कर्मचारी अभावमा मालपोत कार्यलय, सेवाग्राही मर्कामा



कपिलवस्तु ।
कुनै बेला धेरै कर्मचारीको पहिलो रोजाईमा परेको मालपोत कार्यलय कपिलवस्तुमा यतिबेला कर्मचारीको अभाव देखिएको छ ।

कर्मचारी अभावका कारण सेवाग्राहीले समयमा काम हुन नसक्दा सास्ती खेप्दै आएका छन् । सेवाग्राहीको गुनासो सम्वोद्धन र कर्मचारीको पदपूर्ति हुन नसक्दा कृषि मन्त्री चक्रपाणी खनाल देखि प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलाई चिन्तित बनाएको छ । यस विषयमा पटक पटक कार्यलयले उहाँहरुको ध्यानाकर्षणसमेत गराउँदै आएको छ । तर पनि अहिलेसम्म कार्यालयमा दरबन्दी अनुसारको कर्मचारीको पदपूर्ति हुन सकेको छैन् ।

चरम अभावको अवस्था
जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय कपिलवस्तुमा खरिदार देखि उपसचिव सम्मका ३८ कर्मचारीको दरबन्दी छ । कार्यालय सहयोगी वाहेक अहिले कार्यालयमा १२ कर्मचारी मात्र छन् भने १० कार्यलय सहयोगी छन् । कर्मचारीको अभावका कारण एउटा कर्मचारीले २÷३ वटा फाँटको जिम्मेवारी सम्हाल्नुपरेको छ । मालपोत कार्यलयमा सबैभन्दा महत्वपूर्ण मानिएको मुद्दा फाँट र मोठ फाँटमा कर्मचारी नहुँदा सेवाग्राहीले सवैभन्दा बढी समस्या भोग्दै आएका छन् ।

एक उपसचिब, एक अधिकृत, आठ नासु र ६ खरिदार, २ कम्प्युटर अपरेटर, एक चालक र एक लेखापालको दरबन्दी खाली रहेको छ । कार्यालयमा आवश्यक संख्यामा कर्मचारी नहुँदा दैनिक कामकाज प्रभावित बनेको मालपोत कार्यलयका अधिकृत ऋषिराम पौडेलले बताउनुभयो ।

कर्मचारी अभावका विषयमा सम्बन्धीत मन्त्रालयदेखि सरोकारवाला सबै निकायमा जानकारी गराउँदा पनि अहिलेसम्म पदपूर्ति हुन नसकेको उहाँले बताउनुभयो ।

अनलाइनले सेवाग्राही मर्कामा
जिल्ला मालपोत कार्यलय कपिलवस्तुमा अनलाईन सेवा लागू भएपछि सेवाग्राही झन मर्कामा परेका छन् । कार्यालयले सुरु गरेको भूमि अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली भरपर्दा नभएपछि कामका लागि दैनिक आउने सेवाग्राही मर्कामा परेका छन् । छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले गत मंसिर २९ गतेदेखि अनलाईन प्रणालीबाट काम सुरु भएपछि सेवाग्राहीले भने झनै सास्ती पाउन थालेका छन् ।

अनलाईन प्रणालीमार्फत टोकनबाट सेवा प्रवाह गर्ने लक्ष्य लिए पनि त्यो प्रभावकारी हुन नसकेको अधिकृत पौडेलले बताउनुभयो । अनलाईन प्रणालीबाट काम गर्न सहज र छिटो हुने भनिए पनि सुरुमा यो प्रणाली असहज बनेको उहाँले बताउनुभयो । अहिले कम्प्युटरमार्फत ४ जनाले सेवा दिइरहेका छन । एउटा सेवाग्राहीलाई डेढ÷दुई घण्टा समय लागिरहेको कार्यालयले जनाएको छ । कर्मचारीको कार्यक्षमता कमजोर हुँदा यस्तो समस्या आएको सेवाग्राहीको गुनासो छ । कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा घण्टौं लाईनमा बसेर पनि काम नहुँदा सेवाग्राही समस्यामा पर्न बाध्य छन् ।

कार्यलयमा रहेका केही फाँटमा कर्मचारी नहुँदा एउटै कर्मचारीले २÷३ ओटा कोठामा पालो अनुसार डुलेर काम सक्नुपर्ने बाध्यता छ । यसो गर्दा एउटा फाँटको काम सकेर अर्को फाँटमा पुग्ने सेवाग्राही अड्किएर बस्नुपर्ने हुन्छ । कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “हामीले निकै मिहिनेत गरेर धेरैजसो सेवाग्राहीका काम त एकै दिनमा सकाएर पठाउने गरेका छौँ ।” बिहान ७ बजेबाट नै साझसम्म बसेर सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको उहाले बताउनुभयो । मुलुक सङ्घीयतामा गइसकेपछि छिटो, छरितो र पारदर्शी रुपमा सार्वजनिक सेवा पाउने आशा सेवाग्राहीको छ तर कर्मचारी अभावका कारण उनीहरु झनै पीडा पाएको दुःखेसो सेवाग्राहीको छ ।

अर्घाखाँचीबाट जग्गा पासका लागि आउनु भएकी सुन्दर थापाले गाउँ गाउँमा अधिकार पाइन्छ रे भन्ने सुनेका थिए तर मालपोत कार्यालयमा धाउँदा हैरान भएपछि उहाँले जुनसूकै व्यवस्था आएपनि दुःख पाउने जनता नै रहेछन भन्ने लागेको वताउनुभयो ।

राजश्व छुट लिनेको सङ्ख्यामा वृद्धि

सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढ्दो छ । उनीहरुलाई घरजग्गा रजिस्ट्रेसन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजश्वमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । योसँगै जिल्लामा महिलाका नाममा रजिस्ट्रेसन पास गर्नेको संख्यामा झण्डै ४० प्रतिशतले वृद्धि भएको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

महिलाको नाममा घर जग्गा दर्ता गराउनेको संख्या सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बढी रहेको मालपोत अधिकृत पौडेलले बताउनुभयो
रासस

प्रतिक्रिया दिनुहोस्