रजत वर्षमा किरणको एकल साँझ



केबल गायक गायिकाको एकल सांगीतिक साँझ हुने शहरमा हिजोआज संगीतकार र गीतकारको समेत एकल साँझ हुन थालेको छ।

यसै क्रममा सांस्कृतिक संस्थानको आयोजनामा राजधानीमा संगीतकार किरण कणेलको एकल साँझ सम्पन्न भएको छ।

संगीतकार तथा संगीत संयोजक कणेलको सांगीतिक यात्राको रजत वर्ष पूरा भएको अवसरमा किरण कणेल एकल साँझ तथा ३ गीति संग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको हो। सांस्कृतिक संस्थानको आयोजनामा जमलस्थित संस्थानको राष्ट्रिय नाचघरमा किरण कणेल एकल साँझ २०७६ भएको हो।

किरणको एकल साँझमा विभिन्न गायक गायिकाले प्रत्यक्ष वाद्यवादनमा उनीद्वारा संगीतबद्व लोकप्रिय गीतहरू प्रस्तुत गरी सांगीतिक आनन्द दिलाएका थिए।

कार्यक्रममा गायक गायिका रामकृष्ण ढकाल, मनमोहन थपलिया, सुरज थापा, रामभक्त जोजिजू, जगतमर्दन थापा, विपीन घिमिरे, बानिका प्रधान, प्रविशा अधिकारी, इतु जोजिजू, शिला विष्ट र अनुष्का पाठकले किरणद्वारा संगीतबद्ध एकल तथा युगल गीत प्रस्तुत गरेर संगीतप्रेमीहरूलाई मोहित तुल्याएका थिए। कार्यक्रममा साढे २ दशकदेखि संगीत क्षेत्रमा सक्रिय भई संगीतकार, संगीत संयोजक, स्टुडियो प्राविधिक र वाद्यवादकका रूपमा काम गर्दै आएका किरण स्वयंले समेत आफ्नो संगीतका केही गीत सुनाएका थिए।

संस्थानका अध्यक्ष उद्योग राईको अध्यक्षता तथा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थानका महाप्रबन्धक राजेश थापाले गीतकार, संगीतकार, गायक गायिका, कवि, रंगकर्मीलगायतका सर्जक तथा कलाकारलाई संस्थान सबैको साझा घर हो भन्ने महसुस गराउन नियमितरूपमा यसप्रकारका कार्यक्रम आयोजना गर्दै आएको बताए।

दर्जनौं सर्जक तथा संगीतकर्मीका बीच सम्पन्न कार्यक्रममा मेरी जननी, साउन्ड अफ द सोल र लगनगाँठो नामका ३ अडियो एल्बमसमेत सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्