नेकपाको एकतासँगै विचार निर्माणको बहस



नगीन्द्र शाही
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको एक वर्ष पुगेको छ । पार्टी एकीकरणको समयसीमाको हिसाबले एक वर्ष लाग्यो । यो एक वर्षको अवधिमा केन्द्रीय सचिवालय, केन्द्र, प्रदेश, जवस र जिल्लाको मूल नेतृत्व निर्माणलगायत एकताको कामले शतप्रतिशत पूर्णता पाएको छ । संगठन एकीकरणको काममा भएको प्रगतिले नेकपाका कार्यकर्ता पंक्तिमा उत्साहको रक्तसञ्चार भएको छ । एकताको विषयलाई लिएर नानाथरीका टिकाटिप्पणी गर्नेहरुका निम्ति केही ढिलै भए पनि नेकपाको नेतृत्वले काममार्फत जवाफ दिन सफलता पाप्त गरेको छ । परिणाम नेकपाको अन्तरिम विधानअनुसार पार्टी एकताको संक्रमणकाल दुई वर्षका निम्ति व्यवस्थापन भएको छ ।

सांगठानिक व्यवस्थापन अन्तिम निष्कर्षमा पुग्दै गर्दा नेकपाका शर्ष नेता तहबाट पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठात्मक सिद्धान्त र संघर्षका स्वरुपबारे केही मतहरु प्रकट हुन थालेका छन् । दुई पार्टी एकता हुँदकै पृष्ठभूमिमा विचारको एकता पहिला कि संगठनको एकता पहिला गर्ने भन्ने विषयमा नेता तहमा छलफल नभएको भने होइन । तर नेकपाको अन्तरिम विधानमा माक्र्सवाद, लेलिनवाद– जनताको जनवादमार्फत समृद्ध समाजवाद हुँदै साम्यवाद लेखियो र तत्कालका निम्ति साबिकका दुवै पार्टीले अख्तियार गरेका साबिकका सिद्धान्त महाधिवेशनसम्म दुई वर्षका निम्ति थाती राखियो । पार्टीको नेतृत्वले विचारको सन्दर्भमा आगामी एकताको महाधिवेशनले निर्णय लिने कुरा गरे पनि नेतृत्वबाट नै नेकपाको भावी राजनीतिक विचारबारे बहस प्रारम्भ भएको छ ।

स्वाभाविक नै हो, एकतापछि निर्माण भएका एकीकृत संगठनहरु व्यवस्थापन र परिचालन गर्न स्पस्ट राजनीतिक विचार पहिलो र अनिवार्य आवश्यकता हो । सही राजनीतिक विचारले मात्र संगठनलाई सही दिशामा लिन्छ र सही दिशामा निर्देशित आन्दोलनले मात्र जनताका समस्याहरु हल गर्ने सामथ्र्यता राख्छ । जसरी २० औं शताब्दीको ५÷६औं दशकपछि विश्व कम्युनिस्ट आन्दोलनमा राजनीतिक क्रान्तिको कार्यनीतिको बहस उतारचढावको स्थितिमा रहँदै गर्दा त्यसको प्रभाव नेपालको कम्युनिस्ट आन्दोलनमा पनि रहँदै आएको थियो ।

माक्र्सवादको प्रयोग, रक्षा र विकास गर्ने सन्दर्भमा सन् १८७१ मा पेरिस क्रान्ति हुँदै सन् १९१७ को अक्टुबर क्रान्ति र त्यसपछिका पूर्वी युरोपमा भएका सबै क्रान्तिको सफलताले जसरी विश्व समुदायका निम्ति माक्र्सवाद र अक्टुबर क्रान्तिका नायक लेलिनको व्यक्तित्व उदाहरणीय रह्यो । अक्टुबर क्रान्तिले माक्र्सवादलाई विश्व समुदायमा नयाँ उचाइ प्रदान गरायो । सोभियत संघ हुँदै, पुरोप, अमेरिका, अफ्रिका, एसिया हँुदै दक्षिण एसियाका अधिकांश देशहरुमा माक्र्सवादको प्रयोग कम्युनिस्ट आन्दोलनका नाममा सञ्चालन भए । ती सबै क्रान्तिको प्रेरणाको स्रोत तत्कालीन सोभियत कम्युनिस्ट पार्टी नै थियो । त्यसपछि सन् १९४९ मा माओको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सफल भयो र यसले विश्व समुदायका निम्ति माक्र्सवादको थप आवश्यकताको पुष्टि गरायो ।

नेपालका कम्युनिस्टहरुले जबजबाहेक अन्य आजसम्म प्रयोग गरेका वा बहसमा ल्याएका विचारहरुको व्यावहारिक पक्ष हेर्दा कि ती अति उग्र वा कि त अति जडतामा केन्द्रित रहेकाले नेपाली समाजले पचाउन सकेको नेपालको विगत छैन । स्वर्गीय नेता मदन भण्डारीका अनुसार माक्र्सवाद होडबाजीमा प्रयोग गर्ने सिद्धान्त होइन, यो विज्ञान हो ।

