यसरी गर्न सकिन्छ गर्मीमा आफ्नो स्वास्थ्यको ख्याल !



नेपालमा विशेषगरी चैतदेखि जेठसम्म सूर्यबाट आउने तातो किरणले नै गर्मी बनाउँछ । यो समय सुख्खा हुने तथा हावाहरी पनि चल्ने समय पनि हो । गर्मीको समयमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु पनि बढि देखिन्छन् । जाडोमा प्रायः चिसोका कारण रुघाखोकी जस्ता समस्या देखिने भएपनि गर्मीको समयमा धेरै किसिमका स्वास्थ्य समस्या आउँछन् ।

हामीले अनुभव गरेकै छौं, गर्मी बढेसँगै पखला लाग्छ, खानेकुरा पच्दैन, फूड प्वोइजन हुन्छ । यहिबेला हो, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने । गर्मीमा शरीर आलस्य हुन्छ । यस्तै झिँगाबाट फैलने रोगहरु लाग्ने, लामखुट्टेले टोक्ने, साङ्लाले दुःख दिने समय पनि गर्मीमै बढि हुन्छ ।

गर्मीयामको सबै नकारात्मक कुराहरु मात्र छैनन् । गर्मी समयलाई राम्रोसँग सदुपयोग गर्न पनि सकिन्छ । निरन्तर चलिरहने प्राकृतिक मौसमअनुसार आफूलाई पनि अलर्ट राख्नुपर्छ । जस्तै खानेकुरा, सरसफाईं लगायत दैनिकीसम्मका क्रियाकलापहरुमा मौसम वा समयअनुसार चल्न सक्नुपर्छ ।

गर्मीयाममा स्वस्थ रहन यस्ता छन् उपायहरुः
१. गर्मीमा बढी पसिना आउने भएकाले शरीरमा पानीको कमी हुनसक्छ । त्यसैले, पर्याप्त मात्रामा पानी वा झोलयुक्त पदार्थ पिउने ।

२. आँखाको सुरक्षाको लागि सनग्लास प्रयोग गर्ने, आँखालाई धुलो, धुवाँ आदिबाट बचाउने ।

३. मौसम अनुसारको सागपात, फलफूलको सेवन गर्ने । सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुरा नखाने ।

४. सकेसम्म घर बाहिरको खानेकुरा सेवन नगर्ने । फूटपाथको खानेकुरा, जस्तै चटपटे, पानीपुरी, मम, चाउमिन जस्ता खानेकुराले पाचन प्रणालीलाई खराब गर्न सक्ने भएकाले यस्ता खानेकुरा सकेसम्म नखाने ।

५. सरसफाईमा विशेष ध्यान दिने । पसिना बग्ने, धुलो–धूँवा शरीरमा टाँसिने भएकाले नियमित नुहाउने ।

६. घरबाहिर निस्कँदा पुरै शरीर ढाक्ने पहिरन लगाउने । धुलो, धूँवा तथा घामको सोझो किरणबाट छालालाई जोगाउने ।

७. आफ्नो घर, आँगन वा आफू बसोबास गर्ने आसपासको क्षेत्र सफा, सुग्घर राख्ने ।

८. पानी जम्ने खाल्डाखुल्डी, फोहोरको थुप्रो, कुहिएका बस्तुहरु हटाउने ।

९. रातमा सुत्दा झुलको प्रयोग गर्ने । लामखुट्टेको टोकाईबाट बच्न धूपलगायतका हानिकारक चिजहरुकाले प्रयोग नगर्ने ।

१०. बालबालिका, सुत्केरी, वृद्धवृद्धा तथा रोगीहरुको विशेष ख्याल गर्ने, उनीहरुको खानपान तथा नियमित सरसफाईंमा ध्यान दिने ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्