जयगणेश आधारभुत विद्यालयले पायो नयाँ भवन



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
विनाशकारी भूकम्पमा ढलेका विद्यालय भवनहरु धमाधम ठडिँदैछन् । भूकम्पमा ढलेका विद्यालय भवनहरु पुननिर्माण सम्पन्न गर्दै दाताले धमाधम समुदायलाई हस्तान्तरण गरिरहेका छन् ।

लिसंखुपाखर गाउँपालिका ७ स्थित जयगणेश आधारभुत विद्यालयको नवनिर्मित भवन दाताले हस्तान्तरण गरेको छ । बिहिवार भव्य समारोहबीच एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण भएको विद्यालय भवन उद्घाटन गरिएको छ । प्रतिनीधि सभा सांसद अग्निप्रसाद सापकोटा, राष्टिय सभा सदस्य सिँहबहादुर रसायली र गाउँपालिका अध्यक्ष कमल नेपालले संयुक्त रुपमा रिवन काटेर विद्यालय भवनको उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि दाताले स्थानीय तहका जनप्रतिनीधि मार्फत विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेको छ । दाताबाट भवनको साँचो पाएपछि जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख यमबहादुर खड्काले लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाललाई नवनिर्मित ७ कोठे विद्यालय भवनको साँचो हस्तान्तरण गर्नुभयो । गाउँपालिका अध्यक्ष नेपालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेमा घिसिङलाई सोही साँचो हस्तान्तरण गर्नुभयो ।

‘चार वर्ष त टहरामै बित्यो, बल्ल यति सुन्दर भवन पायौं’, विव्यस अध्यक्ष घिसिङले भन्नुभयो, ‘भवन बनाइदिएर दाताले विद्यालयका लागि गुन लगाएको छ ।’ झण्डै ३ करोड ४० लाखको लागतमा ७ कोठे विद्यालय भवनसहित अपांगमैत्री शौचालय र विद्यालय घेरावार गरिएको भवन निर्माणको जिम्मा पाएको सोवर्ण निर्माण सेवाका अर्जुज थापाले बताउनुभयो ।

भूकम्पको चार वर्षसम्म अस्थायी संरचनामै पठनपाठन गर्दै आएको स्मरण गर्दै विद्यालयका प्रअ कामी तामाङले विद्यालय भवन पाएसँगै पठनपाठ सहज हुने बताउनुभयो । ‘सुन्दर र चीटिक्क परेको भवन पाइयो, अब शैक्षिक गुणस्तरमा ध्यान दिनेछौं’, प्रअ तामाङले भन्नुभयो । जयगणेश आधारभुत विद्यालयको भवन उद्घाटन र हस्तान्तरण गर्दै सांसद अग्निप्रसाद सापकोटाले शैक्षिक विकास विना समाज विकास नहुने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य सिँहबहादुर रसायली, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख यमबहादुर खड्का लगायत स्थानीय जनप्रतिनीधिहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्