महरा दम्पतीको हत्या



किरन धामी, दार्चुला
दार्चुलामा शनिबार राति अज्ञात व्यक्तिले महरा दम्पतीको हत्या गरेर फरार भएका छन् । महाकाली नगरपालिका–३ काँटै भन्ने स्थानमा चिया, किराना पसल थापेर बस्दै आएका ७० वर्षीय वीरभान महरा र उनकी ६३ वर्षीया श्रीमती द्रोपती महराको हत्या भएको प्रहरीले जनाएको छ ।

अज्ञात व्यक्तिले लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो । घटनाबारे प्रहरीलाई आइतबार बिहान मात्रै खबर आएको उहाँले बताउनुभयो ।

द्रोपती महराको घटनास्थलमै तथा उनका श्रीमान् वीरभान महराको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो । आक्रमणबाट गम्भीर घाइते भएका उनका नाति १२ वर्षीय लोकेश महराको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको उहाँले जानकारी दिनुभयो । लोकेश भागेर बाच्न सफल भएका हुन् ।

शनिबार राती १२ बजेतिर मास्क लगाएर आएको अज्ञात व्यक्तिले आक्रमण गरेको घाइते लोकेशले प्रहरीलाई बताएको उहाँले जानकारी दिनुभयो । पीडित परिवारले दिएको जानकारीअनुसार मृतक द्रोपतीको कानमा मुन्द्रा र घाँटीमा तिलहरी रहेको तथा घटनास्थलमा नभेटिएको उहाँले बताउनुभयो ।

मृतक द्रोपतीको शव घटनास्थलमै राखिएको छ । घटनाको थप अनुसन्धाका लागि धनगढीबाट तालिम प्राप्त कुकुरहरु ल्याइएको तथा आइतबार राति नै कुकुरहरु प्रयोग गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्