हङकङमा आर्यनको च च हुई



हालै मात्र पिता बनेका नायक आर्यन सिग्देल हङकङ पुगेर च च हुई खेलिरहेका छन्। यो च च हुई भने फिल्म हो।

डेब्यु फिल्म लेटरमार्फत नै दर्शकमाझ चिनिएका निर्देशक साम्तेन भुटियाको निर्देशनमा निर्माणाधीन फिल्म च च हुईको एक सातादेखि हङकङमा छायांकन भइरहेको छ।

युनिट एक साताको सुटिङ सेड्युल लिएर गत शुक्रबार हङकङ पुगेको हो। नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिललगायतका रमणीय स्थानमा फिल्मको छायांकन भइरहेको छ। फिल्मको सुटिङका आर्यन सिग्देल, माओत्से गुरुङ र भोलाराज सापकोटा तथा छायाँकार सुशन प्रजापति, निर्देशक भुटिया, निर्माता अमृत घोले लामालगायत हङकङमा छन्।

त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायांकन भइरहेको निर्माण समूहले जानकारी गराएको छ। पुष्कर गुरुङ, मिरुना मगर, बबिता मल्ललगायत समेत कलाकार रहेका फिल्मको हिमाली भेगमा सुटिङ सकिएपछि यति बेला हङकङमा सुटिङ भइरहको हो। हङकङको सुटिङ सेड्युलपछि नेपाल फर्केर गीतको सुटिङ गरिने निर्माता लामाले बताए।

एजिएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माणाधीन फिल्म कमेडी जनरामा छ। तान्द्रो, अनागत, सुस्केरा र साढे सात निर्देशन गरिसकेका साम्तेनले यसपटक कमर्सियल फिल्मका रूपमा च च हुई निर्देशन गरिरहेका छन्। ‘यसपटक कमर्सियल फिल्म निर्माणको जमर्को गरेको छु।

फिल्मको स्टोरीअनुसार नै हामी हङकङमा सुटिङ गरिरहेका छौं। फिल्ममा आर्यनको रोमान्ससँगै कमेडी दर्शकलाई गिफ्ट हुनेछ’, साम्तेनको भनाइ छ– ‘फिल्ममार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने प्रयास रहनेछ।’ सिजन दाहाल र सन्देश अर्यालले लेखेको फिल्ममा राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ।

नायक सिग्देल आफैं पनि निर्माता भइसकेको हुनाले धेरै कुरा बुझेको र कथाकै कारण हङकङमा सुटिङ गरिएको बताए। ‘किनकि कथा नै यहींबाट शुरू हुन्छ। लभ स्टोरीमा मलाई धेरै देख्नुभएको छ। आशा छ यो रूपमा पनि रुचाउनु हुनेछ। फिल्ममा रोमान्स त छ, तर कमेडी शैलीमा।’ –आर्यनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्