बागमतीमा ढल मिसाउने कार्य रोकियोस्



धार्मिक क्षेत्र गौरीघाटबाट बागमतीको किनारैकिनार गुहेश्वरी हुँदै जोरपाटी जाने तथा बौद्धनाथतर्फ जाने बाटोमा ढलान गरेर बाटो बनाउने क्रममा वर्षातको समयमा उक्त बस्तीको बाटोमा बग्ने तथा घरायसी कार्यबाट निस्कने तथा पानीलाई चालू रहेको ढलमा जोड्नुपर्नेमा सो नगरी सजिलोको लागि सीधै गौरीघाटमाथिको बागमतीमा खस्ने गरी पाइप जोडिएको छ । उक्त क्षेत्रको ढल सानो र गहिरो स्थानमा रहेकोले समय–समयमा बाटैमा बग्ने गरेको थियो तर अब बाटोको पानी बागमतीमा जाने गरी पाइप जोडिएकोले सो ढल जाम हुँदा वा ओभरफ्लो हुँदा बागमतीमै मिसिने निश्चित छ । स्थानीयहरुले पनि सजिलोको लागि अहिले जोडिएको पाइपमा ढल जोड्ने सम्भावना पनि रहेको छ ।

फेरि, सो पाइप बागमतीमा जोड्ने क्रममा बागमतीको साबिक सिँढी (खुड्किलो) पूरै भत्काइएको छ । पाइप सिमेन्टविना माटोले पुरिएको छ । सिँढीका पुराना राणाकालीन कलात्मक ढुंगा यत्रतत्र पारिएका छन् । तसर्थ, सो स्थानको ढल बागमतीमा मिल्न नदिने व्यवस्थासहित मर्मतको क्रममा भत्काइएका सिँढीलाई यथाशीघ्र व्यवस्थित गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।
– अञ्जनकुमार आचार्य
पुजारी, गौरीघाट मन्दिर, काठमाडौं ।

नेपालमा लामो दूरीका राजमार्गको विकास
हाम्रो मुलुकमा सडकहरुको विकास द्रुतगतिमा नजानुको कारण सरकारहरुले सडकहरुका लागि पर्याप्त बजेट नछुट्याउनु हो भने कहिले बजेट खेर जानु हो । अर्को कारण, सम्बन्धित निकायहरु सडक समस्याप्रति गम्भीर नहुनु हो । हाम्रो जस्तो मुलुकमा सडकप्रति सरकार र सम्बन्धित निकाय तथा सडक विभाग आदिको योगदानको खाँचो देखिन्छ, जुन अपुग छ । जसरी अहिले आएर एक व्यक्तिले गर्दा देशको बिजुलीको समस्यामा कमी आइराखेको छ, त्यसै गरी यो क्षेत्रमा पनि चमत्कार गर्ने व्यक्तिहरुको राज्यले खाँचो महसुस गरी राखेको छ ।

हाम्रो मुलुकमा लामो राजमार्गमा सवारी समस्या तथा दुर्घटना समस्याजस्ता कुराले गर्दा सर्वसाधारणका लागि कपाल दुखाइ र त्रासको वातावरण सृजना भएको छ । अब आएर हाम्रो मुलुकमा लामो सडक दुर्घटना हुन नदिन सरकार र सडक विभाग नै कडा भएर केही कदम चाल्नु जरुरी छ, अन्यथा यस्ता प्रक्रियाहरु सधैँ दोहोरिएर मानिसहरुको अकालमा ज्यान गइराख्न सक्छ । हामीलाई विश्वास छ, यसका लागि सरकारले केही विधि अपनाउने हो भने यस्ता दुर्घटना कम हुँदै जानेछन् ।

लामो दूरीको राजमार्गमा कुैे पनि बेला सवारी बिग्रन सक्छ । यस्तो अवस्थामा ठाउँ–ठाउँ आकस्मिक टेलिफोन सुविधा सेवा उपलब्ध गराउनु सम्बन्धित निकायको दायित्व हो । नेपालको लामो दूरीको राजमार्गहरुमा तेज गतिमा गाडी हाँक्ने र नयाँ सिकारु ड्राइभर आदि कारणले गर्दा दुर्घटना भइराखेको हुन्छ । जसको लागि सरकार अर्थात् सम्बन्धित निकायले यस्ता व्यक्तिहरुका लागि केही कडाउ गर्नु जरुरी छ । एवम् प्रकारले गाडी चालकले रक्सी, गाँजा आदि खाएर सवारी हाँक्छ भने त्यस्ता चालकहरुको अनुमतिपत्र खारेज गर्नुको साथै कैद र जरिबाना गर्नुपर्दछ । हाम्रो देशमा लामो दूरीका राजमार्गहरुमा प्रायः खाल्डाखुल्डी सडकहरुलाई समय–समयमा सडक विभागमार्फत मर्मत गर्नु जरुरी छ, जुन गरिएको देखिँदैन, जस कारण गाडी दुर्घटना हुने सम्भावना हुन्छ ।

