सेतक चिनीको निकासी शुरु



रुकुमपूर्व ।
जिल्लाबाट बहुमूल्य सेतक चिनी (खिराउलो) को निकासी शुरु भएको छ । वन मन्त्रालयले जिल्लालाई एक वर्षका लागि २५० क्वीन्टल सेतक चिनी निकासीका लागि कोटा निर्धारण गरेको थियो ।

कोटा निर्धारण गरेअनुसार डिभिजन वन कार्यालयले पुर्जी उपलब्ध गराएपछि व्यापारीले यसको सङ्कलन तथा निकासी शुरु गरेका हुन् । स्थानीय तथा जिल्ला बाहिरबाट आएका व्यापारीले सेतक चिनी सङ्कलनका लागि पुर्जी लिएर काम थालेका छन् । केहिले आफैँ अनुमति पाएको परिणामको सेतक चिनी सङ्कलन गरिसकेका छन् भने केही सङ्कलनको क्रममा छन् । सेतक चिनीको सङ्कलन पुर्जीअनुसार डिभिजन वन कार्यालयमा रु तीन लाख ७५ हजार राजश्व जम्मा भएको छ ।

सेतक चिनीको अघिल्लो वर्षसम्म प्रतिकिलो रु पाँच राजश्व तिरेका व्यापारीले यो वर्ष प्रतिकिलो रु १५ रुपियाँ राजश्व तिरेको डिभिजन वन कार्यालयका रेन्जर विश्व केसीले बताउनुभयो ।

मन्त्रालयबाटै सेतक चिनीलगायत अन्य जडिबुटीको राजश्व बढेर आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा सङ्कलन गर्नुपर्ने कोटा अनुसारकै पुर्जी जारी भइसकेको छ । जिल्लाका तीनवटै स्थानीय तहमा सेतक चिनी पाइए पनि विशेष गरी पुथा उत्तरगङ्गा गाउँपालिकामा बढी पाइने गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्