तनावबिनाको सफलता



कामना ग्रुपका संस्थापक तथा नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको आज ४५औं पुण्य तिथि हो। उहाँको ६० वर्षे जीवनका सफलताको अनुसरण गर्नु र उहाँले पूरा गर्न बाँकी विषयबाट पाठ सिकेर कामना न्यूज पब्लिकेसन्स् प्रालिलाई थप उचाइमा पु¥याउनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वासका साथ कामनासमूह सक्रिय छ। व्यावसायिक इमानदारिताका साथ पत्रकारिता गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने हाम्रो विश्वास छ। उहाँको सफलता–असफलताबाट हामीले सिकेका विभिन्न पाठहरूमध्ये एक हो– तनावबिनाको सफलता।

श्रद्धेय पुष्करलालले सफलता त हासिल गर्नुभयो, तर त्यो तनावयुक्त थियो। आर्थिक स्रोत–साधन जुटाउने तनाव, व्यवस्थापनदेखि सम्पादनसम्मको विशालतम जिम्मेवारी एक्लै काँधमा बोकेर हिँड्दाको तनाव, प्रतिस्पर्धाका नाममा बेइमानहरूले छिड्के दाउ हानेर असहज परिस्थिति सृजना गर्दा भोग्नुपरेको तनाव। ठूला लगानीकर्तालाई विश्वास गरेर पूजा कोठामा आसन दिँदा मन्दिरबाट देउतालाई नै मजेरीमा फाल्ने धृष्टता भएको देखेर खेप्नुपरेको तनाव। नेपालस्थित विदेशी राजदूतावासको रिमोट कन्ट्रोलबाट बच्ने तनाव, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैससहरूको चलखेलको तनाव, राजनीतिक दलको लगानीमा उफ्रिने पत्रकारको आवरणका कार्यकर्ताले दिने तनाव। यस्ता अनेक तनाव पुष्करलालले भोग्नुभयो। परिणामतः सफलताको उचाइ सँगसँगै तनावको पहाड पनि उहाँले बोक्नुप¥यो। अब कामना समूहका सदस्यले तनावरहित सफलता हासिल गर्नुछ। यसो भएमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुनेछ।

श्रद्धेय पाठक–विक्रेता–विज्ञापनदाता–शुभचिन्तकले निरन्तर ३६ वर्ष लामो प्रशिक्षण दिएका कारण अब हामी प्रतिस्पर्धीका छिड्के दाउहरू पहिचान गर्नसक्ने भइसकेका छौं। हामी आरामले आफ्नो बाटो हिँड्छौं, व्यावसायिक पत्रकारिताको बाटो, शुभचिन्तकहरूले देखाएको बाटो। झगडा भइरहने विशाल महलमा होइन, शान्त–शिष्ट–इमानदारी र पारदर्शिताको कलात्मक साधारण भवनमा न्यानो पारिवारिक वातावतरणका साथ सुखी भएर बाँच्ने बाटो। तनावमा बाँचेर महाशक्ति हुने अमेरिकाले देखाएको बाटो होइन, मानव विकासको सर्वोत्कृष्ट सूचकांकसहित समृद्धिको अग्रस्थानमा आसीन हुने नर्वेले देखाएको बाटो। थोरै तर स्वादिलो, सानो तर आँखाको नानीजस्तै प्यारो।

तनाव कम गर्ने उपाय सिकाउँदै विज्ञहरू भन्छन्– ठिक्क काम र आवश्यक आराम। अति महŒवाकांक्षाले मानिसलाई आराम दिँदैन, तर महŒवाकांक्षा नै नभए प्रगति पनि हुँदैन। करिब अढाइ सय वर्षअघि शुरू भएको र विश्वका हजारौं अखबारको प्रेरक रहेको बेलायती दैनिक अखबार द टाइम्स ठिक्क काम आवश्यक आरामको पक्षमा देखिन्छ। हप्तामा ६ दिन निस्कन्छ, सोमबारदेखि शनिबारसम्म। आइतबार मजाले बिदा मनाउँछ। सन् १७८५ देखि प्रकाशन शुरू भएको यसको पुरानो नाम द डेली युनिभर्सल रजिष्टर थियो, १७८८ को जनवरी १ मा आएर यसको नाम द टाइम्स राखियो। ठीक नेपाल समाचारपत्रको जस्तै– पहिले यसको नाम आजको समाचारपत्र थियो। अनलाइनको यत्रो प्रभावका बेला पनि ४ लाख १७ हजारभन्दा बढी प्रति विक्री हुने द टाइम्सले १८२१ देखि आइतबार प्रकाशित गर्न भिन्न सम्पादकीय समूह बनायो र द सण्डे टाइम्स पनि शुरू ग¥यो। हामी पनि यसकै बाटो हिँड्नका लागि पाठकहरूसमक्ष अनुमति माग्दछौं। आइतबारदेखि शुक्रबारसम्म नेपाल समाचारपत्र प्रकाशित हुनेछ, शनिबार हामी बिदामा बस्नेछौं, परिवार र साथीहरूसँग बसेर थप ऊर्जा हासिल गर्दै नयाँ जोसका साथ पुनः आइतबार सेवामा हाजिर हुनेछौं। यस प्रकारको बिदाले हाम्रा पत्रकार र कर्मचारीलाई प्रसन्न बनाउने र आराम दिलाउनेमा हामी विश्वस्त छौं।

नेपाल समाचारपत्रका मात्र ग्राहक बनेका र यसलाई अभिलेखका रूपमा राख्ने पाठकले शनिबारको जानकारीका लागि के गर्ने तरु स्वाभाविकरूपमा जिज्ञासा उठ्छ। कुल पाठकमध्ये ८० प्रतिशत ग्राहक रहेको नेपाल समाचारपत्रका पाठकका लागि हामी आइतबारको अंकमा शनिबारका विशेष घटनालाई संक्षिप्तरूपमा प्रकाशित गर्ने खास ठाउँको व्यवस्था गर्नेछौं। र, पहिला नै वार्षिक ग्राहक बनिसकेका पाठकलाई थप ५२ अंक उपलब्ध गराउनेछौं। पछि पाठकको माग भएमा हामी पनि कुनै बेला द सण्डे टाइम्सले निकाले जस्तै शनिबारे समाचारपत्र निकालौंला। तर, www.newsofnepal.com नामक नेपाल समाचारपत्रको सह प्रकाशनले वर्षको ३ सय ६५ दिन नै क्षण–क्षणका समाचार पाठकसमक्ष पु¥याउँदै आएका कारण तत्कालै यस प्रकारको माग हुँदैन भन्ने हाम्रो धारणा छ।

हामी नेपाल समाचारपत्रलाई नयाँ स्वरूप र रोचक सामग्रीका साथ यहाँहरूको सेवामा लगाइरहनेछौं। हाम्रा कामना, साधना र www.newsofnepal.com लाई पनि हामी अझ प्रभावकारी र अविस्मरणीय बनाउनेछौं। हामी आफ्ना संस्थापक पुष्करलाल श्रेष्ठलाई साक्षी राखेर प्रण गर्दछौं, व्यावसायिक पत्रकारिताको दृष्टान्त बन्दै नेपाल समाचारपत्र ‘आवाज विहीनहरूको आवाज’ र ‘संवाहक सकारात्मक सोचको’ बनेर मुलुकको सेवामा समर्पित हुनेछ।

प्रतिक्रिया दिनुहोस्