राजधानीमा यत्रतत्र बम, दुई विस्फोट



दीपक रिजाल, काठमाडौं
आज सोमबार घोषणा गरिएको नेपाल बन्दलाई सफल बनाउने नाममा राजधानीलाई आतंकित पार्ने उद्देश्यले बम विस्फोट गराउँदा तीन जनाको ज्यान गएको छ ।

बम बनाउदै गर्दा घट्टेकुलोको एउटा घरमा बिष्फोट हुदा नेकपा बिप्लव समूहका एक कार्यकर्ताको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
उक्त बिष्फोटमा परी मारिने प्रज्वल शाही रहेको प्रहरीले जानकारी दिएको छ । मारिने शाही बिप्लव समुहका सिटीइभिटी एकाइका अध्यक्ष रहेको प्रहरी बताउँछ ।

घट्टेकुलोस्थित लोकमन्जरी कार्कीको घरमा भएको बम बिष्फोटमा परी घाईते भएका रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते केसी बिप्लव समुह निकट क्रान्तिकारी बिद्यार्थी संगठन त्रिचन्द्र कलेज एकाइका अध्यक्ष भएको प्रहरीले पुष्टि गरेको छ ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका–४ सुकेधारमा भएको बम बिष्फोटमा परी २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु भएका दुवै जनाको सनाखत हुन नसेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्व पोखरेलले जानकारी दिनुभयो ।

तीनको मृत्य, पाँच घाइते, दर्जनौ गिरफ्तार

सुकेधारा नजिकै रहेको सैलुनमा राखेको कुकरबम बिष्फोट हुदा कपन मिलनचोकका हरि खड्का र कपन चुनिखेलका सुरेन्द्र महर्जन र सैलुन संचालक जीतकुमार ठाकुर रहेको प्रहरी प्रवक्ता पोखरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । घाइते भएका महर्जन र खड्का पनि बिप्लव समुहका कार्यकर्ता भएको बताइएको छ । उनीहरुको अवस्था गम्भिर हरेको र घाइते अन्य दुई पनि बिप्लव समूहका कार्यकर्ता रहेको दावी प्रहरीले गरेको छ ।

सो बिष्फोटनमा परी घाइते भएका ५ जनामध्ये ४ जनाको ओम अस्पताल र १ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सुकेधारामा भएको बिष्फोटमा पनि बिप्लवका कार्यकर्ता भाग्न नभ्याउदा उक्त घटना भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

दुवै घटना एउटै प्रकृतिको भएकाले उक्त बिष्फोट बिप्लव समुहले गराएको दावी प्रहरीले गरेको छ । दुवै घटनामा राखिएका सिलिन्डर भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

घट्टेकुलोमा भएको बिष्फोट शक्तिशाली भएको र बम बनाउने नै मारिएकाले उक्त घटनाको अनुसन्धान नेपाली सेनाको बम बिज्ञ टोलीले गरेको थियो । घटनास्थलबाट प्रहरीले बिप्लव समुहका महत्वपूर्ण सामग्री समेतबरामद गरेको छ । प्रहरीले बरामद गरेको मोवाईल फोन लगायतका केही गोप्य सामग्रीलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

त्यस्तै सोही समुहले बलम्वुमा पनि शक्तिशाली बम बिष्फोट गराएको छ । बिष्फोटमा परी स्थानीय बिक्रम लामा घाईते भएका छन । घाईतेको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरका बिभिन्न ठाउंमा चोट छ ।

विप्लव समूह बदलताको मनस्थितिमा
आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउंमा बम समेत राखे ।

प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ ।

राजधानीका दर्जनभन्दा बढी ठाउंमा बम राख्नुका साथै जनजीवन आतंकित बनाएपछि सुरक्षा निकायले राजधानीको सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

उनीहरु बिरुद्धको कारवाहीलाई तीव्रता दिने क्रममा एक दर्जन भन्दा बढी बिप्लव समुहका कार्यकर्ता पक्राउ परेको उहाँले बताउनुभयो ।

यता सशस्त्र प्रहरी बलले पनि बिप्लव समुहका कार्यकर्तालाई हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ गरेको छ । सो बलले बिप्लवका सात कार्यकर्तालाई हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका आशबहादुर तामाङ भन्ने डम्वर तामाङ, सल्यानका चित्रकमल केसी, भक्तपुरका राकेश श्रेष्ठ, रोल्पाका बुद्धीलाल पुन, ठेगाना बताउन नचाहाने बुद्धीबहादुर सुनुवार, तेजराज काफ्ले र तेजबहादुर मोक्तान रहेका छन ।

उनीहरुलाई सो बलले काठमाडौ महानगरपालिका ३२ नरेफाँटस्थित एउटा घरमा जम्मा भएर बसेको बेला पक्राउ गरेको थियो । उनीहरुमध्ये एक जना शंकास्पद गतिबिधि गर्दै हिडीरहेको बेला सो बलबाट खटिएको बिषेश टोलीले पिछा गर्दै जादा उनीहरु मसाल जुलुस गर्ने तयारी गरी रहेको बेला घर घेरा हालेर पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले ४ थान प्रेसर कुकर बम, १ हजार ५ सय पर्चा, मसाल बनाउन प्रयोग हुने भाटा समेत बरामद गरेको थियो । पक्राउ परेका उनीहरुलाई सशस्त्र प्रहरी बलले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

गम्भीर बन्न कांग्रेसको आग्रह

काठमाडौंमा हिजो भएको बम विस्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति नेपाली कांग्रेसको ध्यान आकृष्ट भएको प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई नेपाली कांग्रेसले अत्यन्तै दुःखद रुपमा लिएको बताएको छ ।

बम विस्फोटमा परेर जीवन गुमाउनेहरु जुनसुकै पक्षका भए पनि अमूल्य जीवन गुमेको भन्दै शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्