ठडियो शिक्षाको इतिहास



ईश्वरराज ढकाल, काठमाडौं
शक्तिशाली भूकम्पले ध्वस्त भएको दरबार हाइस्कुल (भानु मावि) पुनर्निर्माण शुरू भएको १० महिनाभित्र ठडिएको छ। विसं १९१० सालमा स्थापित सो विद्यालय चीन सरकारले पुनर्निर्माण गरेको हो।
२२ महिनाभित्र सम्पन्न गर्ने गरी गएको साउन १८ गते पुनर्निर्माण शुरू गरेको चिनियाँ ठेकेदार कम्पनीले १० महिनामा भवनको स्ट्रक्चर सम्पन्न गरेको हो। अबको सात महिनामा भवन निर्माण सम्पन्न गर्ने भएको छ। ‘चीन सरकारले निर्माण शुरू गरेको १० महिना भयो अबको ८ महिना अर्थात् पुसमा निर्माण सम्पन्न गर्ने जनाएको छ।’ –शिक्षा मन्त्रालयअन्तर्गत गठित केन्द्रीय आयोजना कार्यान्वयन एकाइका कार्यकारी निर्देशक इमनारायण श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो।

– माघदेखि नयाँ भवनमा पढाइ शुरु
-ठूलो भवनमा विद्यार्थी पाउनै मुस्किल
 सम्झौता अवधि २२ महिना, सक्ने लक्ष्य १८ महिना
उहाँका अनुसार चीन सरकारले जिम्मा लिएको ७ विद्यालयमध्ये पुनर्निर्माण सम्पन्न गरेको पहिलो विद्यालय यही हो।
यो भवन करिब ८० करोड रुपियाँ लागतमा सम्पन्न हुने लक्ष्य रहेको छ। चीनले आफ्नै ठेकेदार कम्पनीबाट निर्माण गरी नेपाल सरकारलाई साँचो हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। सकभर पुस महिनामै साँचो हस्तान्तरण गरी माघ महिनादेखि कक्षा सञ्चालन गर्ने गरी निर्माण कार्य भइरहेको श्रेष्ठले बताउनुभयो।
चीन सरकारले जिम्मा लिएको ६ विद्यालय भवन शुरु गर्ने सकेको छैन। चीन सरकारले भूकम्पले ध्वस्त भएको रसुवाको ३, सिन्धुपाल्चोकको २ र दोलखाको २ गरी ६ विद्यालय पुनर्निर्माण गर्न बाँकी छ। तर अचम्म तरिकाले १० महिनामा भवनको स्ट्रक्चर सम्पन्न गरिएको छ। विसं २०३० को राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि जिल्ला शिक्षा कार्यालयअन्तर्गत सञ्चालन हँुदै आएको सो विद्यालय राणा प्रधानमन्त्री वीरशमशेरले राणा परिवारका छोराछोरीलाई मात्रै पढाउन स्थापना गरेका थिए।
१९९० सालको भूकम्पले समेत क्षति पुर्याएको सो विद्यालय जीर्ण बन्दै गएको थियो। भूकम्पले ध्वस्त भएपछि दुवै विद्यालय प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा टहरामा सञ्चालन हँुदै आएको छ। दरबार हाइस्कुलभित्र दरबार हाइस्कुल (भानु मावि) र संस्कृत मावि सञ्चालन हुँदै आएको छ। दुवै स्कुल अहिले टहरामा सञ्चालन हुँदै आएका छन्।
निर्माण प्रगतिबारे जानकारी गराउन चिनियाँ दूतावासले हिजो दरबार हाइस्कुलको पुनर्निर्मित भवनमा आयोजित कार्यक्रममा राजदूत हउ यान्छी नेपाली अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले स्कुल पुनर्निर्माणको अवलोकन गर्नुभएको थियो। चिनियाँ राजदूत हउले कोठा–कोठा घुम्दै पुनर्निर्माणको प्रगति अवलोकन गर्नुभएको थियो।
चारतले नयाँ भवनमा ४६ कोठा छन्। कक्षाकोठा मात्रै २२ वटा रहेका भानुमाविका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिनुभयो। टहरामा सञ्चालन भएको भानुमा हाल कक्षा १ देखि १० सम्म १ सय सय ४७ र संस्कृत माविमा १ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन्। संस्कृत माविका प्रअ बद्री दाहालले नयाँ भवनमा सरेपछि विद्यार्थीको संख्या बढ्ने दाबी गर्नुभएको छ।
अवलोकनपछि प्रतिक्रिया दिँदै पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीले चिनियाँ सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुुभयो। कार्यक्रममा चिनियाँ राजदूत हउ यान्छीले नेपालमा भूकम्पले क्षति पुर्याएका २५ संरचना पुनर्निर्माणमा चीनले उच्च प्राथमिकता दिएको बताउनुभयो। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमण गरेर फर्केपछि आफ्ना शाखा सन्तानलाई पढाउने उद्देश्यले विक्रम संवत् १९१० मा स्थापना गरेको विद्यालय नै अहिलेको दरबार हाइस्कुल हो। दरबार हाइस्कुलमा अंग्रेजी पढाउने शिक्षक राणा शासकहरूले बेलायतबाट झिकाउने गरेको इतिहासमा पढ्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्