पर्वतका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षण शुरु



नेपाल समाचारपत्र, पर्वत ।
पर्वत जिल्लाका दुई स्थानिय तहले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँन अभियान शुरु गरेका छन । पर्वतका मोदी र महाशिला गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान सुरु गरेका हुन ।

महाशिला गाउँपालिका र मोदी गाउँपालिकाले छुट्टाछुट्टै ढंगले प्रबिधीमैत्री शिक्षण शुरु गरेका छन । महाशिलामा हरेक कक्षाकोठामा कम्प्युटर र प्रोजेक्टर मार्फत पढाउन थालिएको छ भने मोदी गाउँपालिकाले परिक्षणको रुपमा वडा नं २ देउपुरबाट मिदास इक्लास पद्दतीमा शिक्षण शुरु गरेको छ । महाशिलामा आयोजित प्रबिधी मैत्री शिक्षा कार्यक्रमको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले शुरुवात गर्नुभयो भने मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले वडा नं २ देउपुर स्थित जनजनेत्र माबिबाट उक्त प्रबिधीमैत्री शिक्षाको एकै दिन मंगलबारबाट शुरुवात गर्नुभयो ।

वर्तमान शैक्षिक प्रणाली प्रविधिबाट सञ्चालन भइरहँदा पनि विद्यालयमा भने परम्परागत घोकन्ते शिक्षा प्रणाली नै कायम रहेकोले यसको अन्त्यका लागि यो अभियान दिनुभयो । अभियानअन्तर्गत गाउँपालिकाभित्र रहेका विद्यालयका प्रत्येक शिक्षकसँग ल्यापटप अनिवार्य गरिएको छ भने एउटा कक्षामा एउटा ‘प्रोजेक्टर’ प्रदान गरिने भएको छ। शुरुमा माध्यमिक तहसम्म सञ्चालनमा रहेको विद्यालयहरुका लागि मात्र चलाइएको यो अभियान बिस्तारै आधारभूत तहको प्राविसम्म सञ्चालनमा रहेका विद्यालयहरुमा पनि लैजाने गाउँपालिकाको योजना छ।

यसका लागि गाउँपालिकाले तत्कालका लागि ३२ लाख रुपैयाँ विनियोजन गरेको छ। उक्त रकमबाट गाउँपालिकाभित्र रहेका आठवटै माध्यमिक विद्यालयमा ‘प्रोजेक्टर’ प्रदान गरिने छ। गाउँपालिकाले विनियोजन गरेको बजेटबाट मावि तह सम्म सञ्चालनमा रहेका विद्यालयको एउटा कक्षाका लागि एउटा प्रोजेक्टर खरिद गरिने छ। यसका लागि आवश्यक पर्ने ल्यापटप भने सम्बन्धित विद्यालय वा सम्बन्धित शिक्षक आफैँले व्यवस्थापन गर्नुपर्ने मापदण्ड राखिएको छ। ‘गाउँपालिकाले मापदण्ड पूरा गरेका विद्यालयलाई आवश्यक पर्ने ‘प्रोजेक्टर’ दिन्छ। ल्यापटप खरिद गर्ने काम विद्यालयले गर्नुपर्छ, वा शिक्षक आफैँले किन्नुपर्छ’ गाउँपालिकाका प्रमुख राजु पौडेलले भन्नुभयो ।

मोदी गाउँपालिका वडा नं २ लाई शिक्षण शिकाईमा सुचना सञ्चार प्रबिधीको प्रयोग पुर्ण रुपमा प्रयोग गर्न थालिएको छ । पहिलो चरणमा वडा नं २ का सबै सामुदायिक बिद्यालयमा मिदास इक्लासबाट कक्षा शुरु गरिएको वडा अध्यक्ष बिकास तिमिल्सीनाले बताउनुभयो । यसका लागि प्राबिधीक सहयोग मिदास इक्लासले गरेको छ भने आर्थिक सहयोग भने गाउँपालिकाले गर्छ ।

हरेक बिद्यालय र कक्षाकोठामा ल्यापटप प्रोजेक्टर इन्टरनेटको प्रयोगबाट शिक्षण शिकाई कार्यक्रम शुरु गरिएको छ । बिद्यालयको अनुगमन देखि क्रियाकलापको रिर्पोटि गर्ने काम हुन्छ । ‘सामुदायिक बिद्यालयको सुधारमा कोशेढुंगा सावित हुने बिश्वास लिएका छौ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्