बालबालिकाको चिन्ता पढ्ने कि पानी ओसार्ने



सलिम अन्सारी, प्युठान ।
भालेको डाकोसँगै झिसमिसे उज्यालो मै रित्तो गाग्री र डोको टिपेर कुवा तिर जानुहुन्छ उहाँ । आँखा मिच्दै पधेरोमा पुग्ने मल्लरानी ४ बडडाडा की सर्मिला बिक हरेक बिहान उकालो बाटोमा गाग्रीभरी पानी बोकेर फर्कनुहुन्छ । घर आईपुग्दा बिहानले नेटो काट्छ । घर नजिकै खानेपानीको स्रोत नहुँदा बिहानै उठेर किताब समात्ने समयमा सर्मिलालाई भने पानी ओसार्नुपर्छ ।

महेन्द्र उच्च मावि खलंगामा कक्षा ९ मा अध्ययन गर्ने उहाँ पानी बोक्नुपर्ने बाध्यताले नियमित पढ्न समेत पाउँनुभएको छैन । उहाँ भन्नुहुन्छ–, ‘कहिलेकाहीं त ढिलो भएर विद्यालय छुट्छ । एक खेप पानी ओसार्न बिहानभरी लाग्छ । कुवाबाट पानी लिएर घर आउँदा साथीहरू स्कुल गइसकेका हुन्छन् ।’ सर्मिला त एक उदाहरण मात्रै हुनुहुन्छ ।

उहाँ जस्ता बड्डडाडाका धेरै जसो दलित बालबालिकाहरु बिहान भयो कि कुवा तीर पानी लिन झर्छन् । मल्लरानी बोर्डिङ स्कुल खलगांमा कक्षा ३ मा पढ्ने ९ बर्षीया सुजिता नेपालीले पानी भर्न कुवामा जाने गरेको बताउनुभयो । कुवामा पानी भर्न गाउँलेबीच प्रतिस्पर्धा नै चल्छ । पानी भर्नेको संख्या बढी भयो भने कुवा पनि रितिन्छ । ‘कहिले त बिहान ५ बजे कुवामा पुगे पनि ९/१० बजे तिर मात्र पालो आउँछ’ स्थानीय ४१ बर्षीया फुर्सी नेपालीले भन्नुभयो । पानी लिएर फर्किदा ढिला भएको दिन खाना पकाउन ढिला हुन्छ । केटाकेटीको स्कुल पनि छुट्छ । वर्षात छिटो शुरु भएपछि मुहान रसाउन थाल्छन् । वर्षा सकिएसँगै यहाँका मानिसहरूले ढुक्कले निदाउने दिन पनि सकिन्छ ।

अभिभावकहरू बिहानैदेखि मेलापातमा व्यस्त हुनाले पनि बालबालिकालाई पानी बोक्न भ्याई नभ्याई हुने गरेको हो ।मुल सुकेपछि गाउँमा पानीको समस्या छ । मानिसहरु खानेपानी मात्र नभइ गाई वस्तुलाई समेत खुवाउने पानी घण्टौं लगाएर कुवाबाट बोक्ने गर्छन् । पानीको अभावका कारण नुहाउन, लुगा धुनका लागि टाढाको कुवामा जानुपर्ने भएकोले सरसफाईमा समेत समस्या भएको फुर्सीको भनाई छ ।

स्थानीय खानेपानी उपभोक्ता समितिका अध्यक्ष बसन्त साक्यले पानीको समस्याले बालबालिकाको पढाई प्रभावित बनेको बताउनुभयो । ७ हजार जनसंख्या रहेको यो क्षेत्रमा दिनहुँ ९ लाख लिटर पानी चाहिने उहाले बताउनुभयो। यहाँ झण्डै चार सय धारा जोडिएका छन । तर नियमित पानि नआउदा समस्या भएको छ साक्यले भन्नुभयो। खानेपानीको समस्याको बारेमा वर्षौँदेखि विभिन्न निकायमा धाउँदा पनि सुनुवाई नभएको यहाँका स्थानीयको दुखेसो छ ।

प्रतिक्रिया दिनुहोस्