तालकै छेउमा भौतिक संरचना, ताल पुरिन सक्ने खतरा



धनवीर दाहाल,रुकुम ।

बाउन्न पोखरी त्रिपन्न टाकुरीको जिल्ला भनेर चिनिएको रुकुम पुर्व जिल्लाका ताल वरवर भौतिक संरचना भरिभराउ हुन थालेका छन् । सदरमुकाम रहेको रुकुमकोटमा रहेको कमल ताल वरपर बिभिन्न भौतिक संरचनाहरु बन्न थालेपछि तालको सुन्दरतामा असर परेको छ । तालको क्षेत्रफल समेत साँघुरो हुदै जान थालेपछि कुनै बेला पुरिन सक्ने खतरा समेत बढेको छ ।

सिस्ने गाउँपलिका वडा नं. ६ मा पर्ने कमल तालको उत्तरतिर रहेको खाली भागमा बिभिन्न संरचनाहरु बनाउन थालिएको छ भने उत्तर–पश्चिमतिर रहेको चौर पनि मासिदै जान थालेको छ । प्राकृतिक मानोरमतालाई मासेर ताललाई मानव निर्मित जस्तो बनाउन लागेकोमा स्थानियले दुःख व्यक्त गरेपनि यस बिषयमा स्थानिय सरकार र अन्य सरोकाराला निकायले खासै चासो नदिएको उनीहरुले बताएका छन् । तालको पूर्वी भागतिर रहेको रुक्मिनी माविको छेउमा रहेको सामुदायिक वन क्षेत्रमा सभा हल, पहुना घर र गाउँपालिका कार्यालय बन्ने गरी काम भैरहेको छ ।

यस क्षेत्रमा संरचना बन्दा तालमा असर पर्ने भएपनि यसतर्फ ख्याल गरिएको छैन । सरकारले जग्गा खरिद गरेर संरचना बनाउनुभन्दा पनि सर्वजनिक भागलाई नै प्रयोग गर्न थालेपछि यो समस्या आएको स्थानियरुको भनाई छ । संगै तालकै छेउमा बन्न लागेको अर्को संरचना हो, सार्वजनिक शौचालय र टिकट घर लगभग ७ सय बर्गमिटरमा बन्न लागेको यो संरचनाका कारण तालछेउको सुन्दर चौर मासिएको छ । साथै यसबाट पनि तालमा प्रत्यक्ष असर पर्ने जानकारहरु बताउछन् ।

‘हामिले तालको छेउमा यो संरचना नबनाउन भनेर रोक्न खोज्यौं तर हाम्रो कुरा सुनुवाई भएन ।’ आफ्नो नाम भन्न नचाहने स्थानिय युवा भन्छन्, ‘हामि सानो छदाँ देखेको ताल र अहिले तालमा धेरै भिन्नता छ । तालको प्राकुतिक बनोट नै हराउने डर भयो ।’ जिल्लाकै ठुलो तालका रुपमा समेत रहेको कमल ताल मध्यपहाडी लोकमार्गको छेवैमा पर्छ ।

पहिले लोकमार्गबाटै देख्न सकिने भएपनि अहिले भने लोकमार्ग छेउमा अग्लो पर्खाल लगाएका कारण ताल हेर्न सडकबाट हिड्नै पर्ने भएको छ । ताल वरीपरि रहेका बर–पिपलका रुखहरु पनि मासिदै जान थालेका छन् भने तालको उत्तरतिरको भागमा सिमेन्टको पर्खाल लगाउदाँ तालको प्राकृतिक स्वरुप समेत ह्रास भएको छ ।

प्रतिक्रिया दिनुहोस्