कोन्ज्योसोममा पर्यटन विकासका लागि पदयात्रा



सुरेश तामाङ, ललितपुर
जिल्लाको दक्षिण–पूर्वी भेग। लेक, बेंसी, वन जंगल, पाखा पखेरो र सुन्दर बस्तीको अनुपम संगमस्थल। कोन्ज्योसोम गाउँपालिका साविकको नल्लु, भारदेउ, चौघरे, दलचोकी र शंखु। यी भेग यस्तै सुन्दर छन्। पर्यटन ल्योभ्याउने यी र यस्तै अन्य विविध भाग रहेको कोन्ज्योसोमले यथार्थमा पर्यटक कुरिरहेको छ।

पाखैभरि चराचुरुङ्गीको चिरबिर चिरबिर र ठोस्ने सिलिंगे खोलाको चिसो पानी अनि यहाँको लेक बेंसीको सिरेटोले यस्तै आभास दिन्छ। नल्लु भञ्ज्याङ, नल्लुको बेंसी, नल्लुमा रहेका पाथीभरा, दलचोकीको मनकामना मन्दिर, त्यहाँ अवस्थित कयौं अग्ला डाँडाहरूले पक्कै पर्यटक पर्खिरहेका छन्।

त्यस्तै ठोस्ने, शंखुको थुम्को, चौघरेको शिरैशिरसमेत पर्यटन लोभ्याउने उत्तम गन्तव्य बन्न लालायित छन्। भारदेउको पौवा चौर, गुप्तेश्वर गुफा, निर्माणाधीन कोन्ज्योसोमको प्रतिमा र त्यस भेगसम्म पुग्ने सडक कम मनमोहक छैन।

उपत्यकाभरिकै अग्लो डाँडाका रूपमा परिचित फूलचोकी डाँडानजिकै रहेको कोन्ज्योसोम प्रतिमा स्थलसम्म पुग्ने राम्रै बाटोको विस्तार गरिसकिएको छ। त्यहाँ भारदेउदेखि आधा घण्टामा साधन प्रयोग गरी सजिलै पुग्न सकिन्छ।

त्यस स्थानसम्म यदि हिँडेर जाने हो भने पनि पौवा चौरदेखि डेढ घण्टामा पुग्न सकिने स्थानीय सुवास मोक्तानले बताए। त्यहाँसम्म पुग्न ढुंगाको सिँढी बिछ्याइएको छ। ‘सिँढी चढेर डेढ घण्टा उकालो उक्लेपछि गुप्तेश्वर र कोन्ज्योसोमको प्रतिमास्थल पुग्न सकिन्छ।’ –स्थानीय सुवास मोक्तानले बताउनुभयो।

प्रतिमास्थलमा पुगेर काठमाडौं उपत्यका, हिमालका मनमोहक दृश्य देख्न सकिन्छ। आकाश खुलेको बेला त्यहाँबाट सर्वोच्च शिखर सगरमाथासमेत देख्न सकिने स्थानीय बताउँछन्।
प्रतिमास्थलसम्म पैदलयात्री पर्यटकका लागि समेत उपयुक्त पैदलमार्गहरू छन्। त्यहाँ पौवाचौर सिँढी बाटो, मोटरबाटो, चौघरे पैदलयात्रीका लागि उपयुक्त पैदलमार्ग हुन सक्छ। गुप्तेश्वर गुफामा महादेवको दर्शनका साथै ध्यान गर्ने स्थल भएकाले ध्यानसमेत गर्न सकिन्छ।

भारदेउमा पर्यटकलाई आकर्षण गर्न स्थानीयकै पहलमा होमस्टे र रेस्टुराँसमेत स्थापना भई सञ्चालनमा ल्याइएको छ। यहाँका १ सय १२ वर्षे पुरानो सत्र झ्याले होमस्टे, भारदेउ भ्यु मिनि रिसोर्ट र यलो हाउस चर्चामा छन्। यहाँ स्थानीय स्वादिष्ट परिकार पाउन सकिन्छ।

कोन्ज्योसोम आउने पर्यटकलाई रोकिराख्न यस्ता होमस्टे रिसोर्टले महŒवपूर्ण भूमिका खेल्ने कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले बताउनुभयो। ‘घुम्न आउने पर्यटकलाई खाने बस्ने राम्रो ठाउँ भए फेरि आउने बाटो बन्छ। त्यही भएर यस्ता होमस्टे र रेस्टुराँमा बढी जोड दिन अपिल गरिरहेको छु।’ –उहाँले भन्नुभयो। भारदेउमै माछाको पारखीहरूलाई ध्यानमा राख्दै ट्राउट माछाको पालनसमेत गर्दै आएको छ। सुदूरपूर्वमा रहेको पाथीभरा माताको दर्शन गर्न समय अभावले पुग्न नसक्ने भक्तजनलाई ध्यानमा राखेर नल्लुमा मन्दिरको स्थापना भएको छ। त्यहाँसम्म पुगेर सडक बाटो हुँदै दल्चोकीमा रहेको मनकामना मन्दिरमा समेत पुग्न सकिन्छ।

चलचोकीमा रहेको अग्ला डाँडाबाट सुन्दर दृश्यहरूको अवलोकन गर्न सकिन्छ। दल्चोकीमा पनि स्थानीयले सञ्चालन गरेको होमस्टेमा बसी स्थानीय स्वाद चाख्ने मौका मिल्नेछ।
दल्चोकी पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यसमेत बनिरहेको छ। यी विविध कुरालाई मध्यनजर गर्दै केही दिनअघि पर्यटन प्रवद्र्धन गर्न कोन्ज्योसोम गाउँपालिकाले पदयात्राको आयोजना गरेको थियो। पदयात्राबाट यी र यस्तै भेगमा धार्मिक र कृषि पर्यटनलाई प्रवद्र्धन गर्नु मुख्य उद्देश्य लिएको गाउँपालिका अध्यक्ष सिंतानले बताउनुभयो।

‘कोन्ज्योसोममा पर्यटकलाई लोभ्याउने अथाह स्थल छन्। तर केही भेउ मिल्न सकेको छैन। हामी यस भेगको पर्यटन विकासमा बामे सर्न खोज्दै छौं। यो शुरुआत हो।’ –उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्