जितको लागि ज्ञानेन्द्रको शतक पर्याप्त भएन



नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगितामा ज्ञानेन्द्र मल्लले शतक प्रहार गरे पनि त्यसको उपयोग हुन सकेन ।

शनिबार भएको खेलमा ज्ञानेन्द्रले शतकीय इनिङ खेले तर उनको टोली प्रदेश ३ ले हारको सामना गर्नुप¥यो । विभागिय टोली नेपाल एपीएफ क्लबले पहिले ब्याटिङ गरेर प्रदेशलाई २ सय ८९ रनको विशाल लक्ष्य तेर्साएको थियो । तर प्रदेश टोली भने निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रनमै रोकियो र एपीएफ ४१ रनले जित्यो ।

ज्ञानेन्द्रले १ सय ११ बलको सामना गर्दै ८ चौका र ५ छक्का प्रहार गरेका थिए । उनलाई व्यक्तिगत १ सय १७ रनमा अविनास बोहराले आउट गरेका थिए । यस्तै कप्तान पारस खड्काले ४६ रन बनाएर भुवन कार्कीलाई विकेट ठम्याएका थिए । उनले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । एपीएफका बलरमा कमल सिंह ऐरीले १० ओभरमा ३ विकेट लिन ६४ रन खर्चेका थिए । यस्तै अविनासले २ विकेट हात पार्दा पृथु बास्कोटा र भुवनले १÷१ विकेट प्राप्त गरेका थिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षेतिमा २ सय ८८ रन बनाएको थियो । टोलीका लागि सुमित महर्जनले सर्वाधिक ९४ रनको योगदान दिए । उनी शतकबाट ६ रनले चुकेका थिए । उनले दुई रन लिने चक्करमा ४१ औं ओभरमा रनआउट भएका थिए । उनले १ सय ३ बलमा ६ छक्का र ५ चौका प्रहार गरेका थिए ।

यसैगरी एपीएफको ब्याटिङ सुदृढ बनाउन अमर सिंह रउतेलाले १८ बलमा २७ रनको आक्रमक ब्याटिङ प्रस्तुत गरे । पृथुले ३ चौका र १ छक्काको सहयोगमा ५९ रन बनाए । प्रदीप ऐरी ४० रन जोड्दा अन्यले सामान्य प्रदर्शन गरेका थिए । प्रदेशका नन्दन यादवले ४० रन दिएर ३ विकेट लिँदा उति नै विकेट लिन जितेन्द्र सिंह ठकुरीले ३८ रन खर्चेका थिए ।

प्रतिक्रिया दिनुहोस्