गुफाको डाँडोमा भ्यु–टावर निर्माण सुरु



प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ (जगन्नाथ)मा रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा भ्यु–टावर निर्माण सुरु भएको छ । चालु वर्षमा बेनी नगरपालिका तथा वडा कार्यालयको पाँचलाख रुपैयाँको आर्थिक सहयोगमा भ्यु–टावर निर्माण थालिएको हो ।

गुफाको डाँडोमा बन्दै गरेको भ्यु–टावरको नाम ‘जगन्नाथ भ्यु–टावर’ राखिएको छ । कन्टेन्टजेन्सीसहित पाँचलाख रुपैयाँ बजेट रहेको भ्यु–टावर निर्माणका लागि ८५ हजार एकसय ४७ रुपैयाँ बराबरको जनश्रमदान रहेको छ । कुल ३६ फिट उचाई रहेको भ्यु–टावरको १ सय ७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल र भ्यु–टावरमा ७ ओटा ल्याण्डिक (उक्लने र ओर्लने) भागहरु रहेको बेनी नगरपालिकाका सव–इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।
यसैगरी एकपटकमा भ्यु–टावरको माथिल्लो भागमा करिब २५ जनासम्म चढेर अवलोकन गर्न सक्ने क्षमता रहेको उनले बताएका छन् । भ्यु–टावर निर्माणका लागि हालसम्म फाउण्डेशन (जग) तयार पार्ने र पोलहरु गाड्ने काम सकिएको छ भने चालु वर्षमै तीनवटा ल्याण्डिङ (भ¥याङ) जडान गरिने सव–इन्जिनियर थापाले बताए । यी सबै काम सकिएपछि भ्यु–टावर निर्माणको करिब ५० प्रतिशत कामसम्पन्न हुने उनको भनाइ छ । भ्यु–टावरका सबै संरचनाहरु स्टिल स्टक्चर (फलाम)को प्रयोग गरिनेछ ।

भ्यु–टावर निर्माणको लागत स्टमेट अनुसार कुल २० लाख ६९ हजार पाँचसय ५६ रुपैयाँ लाग्ने सव–इन्जिनियर थापाले जानकारी दिए । गतवर्ष भ्यु–टावर निर्माणका लागि वडामार्फत एकलाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि काम हुन नसकेपछि उक्त बजेट फ्रिज भएको थियो । भ्यु–टावर निर्माणको काम अगाडि बढेको हुँदा अपुग बजेट आगामी आर्थिक वर्ष २०७६÷७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रमबाट विनियोजन गरिने बेनी नगरपालिका–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँले बताए । वडा तथा नगरपालिकामार्फत नगर क्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरुको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा जोड दिइएको उनले बताएका छन् ।

जगन्नाथ मन्दिर र गुफाको डाँडोमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन वृद्धि गर्ने उद्देश्यसहित भ्यु–टावर निर्माणको काम अगाडि बढाइएको जगन्नाथ भ्यु–टावर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताए । बेनीको शिरमा रहेको पर्यटकीयस्थल गुफाको डाँडो अर्थात् केभहिलमा हालै स्थानीयले हेलिप्याड समेत बनाएका छन् । प्रसिद्ध जगन्नाथ मन्दिरदेखि १० मिनेटको दुरीमा गुफाको डाँडो र ३० मिनेटको दुरीमा ऐतिहासिक डढेकोट दरबार क्षेत्र अवस्थित छ ।

समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा रहेको गुफाको डाँडाबाट विश्वको सातौं अग्लो चुचुरो धौलागिरी हिमालसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी, मानापाथी, गूर्जा, चुरेन, बेहुला–बेहुलीलगायत करिब डेढ दर्जन हिमश्रृङ्खलाहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । गुफाको डाँडाबाट म्याग्दी जिल्लाका साविक ४१ मध्ये ३७ ओटा गाविस र पर्वत, बागलुङसहित अन्य जिल्लाका डाँडाकाँडा समेत देखिन्छन् । प्रसिद्ध जगन्नाथ मन्दिर तथा गुफाको डाँडा नजिकै बाईसे–चौबीसे राज्यका पालामा निर्मित ऐतिहासिक डढेकोट राजदरबारको संरचना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्