भारतमा मतगणना सुरू, आजै परिणाम आउने



काठमाडाैं । भारतमा लोकसभा निर्वाचनको मतगणना सुरू भएको छ। ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणना आज सुरू भएको हो।

विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ। मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतीय निर्वाचन आयोगले मतगणनाका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ। सात चरणमा सम्पन्न निर्वाचन गत अप्रिल ११ बाट सुरु भई यही मे १९ तारिखमा सकिएको थियो।

चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन नै विजयी हुने मत सर्वेक्षणहरुले ठहर गरेका छन्। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बहुमत स्थानमा जित हात पार्ने देखिएको हो। सर्वेक्षणहरुले एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन्। लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ। सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ।

भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए)ले करिब १ सय ४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ। यता,सर्वेक्षणहरूले देखाएका नतिजालाई विपक्षी नेताहरूले अस्वीकार गर्दै आएका छन् ५ वर्षअघिको चुनावमा भाजपाले एक्लै २ सय ७२ स्थानमा जित हात पारेको थियो। विपक्षी कांग्रेस ४४ सिटमा सिमित भएको थियो।

अरुणाञ्चलमा भोटिङ मेसिन लुटियो

निर्वाचनको नतिजा आउनु १ दिन अघि बुधबार भारतको अरुणाञ्चलमा भोटिङ मेसिन लुटिएको छ ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको अनुसार अरुणाञ्चल प्रदेशको कुरुङ्ग कुमे जिल्लामा बुधवार साँझ ५०० भन्दा धेरै नकावधारीहरुको हुलले एक पोलिङ्ग टीममाथि हमला गरेर ईवीएम लुटेर लगेका हुन् ।

मीडिया रिपोर्ट्सका अनुसार साँझ करिब ५ बजे नेशनल पिपुल्स पार्टीका करिब ५०० समर्थकहरुले एके-४७ राइफलहरु, डण्डा र बन्दूकहरुको साथमा लांगबांग इलाका नजिक ती अधिकारीहरु माथि हमला गरेका हुन् ।

गएको आइतबार सकिएको सत्रौं लोकसभा निर्वाचनको मतगणना आज विहान ८ बजेदेखि हरेक प्रदेशहरुमा सुरु हुँदैछ । लोकसभाको चुनाव ११ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्