विश्वका धेरै जनसंख्या र ठूलो भूगोल भएका देशहरुमा माक्र्सवादको सफल प्रयोगले पेरिफरिमा रहेका नेपालजस्ता देशहरुमा माक्र्सवादको झन् धेरै आवश्यकताको बोध भयो र नेपालमा पहिलोपटक वि.सं. २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । नेपालमा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको केही वर्ष नबित्दै विश्व कम्युनिस्ट आन्दोलनमा जबर्जस्त रहेको दुई लाइन संघर्षको शृङ्खला नेपालमा पनि सजिलै भित्रियो र तेस्रो महाधिवेशनमा पुग्दा नेताहरु सबै छिन्नभिन्न हुन पुगे । नेपाको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा हुन पुग्यो । तत्कालीन नेताहरुको कोठा र झोलामा सीमित नेपालको कम्युनिस्ट आन्दोलन नेताहरुमा रहेको जडता, उग्रता र संशोधनवादको अन्तरविरोधमा भासिँदा सही कार्यदिशा र त्यसको नेतृत्व लिन सक्ने व्यक्तित्वको अभावमा रुमलिरहेको नेपालको कम्युनिस्ट आन्दोलन तत्कालीन माले र माक्र्सवादी समूहको एकतापछि पुर्नजीवित भएको थियो ।

तत्कालीन माले र माक्र्सवादी पार्टीको एकीकरणले नेपालको कम्युनिस्ट आन्दोलनमा माक्र्सवादको सृजनात्मक विकास र प्रयोग देश र परिस्थतिअनुसार गर्न सकिन्छ भन्ने विषय नेपालमा पहिलोपटक नेता मदनकुमार भण्डारीले बहसको विषय बनाएका थिए । वास्तवमा नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको आगमनले कम्युनिस्ट आन्दोलनमा लोकतान्त्रीकरणको बहस शुरु भएको थियो । कम्युनिस्ट आन्दोलनले विश्वव्यापीरुपमै गम्भीर धक्का खाइरहेको पृष्ठभूमिमा नेपालमा मदन भण्डारीको नेतृत्वमा २०४९ सालमा माक्र्सवाद र लेनिनवाद नेपाली विशिष्टतामा अनुवादित मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मौलिक कार्यक्रम प्रतिपादन भयो ।

चुनौती, समस्या र अन्यौलताको भूमरीमा सफर गरिरहेको नेपालको कम्युनिस्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद (जबज) ले सामान्तवाद र साम्राज्यवादविरोधी शक्तिहरुका बीचमा हुने प्रतिस्पर्धालाई स्वीकार गर्दछ । साथै जनता नै शक्तिको स्रोत हो र यसलाई संगठित जनआन्दोलनमार्फत परिवर्तनकारी शक्तिमा रुपान्त्ररण गरी मानव समाजको परिवर्तन, विकास र अग्रगति सम्भव भएको उद्घोष गरेपछि नेपालको सम्रग राजनीतिले नयाँ मोड लिएको थियो । मानवअधिकार, विधिको शासन व्यवस्था, शक्ति सन्तुलन, बहुदलीयता र बहुमतको सरकार अल्पमतको प्रतिपक्ष जबजले स्वीकार गरेपछि नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलन जनताको माझ फक्रने र फुल्ने वातावरण पाएको थियो । वास्तवमा नेपाली समाजमा जबज माक्र्सवादको नेपाली नयाँ संस्करणकै रुपमा साबित भयो । यसले अंगीकार गरेको कम्युनिस्ट लोकतान्त्रिक धारले सबै कम्युनिस्टलाई आत्मबल प्रदान गर्न थप मद्दत ग¥यो ।

नेकपा एमालेको जबजले लोकतान्त्रिक धार स्वीकार गरेकाले नै २०५१ सालमा पहिलोपटक नेपालमा कम्युनिस्टको सरकार निर्माण भयो । सरकारको सफलताले कम्युनिस्टलाई हेर्ने, बुझ्ने र व्यवहार गर्ने आमदृष्टिकोणमा परिवर्तन आएको विगत साक्षी छ । अन्धानुकरण, अन्धभक्ति र यान्त्रिक जडतामा रहेका नेपालका कम्युनिस्टहरुमा राजनीतिक कार्यक्रम कार्यान्वयनको व्यावहारिक प्रतिस्पर्धाका साथै सबै वामपन्थीहरुको ध्यान संगठन निर्माणमा गएको पाइन्छ । परिणामस्वरुप तत्कालीन माओवादी पार्टीले २०५२ सालमा सशस्त्र क्रान्तिको बाटो अख्तियार गर्दा पनि संगठन निर्माण र परिचालनमा जबजकै प्रतिस्पर्धात्मक कार्यनीति अख्तियार गरेको पाइन्छ । त्यसको उदाहरण हो माओवादीद्वारा सशस्त्र विद्रोहको अवस्थामा स्थानीय जनसत्ता सञ्चालनका निम्ति सत्ता र समुदायबीच चुनावी प्रतिस्पर्धा गराई स्थानीय सत्ता निर्माण गर्ने गरेका थिए । जनसत्ताभित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धाले पनि तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने टेवा पु¥याएको देखिन्छ ।

