उफ्, फेरि हत्याकै राजनीति !



राजधानीमा आइतबार तीन होनहार नेपालीको ज्यान गयो– तथाकथित राजनीतिका नाममा । आज साेमबारका लागि नेपाल बन्दको आह्वान गर्ने नेत्रविक्रम चन्द (विप्लव) ले आफ्नो बन्द ‘सफल पार्ने’ उद्देश्यले आम नागरिकलाई आतंकित बनाउन यस प्रकारको हिंसात्मक बाटो अख्तियार गरेको प्रहरीको दावी छ । प्रहरीका अनुसार अनाम नगरमा एक र सुकेधारामा दुई जनाले विस्फोटनकै कारण ज्यान गुमाएका छन् र यी दुवै घटनामा विप्लव समूहकै हात छ । अनामनगर विस्फोटनमा घाइते भएका एक व्यक्ति विप्लव समूहका विद्यार्थी नेता भएको बताइएको छ । घटनास्थलमा भेटिएको पर्चा र अन्य सामग्रीले पनि यसै समूहको संलग्नता देखाएको छ । राजधानीका अन्य स्थानमा पनि बम फेला परेका छन् । नागरिक पूर्णतः आतंकित छन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र विद्रोह शुरु गरेर सत्ता आरोहणको सफलता पाएको देखेका विप्लव समूहका लागि त्यही प्रकृतिको बाटो प्रेरणाको स्रोत बनेको हुनसक्छ । औपचारिक तथ्यांकअनुसार १३ हजार २ सय ४६ नेपाली नागरिकको वली चढाएपछि विद्रोहीहरु सत्तामा पुगेका हुन् । मुलुकमा अधिनायकवादी अभिजात वर्गको शासन ढल्यो, राजतन्त्र समाप्त भयो र लोकतान्त्रिक व्यवस्था आयो । यसले सामाजिक चेतनामा पनि निकै फड्को मार्ने वातावरण तयार पार्यो । राजनीतिक र सामाजिक परिवर्तनका क्षेत्रमा यसलाई ठूलै छलाङ मान्नुपर्छ । तर, क्षतिको तुलनामा यस उपलव्धिलाई ठूलो मान्न सकिन्न ।

विप्लव समूहले बुझ्नैपर्ने यथार्थ के भने, त्यत्रो सहादतपछि आम नागरिकले चाहिं के पाए ? मुलुकमा भ्रष्टाचार र कमिशन अझ बढ्यो, सत्ता फेरियो तर प्रवृत्ति फेरिएन । यहाँनिर विप्लव समूहको जबाफ हुनसक्छ– त्यसैले त हामी विद्रोहमा उत्रिएका हौं । तर, यही जबाफ विगतमा एक दशक लामो समयसम्म सशस्त्र विद्रोहीले दिएका होइनन् र ? सत्ता पाएपछि सबै चुप लागे, जनताको भागमा उही अभाव र शोषण बाँकी रह्यो । विप्लव समूहले सत्ता पाएपछि पनि उही इतिहास नदोहोरिएला भन्ने केही आधार छ ? जनता विश्वस्त हुने कुनै आधार छैन । राजनीतिक तथा सामाजिक शुद्धीकरण गर्नेहो भने यही लोकतान्त्रिक अभ्यासबाट हुन्छ, निर्वाचनको शैली परिवर्तन गरेर हुन्छ, सस्तो र सहज ढंगले सांसद छान्ने तरिका अपनाएर हुन्छ । नागरिकको हत्या गरेर शुद्धीकरण सम्भव छैन ।

हामीसँग नीति नभएको होइन । नेपालमा संविधान र कानुन नराम्रा छैनन्, केवल व्यक्ति नराम्रा हुन् । उनीहरुको भ्रष्टाचार र कमिसनमा लिप्त हुने प्रवृत्ति नराम्रो हो । यसका लागि आगामी निर्वाचनमा इमान्दार व्यक्ति खडा भए पुग्छ, जनता मतदान गर्न तयार छन्, तर निर्दोश नागरिकको लाश बोक्न तयार छैनन् । विप्लव समूहले हत्या हिंसाको बाटो तत्काल रोक्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्