‘क्यानडा जाने तयारीमा रहेकी अञ्जनालाई परिवारका सदस्य मिलेर हत्या गरे’



हेटौंडा, (नेस) ।
वैशाख २६ गते ललितपुरको ढोलाहिटीमा भएको अञ्जना लामा (महत) को हत्यामा संलग्नलाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाइएको छ ।

अञ्जनाको माइती मकवानपुरबाट हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाइएको हो ।

मकवानपुरका २९ वटा अधिकारकर्मी संस्था सहभागी रहेको मानवअधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्ध जिल्ला सञ्जाल र महिला मानवअधिकार रक्षक सञ्जाल मकवानपुरले सयुक्तरुपमा सोमबार मकवानपुरका प्रजिअ अस्मान तामाङमार्फत् गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले यसबारे गृह मन्त्रालयमा तत्काल जानकारी गराउने वचन दिनुभयो । ‘सुरक्षित बाँच्न पाउने अधिकार सुरक्षा सरकारले गर्नुपर्यो, कुनै बहानामा हत्या जस्तो जघन्य अपराध गर्न पाइन्नँ,’ सञ्जाल जिल्ला संयोजक आरती पाठकले भन्नुभयो ।

महिला आफ्नै घरभित्र सुरक्षित हुन नसक्नु मानवअधिकारको चुनौती भएको महिला मानवअधिकार रक्षक सञ्जाल मकवानपुर संयोजक गीता अर्यालले बताउनुभयो ।

मकवानपुरको भीमफेदी गाउँपालिका भैंसे माइती भएकी अञ्जनालाई जेठाजु उज्ज्वल महतले आफ्नै घरमा हत्या गरेको आरोप छ ।

मानसिक अबस्था गुमाएका भनिएका जेठाजुले उनको हत्या गरेको महत परिवारले स्वीकार गरेको छ । हत्यामा संलग्नको मानसिक अबस्थाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

क्यानडा जाने तयारीमा रहेकी अञ्जनालाई परिवारका सदस्य मिलेर हत्या गरेको र कानुनबाट उम्कन मानसिक अबस्था गुमेको बहाना पारिएको भन्दै अञ्जनाका दाजु शंकर लामाले आफूहरुलाई न्याय दिन सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्