नौ जनाको वीभत्स हत्या, हत्यापछि शंकास्पद व्यक्तिले गरे आत्महत्या



गणेश साम्पाङ, पाँचथर
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राती दुई परिवारका नौ व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। घटनामा ७४ वर्षीय बमबहादुर फियाक, उनको श्रीमती पुर्चीमाया फियाक, ३६ वर्षीया छोरी जसमिता फियाक, २६ वर्षीया अर्की छोरी मनकुमारी फियाक र नातिनी आशिका खजुमको हत्या भएको छ।

त्यसै गरी बमबहादुरकै छोरीज्वाइँ ४१ वर्षीय धनराज शेर्मा, उनका १३ वर्षीया छोरी योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा र ६ वर्षीया इक्सा शेर्माको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ भने घाइते बमबहादुरकी नातिनी १२ वर्षीया सीता खजुमले भागेर ज्यान बचाएकी छन्।

रातको समयमा मुखुण्डो लगाएर आएका व्यक्तिले उनीहरूको हत्या गरेको भागेर ज्यान बचाएकी सीता खजुमले बताएको स्थानीयबासीले जनाएका छन्। यसै गरी घटनामा आशंका गरिएका बमबहादुरको ज्वाइँ पाँचथर मिक्लाजुङ–७ का मनबहादुर माखिमले पनि मंगलबार दिउँसो आत्महत्या गरेका छन्।

आत्महत्या गर्ने माखिम हत्या गरिएका बमबहादुर फियाककी छोरी मनकुमारी फियाकका श्रीमान् रहेको स्थानीयले बताएका छन्। मनकुमारी र मनबहादुरको सम्बन्धमा खटपट रहेकाले सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगेका थिए। माखिमले घरदेखि साढे एक घण्टा टाढा पाँचथर मिक्लाजुङ–८ स्थित हसारी जंगलमा गएर डोरीमा झुन्डिएर आत्महत्या गरेको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राईले बताउनुभयो।

घटनामा घाइते भएकी सीताको झापाको दकमस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको उपाध्यक्ष राईले बताउनुभयो।
मध्यरातमा भएको सो वीभत्स हत्यापछि अहिले सो क्षेत्रमा जिल्ला प्रहरी कार्यालय पाँचथर, इलाका प्रहरी कार्यालय रविबाट खटी गएका प्रहरीले शवको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
४ बालिकासहित ५ जनाको वीभत्स हत्याले आरुबोटे गाउँ पूरै शोकमा डुबेको छ।

यस्तो घटनाले यहाँका बासिन्दा त्रसित मात्र नभई शोकमा डुबेको मक्लाजुङ–३ का वडा अध्यक्ष हस्तराज फियाकले बताउनुभयो।
नौ जनाको ज्यान जाने गरी भएको हत्याको सूक्ष्म अनुसन्धान गर्नका लागि कुकुरसहितका प्रहरी टोली धरानदेखि आएर अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ।
घटनाको खबर सुन्नासाथ प्रहरीको सबै संयन्त्र प्रयोग गरेर घटनास्थलमा पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती, पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र कुँवरसमेत घटना स्थलमा पुग्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्