकारिताको यात्रापछि मेरो बाटो मोडियो। सायद पत्रकारिताको नसाभन्दा कम्ब्याटको रहर बढी जागेछ क्यारे, तर चुनौतीसहित त्यसबेला मलाई पत्रकारिताको अवसर दिनुहुने पुष्कर सरको शालीनता र सरलपन भुलेको छैन।
(लेखक सशस्त्र प्रहरी निरीक्षक हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्