मेसीलाई सुनको जुत्ता



लन्डन, (एजेन्सी)
लियोनल मेसीले छैटो पटक युरोपियन गोल्डेन शू (सुनको जुत्ता) पुरस्कार जितेका छन् ।

युरोपको शीर्ष लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई सो पुरस्कार प्रदान गरिने हो । जसअनुसार बार्सिलोनाका मेसीले यस सिजनको ला लिगामा ३४ खेलबाट ३६ गोल गरेका छन् । उनले पेरिस सेन्ट जर्मेनका किलियन एमबाप्पे भन्दा ३ गोल बढी गरेका छन् । मेसीले सुनको जुत्ता पुरस्कार पाएको यो लगातार तेस्रो सिजन हो ।

२००७÷०८ को सिजनमा प्रिमियर लिगका क्रिस्टियानो रोनाल्डोले सो पुरस्कार जितेका थिए । यो सिजन मात्रै ला लिगा भन्दा बाहिरका खेलाडीले पाएको पुरस्कार थियो । अन्यथा पछिल्ला ११ सिजनमा ला लिगाकै खेलाडीले सो पुरस्कारमाथि आधिपत्य जमाउँदै आएको छ । सन् २०१४ मा रोनाल्डो र लुइस स्वारेजले सो पुरस्कार साझेदारी गरेका थिए । रोनाल्डोले ४ पटक सुनको जुत्ता पाएका छन् ।

यस्तै ३१ वर्ष ११ महिना र २५ दिनको उमेर भएका मेसी सो पुरस्कार पाउने दोस्रो पाको खेलाडी बनेका छन् । यसअघि सन् १९९० मा ह्युगो सान्चेज एक महिनाले मेसीभन्दा बढी उमेरमा सुनको जुत्ता प्राप्त गरेका थिए ।

तर मेसीले पुरस्कार जित्नुको खुशी बाँडे पनि च्याम्पियन्स लिगमा लिभरपुलसँग हार्नुलाई सबैभन्दा निरासजनक क्षण भएको बताए । उनले भने—गोल्डेन शूका लागि मैले सोचिरहेको छैन । मेरो दिमागमा यो अवार्ड आएकै छैन । हामी अझै लिभरपुलबाट हारेकोमा स्तब्ध छौं । कमसेकम म एकदमै निरास छुँ । म आफैलाई समेत सोच्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्