सीमाक्षेत्रमा अवाञ्छनिय गतिविधि हुन नदिन तातोपानी नाकाबाट गृहमन्त्रीको निर्देशन



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
गृहमन्त्री रामबहादुर थापाले संचालनको तयारीमा रहेको तातोपानी नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ । आगामी सातादेखि नाका संचालनमा ल्याउने तीव्र तयारी भइरहँदा मन्त्री थापाले सीमाक्षेत्रको सडक, पूर्वाधारसँगै सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण र अवलोकन गर्नुभएको हो । सीमा नाकाको निरीक्षण गर्दै गृहमन्त्री थापाले सीमाक्षेत्रमा कुनैपनि अवाञ्छनिय गतिविधि हुन नदिन स्थानीय सुरक्षा संयन्त्र र स्थानीय सरकारका प्रतिनीधिहरुलाई निर्देशन समेत दिनुभयो ।

आगामी सातादेखि तातोपानी नाका संचालनमा आउने भन्दै मन्त्री थापाले सीमाक्षेत्रमा अवाञ्छनिय गतिविधि र क्रियाकलाप हुन नहुने बताउनुभयो । सीमाक्षेत्रको सुरक्षा संवेदनशीलताकै कारण तातोपानी नाका संचालनमा ढिलाई भएको भन्दै उहाँले चीनको राष्ट्रिय सुरक्षामा नेपालले सघाउनुपर्नेमा जोड दिनुभयो । ‘तातोपानी नाका हिजो तस्करीका कारण बद्नाम थियो, अवाञ्छनिय गतिविधि पनि भए होलान्’, मन्त्री थापाले भन्नुभयो, ‘चार वर्ष बन्द भएर यो नाका अब खुल्दैछ, कुनैपनि खालका अवाञ्छनिय गतिविधि हुन नदिनुस् ।’

मुलुकमा भ्रष्टाचार र तस्करी धन्दाले जरो गाढीरहेको तर्फ इंगित गर्दै उहाँले तस्करी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेमा विकास र समृद्धिको सपना पुरा नहुने बताउनुभयो । नाकाको स्थलगत निरीक्षणमा आउनुभएका सांसद अग्निप्रसाद सापकोटाले सीमाक्षेत्रमा कुनैपनि गैरकानुनी क्रियाकलाप हुन नदिने बताउनुभयो ।

‘सुरक्षा निकाय त छँदैछ, आवस्यक पर्दा स्थानीय जनताले नै सीमामा अवाञ्छित गतिविधि रोक्नेछन्’, सांसद सापकोटाले भन्नुभयो । नाका संचालनको माहौल बढिरहँदा सीमावासीमा उत्साह र उमंग जागेको भन्दै चीनसँग सीमा जोडिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले सांकेतिक रुपमा मात्र नभई तातोपानी नाका पूर्ण रुपमा खुल्नुपर्नेमा जोड दिनुभयो ।

खासामा आइपुग्यो ऊन
जेठ १७ गतेबाट नाका संचालन गर्ने द्धिदेसिय तयारी तीव्र भइरहँदा चीनको खासा क्षेत्रमा आधा दर्जन कन्टेनरमा उन लोड भइसकेको अधिकारीहरुले बताएका छन् । नेपालतर्फबाट मजदुर लगेर चिनीयाँले ६ वटा कन्टेनरमा नेपालतर्फ ल्याउनका लागि उन लोड नै गरेर तयारीका साथ राखेका छन् ।

आउँदो जेठ १७ गते नेपाली अधिकारीहरुलाई बोलाएर उनीहरुले उनले भरिएका कन्टेनर नेपालतर्फ पठाउनेछन् । ‘केहि कन्टेनरमा उन लोड नै भइसकेको भनेर जानकारी आयो, जेठ १७ गते ती कन्टेनरहरु यता पठाएर चिनीयाँले नाका संचालनमा आएको शन्देश दिँदैछन्’, तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले भन्नुभयो ।

तत्कालका लागि तातोपानी नाका सांकेतिक रुपमा मात्र खुल्न लागेको सरकारी अधिकारीहरुले बताए । ‘तत्काललाई सांकेतिक रुपमा मात्र खुल्नेजस्तो बुझियो, केहि महिना त लाग्लाजस्तो देखिन्छ’, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्