नेकपा एमालेको नौमहिने सरकारले जनतामा पारेको सकारात्मक प्रभावले नेपाली जनतामा कम्युनिस्ट मैत्री मनोविज्ञान विकास भएको थियो । जसले गर्दा माओवादीद्वारा सञ्चालन तत्कालीन सशस्त्र विद्रोह राजनीतिक क्रान्ति हो भन्ने विषयमा आमधारणा बन्ने कुरामा सहयोग मिलेको थियो । माओवादी आन्दोलनले दशवर्षे विद्रोहमा गरेका राजनीतिक उपलब्धिहरुको रक्षा र त्यसको स्वामित्वसमेत २०६१÷०६२ को सयुक्त जनआन्दोलनले ग्रहण गर्नुका पछाडि जबजले स्थापित गरेको वर्गीय चिन्तनको परिणाम थियो । २०६४ को प्रथम संविधानसभाको निर्वाचन र त्यसबीचमा भएका सबै राजनीतिक अन्तरसंघर्षहरुको परिणाम २०७२ सालमा घोषणा नेपालको संविधान हो, जसले संघीयता, लोकतन्त्र, बहुदलीयता र समाजवाद उन्मुख अर्थ संरचना, नेपालको शासन व्यवस्थामा अनिवार्यता बनाएको छ ।

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको अहिलेसम्मको इतिहासमा माक्र्सवाद, लेनिनवाद र माओवादलाई प्रयोग गर्ने नाममा धेरै राजनीतिक कार्यक्रम लागू गर्ने प्रयास नेपालका वामपन्थी समूहले गरे पनि नेकपा एमालेले अघि सारेको जबजबाहेक अरु विचारहरुले नेपाली जनताको मन जित्न सकेको इतिहास छैन । संवेगात्मक ज्ञानमा आधारित विचार र कार्यक्रमले न त मानव समाजको वास्तविकता बुझ्छ, न त यस्तो विचारले मानव समाजका समस्या माक्र्सवादी विश्व दृष्टिकोणको आधारमा मानव समाजका समस्या हल गर्न सक्छ । नेपालका कम्युनिस्टहरुले जबजबाहेक अन्य आजसम्म प्रयोग गरेका वा बहसमा ल्याएका विचारहरुको व्यावहारिक पक्ष हेर्दा कि ती अति उग्र वा कि त अति जडतामा केन्द्रित रहेकाले नेपाली समाजले पचाउन सकेको नेपालको विगत छैन । स्वर्गीय नेता मदन भण्डारीका अनुसार माक्र्सवाद होडबाजीमा प्रयोग गर्ने सिद्धान्त होइन, यो विज्ञान हो । यो मानव समाजको वस्तुस्थितिअनुसार आवश्यकताको नियम हो ।

वास्तवमा नेपालको वामपन्थी आन्दोलनमा जबज माक्र्सवादको सृजनात्मकरुप हो, जसको प्रतिपादनपश्चात् नेपालका सबै वामपन्थी समूहहरुलाई ओत लाग्ने ठाउँ प्रदान गर्दै आएको छ । विश्व कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक धार जबजले दिएको छ । जबजकै मान्यताअनुसार नेपालका वामपन्थी समूहले गरेका साना–ठूला मानव समुदायका निम्ति गरेका योगदानको रक्षा र उपलब्धिहरुको विधिसम्मत संथागत गर्ने विषयमा टेवा पु¥याएको छ । जबजले द्वन्द्ववादको अनिवार्यता र सर्वव्यापकतालाई सैद्धान्तिकरुपमा स्वीकार्ने मात्र होइन, व्यावहारिकरुपमा प्रयोग विचार र प्रक्रियालाई पनि अगाडि सारेको छ । त्यसै हुनाले जबजले समाजवादी जनवादलाई समेत मार्गप्रशस्त गरेको छ । झन्डै तीन दशकदेखि नेपालमा आमजनताको अपार समर्थ प्राप्त गर्दै विभिन्न खाले भड्कावसँग संघर्ष गर्दै नेपाली समाजमा व्याप्त रहेका सबै खाले विभेदको अन्त्यको प्रायः बन्दै आएको सफल सिद्धान्तकै कारण पार्टी एकतासम्मको कार्यभार पूरा भएको छ । जबजको थप समृद्धिका निम्ति थप एकताबद्धताको आवश्यकता सधैँ अपरिहार्य छ तर तत्काल अन्य विचारमाथिको बहस गर्ने कुरा ‘आमालाई मान्दैन मामालाई मान्छु’ भनेजस्तै हो ।

प्रतिक्रिया दिनुहोस्