विद्यार्थीलाई पहिलोपटक स्काउटको ‘रोभर मुट’



नेपाल स्काउटले विद्यार्थीलाई लक्षित गरी नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रोभर मुट आयोजना हुने भएको छ। विसं २००९ सालमा स्थापना भएको सामाजिक संस्था स्काउटमा आबद्ध युवाहरूमा नेतृत्व क्षमताको विकास गरेर समग्र समृद्ध मुलुक निर्माणमा सहयोग पुर्याउने उद्देश्यले नेपालमा पहिलोपटक रोभर मुटको आयोजना हुन लागेको हो।

स्काउटको भाषामा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवालाई रोभर मुट भनिन्छ। छात्र स्काउटरलाई रोभर र छात्रालाई रेन्जर भनिन्छ। स्काउटमा आबद्ध युवालाई परिचालन गर्न सकिएमा मुलुकको विकासमा सहयोग पुग्ने उद्देश्यले रोभर मुटको आयोजना गर्न लागिएको हो। रोभर मुटमा विश्वभरका युवा स्काउटको सहभागिता हुने भएको छ। नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले मुटमा रोप क्लाइम्बिङ, ओमेगा जम्प, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ,  टाइगर जम्प, ब्याम्बो वाल्क, टायर वाल, आर्चरी, र्याफ्ट बोटिङ, वाटर साइक्लिङ र  साइक्लिङलगायत साहसिक गतिविधि हुने जानाकारी दिनुभयो। पढ्दै गरेका र स्काउटमा समर्पित विद्यार्थीहरूको शारीरिक, बौद्धिक, सामाजिक एवं संवेगात्मक पक्षहरूको विकास गराई उनीहरूमा रहेको क्षमता प्रस्फुटन गराएर चरित्रवान् नागरिक बनाई समाज विकासको अभियानमा सरिक गराउने मुख्य उद्देश्यका साथ आयोजित मुटमा ख्यातिप्राप्त व्यक्तिहरूको सहभागिता रहनेछ।

 युवालक्षित कार्यक्रम भएकाले देशभर ७ सय ५३ वटै स्थानीय निकायका युवा स्काउटरहरूको सहभागिता रहनेछ। उहाँका अनुसार कार्यक्रममा मुलुकका ७ वटै प्रदेश  तहबाट युवा तथा युवतीको सहभागिता हुनेछ। पछिल्लो समयमा युवाहरूको सहभागितामा कार्यक्रम हुन छाडेपछि स्काउटले पढ्दै गरेका युवालाई आफ्नो क्षमता प्रदर्शन गर्न कार्यक्रम आयोजना गर्न लागेको संयोजक भण्डारीले जानकारी दिनुभयो। देशभरका विद्यालयमा ६० हजार स्काउटर छन्। तीमध्ये छनोटमा परेका ४ हजार ५ सय लाई कार्यक्रममा सहभागिता गराउन लागिएको स्काउटले जनाएको छ। स्थापना भएको झण्डै सात दशकपछि स्काउटले पहिलोपटक रोबर मुट कार्यक्रम आयोजना गर्न लागेको हो।

समृद्धिका लागि सहकार्य नारा दिइएको मुटमा विश्व स्काउट संगठनका महासचिव अहमद राफि मोहम्मद अल्हेन्दाबी, विश्व स्काउट संगठनका एसिया प्रशान्त सहयोग समिति क्षेत्रका रिजल डाइरेक्टर जोसे रिजाल सि पालिङगलिनान, भारत स्काउट एन्ड गाइडका प्रमुख आयुक्त डा. केके खाण्डैलवाल, बंगलादेश स्काउटका प्रमुख आयुक्त डा. एम्डी मोजामेल हकिउ खानको उपस्थिति हुनेछ। त्यसबाहेक अमेरिका, लक्जेम्वर्ग, फिलिपिन्स, जोर्डन, हङकङ, बेलायत, मलेसिया, इजिप्टसमेत गरी कुल १३ मुलुकका प्रतिनिधि कार्यक्रममा आउनेछन्। स्वदेशी तथा विदेशी मुलुकका समेत गरी ५ हजारको सहभागिता हुनेछ। पोखरामा आयोजना हुन लागेको मुटमा विश्व स्काउटका महासचिवको चार दिनसम्म हुने सहभागिता महत्वपूर्ण हुने संयोजक भण्डारीको दाबी छ। हाम्रो देशलाई विश्व स्काउटले महत्वपूर्ण देशका रूपमा हेरेका कारण विश्व स्काउटका महासचिवको उपस्थित हुनु देशकै लागि गौरवको विषय बनेको छ।

विश्वमा स्काउटको स्थापना सन् १९०७ मा भएको हो। भण्डारीका अनुसार अब स्काउटलाई हरेक स्कुलमा अतिरिक्त क्रियाकलापका रूपमा प्रयोग गर्ने नीति बनाउने तयारी भएको छ। सरकारको आगामी आर्थिक वर्षमा सबै सरकारी विद्यालयमा स्काउट स्थापना गर्ने गरी बजेट विनियोजन गर्ने लक्ष्य रहेको भण्डारीको भनाइ छ। ‘अधिकांश निजी विद्यालयका विद्यार्थी स्काउटर छन्, सरकारी विद्यालयमा सहभागिता जनाउन सकेको अवस्था छैन’, संयोजक भण्डारीले भन्नुभयो– ‘अब आगामी शैक्षिक सत्रदेखि सबै सरकारी विद्यालयका विद्यार्थीलाई स्काउटमा सहभागी हुन अवसर दिनेछौं।’

विभिन्न जाति, भाषा, धर्म, संस्कृति र भूगोलका युवायुवतीले एउटै नारा र एउटै उद्देश्यका साथ एकै थलोमा सांस्कृतिक आदानप्रदान ,भातृत्व विकास गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को महाअभियानमा सक्रिय मेला आयोजना गर्न लागिएको हो। मेला यही जेठ १७ देखि २१ गतेसम्म आयोजना हुँदै छ। ७ सय ५३ स्थानीय तहका युवायुवतीको सहभागिता रहने कार्यक्रमलाई सफल बनाउन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको संयोजकत्वमा २ सय १ सदस्यीय मूल आयोजक समिति गठन भइसकेको छ। साहासिक गतिविधिका अलावा विभिन्न क्षेत्रमा स्थापित लब्ध प्रतिष्ठित व्यक्तिहरूबाट युथ फोरम, प्यानल डिस्कस्सन, क्यारियर काउन्सिलिङ र स्काउटसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछ। विभिन्न दलका युवा नेता, युवा व्यवसायी, युवा कलाकार, लेखक र पत्रकारहरूले प्यानल डिस्कसनको माध्यमबाट युवाहरूलाई सकारात्मक मार्गमा प्रेरित गर्न परामर्श दिनेछन्।

प्रतिक्रिया दिनुहोस्