व्यापार मेलाबाट ६३ लाख बचत



हेटौंडा, (नेस) । मकवानपुर उद्योग वाणिज्य संघले फागुनमा हेटौंडामा सञ्चालन गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिब ६३ लाख रुपियाँ बचत गर्न सफल भएको छ ।

बिहीबार संघले पत्रकार सम्मेलनमार्फत् मेलाको हिसाब सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको हिसाबअनुसार संघले पल्पसा हलमा निर्माण हुँदै गरेको अतिथि सदन निर्माणका लागि मेलाबाट ५८ लाख ४२ हजार ६ सय ३४ रुपियाँ आम्दानी भएको छ भने नियमिततर्फ संघलाई ४ लाख ५२ हजार ३ सय २८ रुपियाँ नाफा भएको छ ।

मेलाबाट नियमिततर्फ ३२ लाख २७ हजार ६० रुपियाँ र अतिथि सदन निर्माणतर्फ एक करोड ७ लाख ५ हजार ४ सय रुपियाँ गरी एक करोड ४० लाख १३ हजार २ सय ६० रुपियाँ आम्दानी भएको संघ अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो ।

जसमध्ये ७७ लाख १८ हजार २ सय ९६ रुपियाँ खर्च भएको उहाँले बताउनुभयो । मेला आयोजनाको मुख्य उद्देश्य पल्पसा सभाहलमा सुविधासम्पन्न अतिथि सदन निर्माण गर्नु रहेको भन्दै अध्यक्ष कटुवालले मेलामा धेरैले अतिथि सदन निर्माणको लागि सीधै रकम तथा विभिन्न सामग्री सहयोग गरेको जानकारी दिनुभयो ।

संघले आन्तरिक तथा वाह्य आगन्तुकलाई लक्षित गरी पल्पसा परिसरमा अतिथि सदन निर्माण गरिरहेको जानकारी दिँदै उहाँले संघमा संकलन भएको र भवनका लागि प्राप्त रकम अतिथि सदनकै लागि खर्च गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्