गर्भवती र सुत्केरीलाई पोषण पदार्थ दिन जोड



जीतपुर ।
कपिलवस्तु, वाणगङ्गा नगरपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिका समितिको बैठक तथा समीक्षा गोष्ठीले गर्भवती, सुत्केरी, कुपोषित, ख्याउटे, पुड्का र हजार दिनका सुत्केरीलाई पोषणयुक्त खाद्य दिलाउन स्थानीय तहहरुले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रको आयोजनामा नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, हजार दिने आमा एवं जनप्रतिनिधि तथा स्थानीय सङ्घसंस्थाबीच नगरपालिका प्रमुख मङ्गलप्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले आगामी आव २०७६ ÷७७ मा पोषण योजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फिल्ड संयोजक मन्टु कोरीले सुआहारा दोस्रो कार्यक्रमबाट हालसम्म गाउँ तथा नगरस्तरमा सम्पन्न भएका तथा सञ्चालनका क्रममा रहेका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

गोष्ठीमा स्थानीय तहहरुबाट बहुक्षेत्रीय पोषण कार्यक्रममा विनियोजित बजेट तथा क्रियाकलापलाई सूक्ष्म कार्ययोजना तयार गर्ने र त्यसमा सुआहाराको प्राविधिक सहयोगका विषयमा नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत कमल ज्ञवालीले प्रष्ट्याउनुभयो ।

कार्यक्रमका संयोजक लवहरि बुढाथोकीले आगामी आवमा पोषण कार्यक्रमलाई प्राथमिकता दिनाका साथै बहुक्षेत्रीय पोषण योजना २०७५ ÷७६ देखि २०७९/८० ले लिएका दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति एवं सुआहाराबाट सिकाई भइआएका कार्यक्रमबारेमा प्रस्तुति दिनुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्