नेपाल समाचारपत्रकर्मीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’



हेटौंडा ।
चलचित्र पत्रकार संघ मकवानपुरले जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरका यस वर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार’ बाट नेपाल समाचारपत्रकर्मी पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरेको छ ।

पराजुलीलाई नगद ५ हजार राशि र सम्मानपत्रले सम्मानित गरिएको हो । हेटौंडाबाट २०५२ सालदेखि कामना न्युज पब्लिकेशनका संवाददाता रहेका पराजुलीलाई मंगलबार हेटौंडामा सम्मान गरिएको हो ।

‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ बाट सञ्चारकर्मी र कवि डा. नवराज लम्साललाई सम्मान गरिएको छ । २० औं चलचित्र पत्रकारिता दिवसको अवसरमा संघको मकवानपुर शाखाको आयोजनामा हेटौंडामा भएको कार्यक्रमबीच उहाँलाई नगद ११ हजार १ सय ११ राशिसहित सम्मान गरिएको हो । तीन दशकदेखि नेपाली कला, भाषा र चलचित्र क्षेत्रमा कलम चलाउँदै आउनुभएका डा. लम्साल हाल रेडियो नेपालमा कार्यरत् हुनुहुन्छ ।

संघ अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश–३ संसदीय दलका नेता तथा मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, प्रदेश–३ सभा सदस्य प्रेमबहादुर पुलामी, नेपाल पत्रकार महासंघ वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, पूर्वमहासचिव पोषण केसी, न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष प्रताप बिष्ट, चलचित्र पत्रकार संघ केन्द्रीय पूर्वकोषाध्यक्ष निराजन भण्डारी, वान केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईं र पत्रकार महासंघ जिल्ला अध्यक्ष हरि हुमागाईंलगायतले सम्मानित गर्नुभएको थियो ।

संघले मकवानपुरबाट राष्ट्रियस्तरमा कलाकारिता गर्दै आएका कलाकारलाई पनि सम्मान गर्ने गरेको छ । यस वर्ष द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गीलाई ‘चलचित्रकर्मी सम्मान’ बाट सम्मान गर्ने निर्णय गरिएको थियो । तर, उहाँ पारिवारिक समस्याले कार्यक्रममा आउन असमर्थ रहनुभयो । उहाँलाई अन्य कार्यक्रममा सम्मान प्रदान गरिने संघ अध्यक्ष गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्