अञ्चल अस्पतालको सेवा नियमसम्वत भएपनि न्यायोचित भएन



बागलुङ ।
बागलुङ नगरपालिका–७ सिगानाकी ८३ वर्षीया पवित्रा गौतम विहान १०ः३० बजेनै धौलागिरि अञ्चल अस्पताल आइपग्नुभएको हो । एक सातादेखि रुघा, खोकी र ज्वरोले च्यापेकी पवित्रालाई आफ्नै वुहारीले नाताले नाती पर्ने युवासंग उपचार गराउँनको लागि अस्पताल पठाएकी हुन् । बुढ्यौली लागेर होला स्मरण शत्ति समेत कमजोर रहेकी पवित्राको दिउसोको १ बजेसम्म पनि नाम लेख्ने पालो आएको छैन ।

पछिल्लो समय विषेशज्ञ डाक्टरहरुको उपस्थिती र स्वास्थ्य विमा गरेका विरामीहरुले गर्दा अस्पतालमा निकै भिडभाड हुने गर्छ । अस्पतालको गेट बाट टिकट काउण्टर सम्म विरामीहरुको लाइन हुने गर्छ । अस्पताल प्रशासनले विरामीको चापलाई मध्यनजर गर्दै लाइनमा बसेर पालैपालो नाम लेखाउँने व्यवस्था मिलाएको छ । अस्पतालले नियम बनाएको भएपनि यो नियमले न्याय भने नगरेको अस्पतालमा उपचार गराउँन आएका बागलुङ नगरपालिका–३ का सरोज क्षत्री बताउँनुहुन्छ । ‘हामी एक दुइ जनाले वृद्धवृद्धाको दुख देखेर भएन, क्षत्री भन्नुहुन्छ अस्पतालमा सयौ मान्छेहरु उपचारको लागि आएका छन् सबैको मन एउटै हुँदैन्, शारिरीक रुपमा कमजोर भएका र वृद्धवृद्धाहरुको लागि छुट्टै व्यवस्था हुनुपर्ने हो ।’

घुडा दुख्ने, घुडा ननुघ्ने समस्या लिएर म्याग्दी जिल्लाको बराङजाबाट उपचार गराउँन आएकी ७० वर्षीया गौरी विकको पनि समस्या उस्तै छ । ११ बजे बाट लाइनमा बसेकी गौरी पनि १ बजेसम्म टिकट काउण्टर सम्म पुग्न सक्नुभएको छैन । ‘घुडा दुखेर उभिइ राख्न सक्दिन कतिवेला लाइनमै बस्छु कतिवेला आफुभन्दा अगाडी र पछाडीकालाई पालो हेर्न भनेर छेउमा आएर बस्छु गौरीले भन्नुभयो ।’

अस्पतालको नाम लेखाउँने काउण्टरमा मात्र होइन, नाम लेखाई सकेपछि चेक जाँच गराउँने स्थानमा पनि तेत्तीनै लामो लाइन बस्नु पर्छ । ९ः३० बजे अपताल आएका बागलुङ नगरपालिका–१० भकुण्डेका शारिरीक रुपामा अपाङगता भएका ७५ वर्षीय लाल बहादुर थापाले टिकट काउण्टर र चेकजाँच गराउने स्थानको लाइन पार गरि दिउसो २ बजे चेक गराउँनुभयो । डाक्टरले पिसाव चेक गराउँनु पर्छ भनेपनि थापा प्रयोगशालामा तेस्रो चरणको लाइन बसिरहेको भेटिनुभयो

अस्पतालमा उपचार गराउँन आउने विरामीहरु कोठै पिच्छेका लाइन बस्दा बस्दै हैरान भएको बताउँछन् । अस्पताल प्रशासनले विरामीको सहजताको लागि नाम लेखाउँने स्थान, चेकजाँच गर्ने स्थान, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे जस्ता सबै स्थानमा लाइन बस्नुपर्ने व्यवस्था मिलाएको बताउँछ । अस्पतालमा विरामीको बढ्दो चाप बढ्दो छ । दैनिक ३ सय भन्दा विरामीहरु उपचारको लागि आउँने गरेका धौलागिरि अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतम बताउँनुहुन्छ । विरामीको चापलाई मध्यनजर गर्दै सबै सेवाहरुलाई व्यवस्थीत बनाउँने तयारी गरिएको गौतमले बताउनुभयो ।

अस्पतालमा भौतिक संरचना अभावको कारणले सेवा प्रभावित भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन डाक्टर सागर राजभण्डारीले बताउनुभयो । ‘हामिले गर्भवती, जेष्ठनागरिक, अपाङगता भएका र बालवालिकाको बारेमा नसोचेको होइन, राजभण्डारीले भन्नुभयो अस्पतालको निर्माणधिन भवन ११ वर्षदेखि अलपत्र छ भौतिक संरचना अभाव भएको कारणले सबैको छुट्टाछुटै व्यवस्था गर्न सकिएको छैन ।’ ठेकेदार कम्पनी आशिष मिलेनियम भीमज्योति जयबाबा नयाँबाटो जेभीले २०६६ मा सुरु गरि २०७३ असार मसान्तसम्ममा भ्याटबाहेक ६ करोड ६० लाख रुपैयाँमा निर्माण गरिसक्नुपर्ने भवनको काम अहिलेसम्म अलपत्र छ ।

त्यस्तै २०७० सालमा निर्माण सुरु भएको अस्पतालको अर्को भवनको काम ठकेदार कम्पनीले एक वर्षदेखि अलपत्र छोडेको थियो । केहि समय यता सो भवनको निर्माण कार्य सुरु भएको र निर्माण कम्पनीले अबको एक महिनामा निर्माण सम्पन्न गरि अस्पताललाई हस्तान्तरण गर्ने तयारी गरेको अस्पतालले जनाएको छ । अस्पतालको भवन निर्माण हुँदासाथ ओपीडि, फार्मेसी र सबै डाक्टरहरुले छुट्छुटै कोठामा चेकजाच गराउँने गरि सबै सेवालाई व्यवस्थीत र प्रभावकारी बनाउने तयारी गरेको राजभण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्