नारायणहिटीभित्र गणतन्त्र संग्रहालय



मधुसूदन रायमाझी
नारायणहिटी दरबार संग्रहालयभित्र गणतन्त्र स्मारक निर्माण कार्य सम्पन्न भएको छ। राजतन्त्र हटेपछि सरकारले गणतन्त्रको प्रतीकका रूपमा नारायणहिटीभित्र नै गणतन्त्र स्मारक निर्माण गरेको हो। सरकारले नारायणहिटी दरबार संग्रहालयको पूर्वक्षेत्रमा निर्माण गरेको स्मारकलाई प्रमुख ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अगाडि सारेको छ। स्मारक निर्माण भएसँगै सरकारले गणतन्त्रको प्रतीकका रूपमा चिनाउनका लागि गणतन्त्र संग्रहालय बनाउने काम अगाडि बढाएको छ।

३५ रोपनी क्षेत्रफलमा निर्माण भएको गणतन्त्र स्मारक दुई तलाको छ। स्मारकभित्र गणतन्त्रको झल्को दिने फोटो, आर्ट, किताबलगायतको सामग्रीलाई कलात्मकरूपमा अवलोकनका लागि राखिने भएको छ। तत्कालीन गणतन्त्र प्राप्तिका लागि भएको आन्दोलनका फोटाहरू स्मारकमा रहनेछन्। स्मारकमा समावेश गर्ने गणतन्त्रसँग सम्बन्धित सामग्रीहरू संकलन र व्यवस्थापन गर्नका लागि शहरी विकास तथा भवन निर्माण विभाग र नेपाल कला परिषद्बीच १ करोड रुपियाँमा सम्झौता भएर काम अगाडि बढेको छ।

शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर मचाकाजी महर्जनले स्मारक निर्माणको काम दुई वर्षअघि नै सम्पन्न भए पनि अहिले आएर संग्रहालय बनाउने काम अगाडि बढाएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘स्मारलाई व्यवस्थित बनाउन अहिले १ करोड २० लाख रुपियाँमा टेन्डर गराएर काम गरिरहेका छौं।’ जसअनुसार स्मारकभित्र लिफ्ट, फर्निसिङ, साउन्ड सिस्टमको व्यवस्थापनलगायतको काममा भइरहेको छ। गणतन्त्र स्मारकभित्र रहेको नेपालको नक्सालाई पितलको पाताले थप आकर्षक बनाइनेछ। महर्जनले भन्नुभयो– ‘गणतन्त्रको प्रतीकका रूपमा निर्माण भएको स्मारकलाई आकर्षक बनाउने गरी काम अगाडि बढाएका छौं।’


गणतन्त्र प्राप्तिका क्रमका तयार भएका महŒवपूर्ण तस्वीर, दस्तावेजलगायत सामग्री छनोट गर्ने जिम्मेवारी नेपाल कला परिषद्लाई दिइएको छ। मन्त्रिपरिषद् बैठकले स्मारकमा बगैंचासहितको संरचना निर्माणका लागि ८२ रोपनी जग्गा उपलब्ध गराएको थियो। तर नेपाली सेनाले जग्गा उपलब्ध नगराउँदा ३५ रोपनीमा खुम्चिएको छ। ४२ करोड लागतमा गणतन्त्र स्मारक निर्माण गरिएको हो।

स्मारकमा अङ्गभङ्ग भएका, बेपत्ता पारिएका, ज्यान गुमाएका र हराएका गरी चार किसिमका प्रतीकात्मक स्तम्भ तयार भएको छ। स्मारकको मूल संरचना भने दुई रोपनी क्षेत्रफलमा फैलिएको छ। त्यसैगरी जनआन्दोलनका ऐतिहासिक पक्षको बारेमा पनि प्रदर्शनी गर्न स्मारकमा ग्यालरीको पनि निर्माण गरिएको छ। स्मारकको माथिल्लो भागमा फलामको गोलाकार संरचना बनेको छ। गोलाकारभित्र नेपालको नक्सा बनाइएको छ, जुन निकै आकर्षक र कलात्मकरूपमा राखिएको छ।

स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेना गृह, शौचालयलगायत संरचनासमेत निर्माण भएको छ। स्मारकभित्र एकैपटक २ हजार जना अटाउन सक्ने सभा हलसमेत निर्माण गरिएको छ। देशभित्र विभिन्न खालखण्डमा भएका आन्दोलनका दस्तावेज समावेश गरिनेछ। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि गरिएको साहस, त्याग र बलिदानीको महŒवपूर्ण पक्ष झल्काइनेछ। हिमाल, पहाड र तराईको भौगोलिक अवस्था झल्किने कलाकृति पनि स्मारकको ग्यालरीमा राखिएको छ। स्माकरभित्र गणतन्त्रको प्रतीकका रूपमा १२ फिट लम्बाइ र ४ फिट चौडाइ भएको ढुंगा कुँदेर ‘नेपालको संविधान–२०७२’ उल्लेख गरिने विभागले बताएको छ। गणतन्त्र स्मारकमा संविधानको आकृति अंकित गरिएको मूर्ति कुँद्ने काम अन्तिम चरणमा पुगेको छ।

राजतन्त्रको विधिवत्रूपमा अन्त्य भएको स्थानमै गणतन्त्रको प्रतीकका रूपमा स्मारक निर्माण भएको छ। स्मारकलाई अहिले रंग–रोगन गरेर चिटिक्क बनाइएको छ भने आकर्षक बगैंचा पनि निर्माण गरिएको छ। अपांगमैत्री रहेको सो स्मारक परिसरमा वाटर फाउन्टेन तथा विशेष बत्तीको समेत व्यवस्था गरिएको छ। करिब अढाइ सय वर्ष पुरानो शाहवंशीय राजतन्त्रको प्रतिनिधित्व गर्ने नारायणहिटी दरबार परिसरमा नै सरकारले गणतन्त्र स्माकर निर्माण गर्ने स्थान छनोट गरेको थियो।

प्रतिक्रिया दिनुहोस्