प्रदेश ५ मा बेरोजगारको संख्या करिव २३ लाख



यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचमा १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको संख्या ३४ लाख ३७ हजार रहेकोमा बेरोजगारहरुको संख्या २२ लाख ९८ हजार रहेको छ ।
प्रदेश पाँचमा जम्मा ११ लाख ३९ हजार जनाले मात्र रोजगारी गर्ने गरेको केन्द्रीय तथ्याँक विभागले बुधवार बुटवलमा आयोजना गरेको नेपाल श्रमशक्ति सर्वेक्षण तेस्रो नतिजा सार्वजनिक कार्यक्रममा बताइएको हो ।

रोजगारी गर्नेमध्ये ६ लाख ९५ हजार ५ सय पुरुष र ४ लाख ४३ हजार ५ सय महिला रहेको तथ्याँक विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तथ्याँक विभागका अनुसार शहरमा वस्ने जनसंख्याले धेरै रोजगारी गर्ने र ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरु कम रोजगारी गर्नेमा पर्दछन् ।
रोजगारीको क्षेत्रमा रहेको जनसंख्यामध्ये ६ लाख ८३ हजार ५ सय शहरी क्षेत्रमा र ४ लाख ५५ हजार ५ सय ग्रामिण क्षेत्रमा वसोवास गर्ने गरेको विभागले सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ ।

तथ्याँक सार्वजनिक गर्दै विभागका तथ्याँक अधिकृत णराज तिवारीले भन्नुभयो–‘प्रदेश ५ मा बेरोजगारी दर ११ दशमलव २ प्रतिशत रहेको छ भने पुरुषको र महिलाको बेरोजगारी दर क्रमशः १० दशमलव ८ र ११ दशमलव ९ प्रतिशत रहेको छ ।

त्यसैगरी शहरमा १२ प्रतिशत र ग्रामिण क्षेत्रमा १० दशमलव एक प्रतिशत बेरोजगारी रहेको छ ।’

त्यसैगरी प्रदेश पाँचमा श्रमशक्तिको सहभागिता दर जम्मा ३७ दशमलव ३ प्रतिशत रहेकोमा पुरुष ५२ दशमलव ६ प्रतिशत र महिलाको २५ दशमलव ७ प्रतिशत रहेको अधिकृत तिवारीले बताउनु भयो ।

अधिकृत तिवारीका अनुसार सवैभन्दा बढी बेरोजगारी प्रदेश दुईमा रहेको छ । त्यहाँ २० दशमलव १ प्रतिशत र सवैभन्दा कम प्रदेश तीनमा मा ७ प्रतिशतमात्र रहेको छ ।

श्रमशक्तिमा सहभागिता दर हेर्दा सवैभन्दा बढी प्रदेश नं. ३ मा ४७ दशमलव १ प्रतिशत र सवैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७ दशमलव ३ प्रतिशत रहेको छ । तथ्याँक विभागले सार्वजनिक गरेको रिपोर्टमा नेपालमा अक्सर काम गर्ने समय हप्तामा ४४ घण्टा रहेको छ जसमा पुरुषको ४८ घण्टा र महिलाको ३९ घण्टा रहेको देखिन्छ ।

यसैगरी प्रदेश पाँचमा तलब तथा ज्याला प्राप्त गर्नेहरुको औसत आम्दानी १७ हजार ५ सय ५७ रहेकोमा पुरुषले सरदर १८ हजार ५ सय १ कमाउँछन भने महिलाले त्यो भन्दा कम मासिक औसत १४ हजार ४ सय ६ रुपैयाँ कमाउने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा तथ्याँक विभागका निर्देशक प्रमोदराज रेग्मीले विभागले योजना तर्जुमा, यथार्थ बस्तुस्थिति जानकारी र अवधारणा समेत प्रस्तुत गर्ने गरेको बताउँदै विभागकै तथ्याँकलाई आधार मानेर सरकारले धारणा बनाउने गरेको बताउनु भयो ।

त्यस्तै प्रदेश पाँचका प्रदेश योजना आयोगका सदस्य विष्णुप्रसाद गौतमले तथ्याँक विभागले जारी गर्ने रिपोर्टले प्रदेश सरकारले आफ्नो विकासको अवधारणा वनाउन सजिलो हुने गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्