हेटौंडाबाटै सवारीचालक अनुमतिपत्र नवीकरण



हेटौंडा, (नेस) ।
सवारीचालक अनुमतिपत्र नवीकरणका लागि बीरगञ्ज वा काठमाडौं धाउँदै आएका हेटौंडा र चितवनलगायतका सवारीचालकलाई अब सजिलो भएको छ । सवारीचालक अनुमतिपत्र नवीकरणको सेवा बुधबार प्रदेश–३ को यातायात व्यबस्था सेवा कार्यालय हेटौंडा–११, थानाभ¥याङबाट सुरु गरिएसँगै सहज भएको हो ।

स्मार्टकार्डको सवारीचालक अनुमतिपत्र नवीकरण गरेर २६ जनालाई बितरण गरिएसँगै काम सुरु गरिएको हो । प्रदेशका मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री डोरमणि पौडेलले सेवाग्राही माधब अधिकारी, रमेशकुमार उप्रेती र ऋषिराम घिमिरेलगायतलाई सवारीचालक अनुमतिपत्रको नवीकरणपत्र हस्तान्तरण गर्नुभयो ।

प्रदेश–३ को राजधानी हेटौंडामा मुख्यमन्त्री पौडेलले शिव थापालाई स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गर्दै सवारीचालक अनुमतिपत्र दर्ता तथा नवीकरण शुरु गर्नुभएको छ ।

उक्त सेवा सुरु भएसँगै विभिन्न जिल्लावासीहरु टाढा गएर सवारीचालक अनुमतिपत्र नवीकरण गर्नुपर्ने बाध्यता हटेको छ । हेटौंडा कार्यालयबाट नयाँ सवारी दर्ता, कर, नवीकरण, सवारी पञ्जीकरण, रुटपरमिट नवीकरण, जाँचपासलगायत सुरु गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले सेवा प्रारम्भ गरिएसँगै अब यातायात कार्यालयमा हुने भ्रष्टाचार अन्त्य हुने बताउनुभयो । उहाँले प्रदेश सरकारलाई कर्मचारी अभावले काम गर्न असजिलो भएको बताउँदै आगामी दिनमा उक्त समस्या समाधान हुने बताउनुभयो । मुख्यमन्त्री पौडेलले यातायात क्षेत्रमा सुधार गर्नुपर्ने भन्दै बीरगञ्ज र काठमाडौं कार्यालयमा हुँदै आएका अनियमितता हेटौंडामा हुन नदिइने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्