पतायामा नेपालको सानो मन



हिजोआज नेपाली फिल्मको सुटिङ विदेशका रमणीय स्थलमा पनि भटाभट हुन थालेका छन्। यसै क्रममा रिलिजका लागि तयार हुँदै गरेको फिल्म सानो मन सुटिङका लागि थाइल्यान्ड पुगेको छ।

फिल्मको शीर्ष गीतसहित केही दृश्यको पतायामा छायांकन भइरहको छ। फिल्मको शीर्ष गीत सानो मनको आधाभन्दा बढी थाइल्यान्डको पताया र आसपासमा छायांकन गरिएको निर्माता राजेन्द्र मानन्धरले जानकारी गराएका छन्। पतायाको समुन्द्री किनारमा गीतको छायांकन गरिएको छ। गीतमा नायक आयुष्मान देसराज जोशी र नायिका शिल्पा मास्केलाई रोमान्टिक मुद्रामा फिचरिङ गरिएको छ।

यो गीतको भिडियो निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन्। रोहितजोन क्षेत्रीको स्वर रहेको गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ। पतायाको छायांकन सकेर सानो मनको सुटिङ युनिट बैंकक पुगेको छ। सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानमा बाँकी छायांकन शुरू गरिएको निर्माता मानन्धरले जानकारी गराएका छन्। बर्मेली नेपालीको सहयोगमा फिल्मको छायांकन गर्न सफल भएको निर्माता मानन्धरले बताए।

फिल्मको छायांकन आलोक शुक्लाले गरिरहेका छन् भने निर्देशक सुयोगलाई मुख्य सहायक निर्देशक रितसिंह बोहराले सघाइरहेको छन्। फिल्ममा समीर सुनुवार र निर्देशक गुरुङको कथा रहेको छ। ओपीजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाइटेक इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्म राजेन्द्र मानन्धर, शरद श्रेष्ठ, योगेश गुरुङ, राजिब श्रेष्ठ र रमेशकुमार मित्तलले संयुक्तरूपमा निर्माण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्