अहिलेको अवस्थामा देशको भौगोलिक वातावरण तथा पहाडी भाग धेरै हुनु र धेरै मोडहरुले गर्दा प्रायः गाडी दुर्घटना भइराखेको हुन्छ। यहाँनिर आएर प्रायः सरकारहरुले मोडहरुमा मजबुत बारहरु राख्नुका साथै फ्लोरेसन पेन्टिङ चम्किला रंगका बारहरु यहाँ हुनु जरुरी छ । प्रायः पैसाको लोभमा खलासीहरुले सवारीहरुमा आगन्तुकहरुलाई भेडाबाख्राजस्तै कोचेर लगिराखेको हुन्छ । यस्तो बेला खलासी तथा चालकलाई पनि कैद र जरिबाना गर्नु जरुरी छ । कारण यात्रुको चापले पनि प्रायः लामो यात्रामा गाडीहरुको सडकमा दुर्घटना भइराखेको हुन्छ ।

हाम्रो जस्तो मुलुकमा धेरै पहाड भएका कारणले गर्दा प्रायः वर्षाको मौसममा हवाई उडानहरु कम हुन्छ, यसै गरी बेमौसममा लगातार वर्षात भइरहेको बेला केही समयको लागि लामो दूरी सवारीको आवतजावतमा प्रतिबन्ध लगाइदिनुपर्दछ । कारण यस्तो बेला बाटो चिप्लेर गाडी दुर्घटना हुने गरेको कुरा हामीले नसुनेको होइन ।

लामो दूरीको यात्रामा चालकहरुले तीव्रगतिमा गाडी चलाउने गर्दछन् । यो पनि एउटा गाडी दुर्घटना हुने कारण हो । यस्तो अवस्थामा सम्बन्धित निकायले स्पिड ब्रेकर राख्नुको साथै ठाउँ–ठाउँमा स्पिड कन्ट्रोल बोर्ड राख्नु पनि उत्तिकै जरुरी छ, जुन हाम्रो देशमा पर्याप्त छैन । एकपल्ट फेरि भन्नुपर्दा, अहिले पनि नेपालमा कतिपय बाटो साँघुरा छन् । यसले गर्दा दुईवटा गाडीहरु पनि पास हुन मुस्किल पर्दछ । यस्तो अवस्थामा सम्बन्धित निकायले त्यस्ता बाटाहरु तुरुन्त फराकिलो बनाउनुपर्दछ । उदाहरणका लागि मुग्लिन–नारायणघाट सडकलाई लिन सकिन्छ ।
– रमेशकेशरी वैद्य, छत्रपाटी, काठमाडौं ।

भ्रष्टाचार कहिले अन्त्य हुन्छ प्रमज्यू ?
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भ्रष्टाचार नियन्त्रण गरेको बताए पनि भ्रष्टाचारको न्यूनीकरण हुन सकिरहेको छैन । भ्रष्टाचारको न्यूनीकरणमा प्रधानमन्त्री ओलीले निरन्तर बोलिरहे पनि देशमा भ्रष्टाचार व्यापकरुपमा चुलिइरहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ज्यादै न्यून भ्रष्टाचार हुने देशमा स्वीडेन, नर्वे, स्वीटजरल्यान्ड, नेदरल्यान्ड, क्यानडा, अस्ट्रेलिया, सिंगापुर आदि पर्दछन् भने उच्च भ्रष्टाचार हुनेमा उत्तर कोरिया, सोमालिया, अफगानिस्तान, बंगलादेश, नेपाल आदि पर्छन् । नेपालमा क्षेत्रगतरूपमा सबैभन्दा बढी भ्रष्ट राजनीतिक पार्टी र निजामती सेवा पहिचान गरिएकाले यी दुवै क्षेत्रको सुधारका लागि प्राथमिकतामा निर्णय लिन जरुरी छ । भ्रष्टाचारले संस्थागत रूपधारण गरेमा त्यसले देशलाई नै धरापमा पार्ने निश्चित छ ।

समग्रमा भन्नुपर्दा नेपालमा सर्वत्र भ्रष्टाचार छ । कहाँ हुन्छ भन्नुभन्दा पनि कहाँ हुँदैन र को, कसबाट भएको छ भन्नुभन्दा पनि को, कसबाट भएको छैन भन्नुपर्ने अवस्था छ । त्यसैले यस्तो अवस्थामा यदि भ्रष्टाचार निर्मूल गर्ने हो भने सबैले आ–आफ्नो नाम सम्झेर मम भन्नुलाई नै सर्वाधिक उत्तम उपचारको रूपमा लिन सकिन्छ । यसबाहेक कडा कानुन बनाई निर्ममतापूर्वक कार्यान्वयनमा ल्याउनु पनि उत्तिकै जरुरी देखिन्छ । भ्रष्टाचारी जो भए पनि जति नै पहुँचका भए पनि कडा कारबाही गर्न डराउनुहुन्न । कसैले पनि कानुनी आड तथा राजनीतिक संरक्षणको छुट पाउनुहुँदैन । अन्यथा भ्रष्टाचारमा शून्य सहनशीलताको नारा जति नै घन्काए पनि ‘काग कराउँदै छ, पिना सुक्दै छ’ भन्ने उखान चरितार्थ हुनेछ । अतः भ्रष्टाचार न्यूनीकरणमा सबै सक्रिय भएर भ्रष्टाचार विरोधी कदम चाल्न आवश्यक छ ।
– सुरज विक, पाल्पा ।

प्रतिक्रिया दिनुहोस्