दुवै हात नभएर के भो ? प्लेन उडाउँछिन्, तेक्वान्दोमा ‘ब्ल्याक’ बेल्ट पनि



काठमाडौं  । दृढ इच्छाशक्ति भएमा मानिसलाई सफलताको शिखर चुम्न केहीले रोक्न सक्दैन । यसको गतिलो उदाहरण बनेकी छन् अमेरिकाकी जेसिका कोक्स ।

न्मदै दुई हात नभएकी जेसिकाका लागि जीवनको यात्रा त्यति सहज थिएन । अपांगताका बाबजुद उनको हिम्मत र इच्छाशक्ति यति सबल थियो कि उनले हरेक प्रतिकुलतालाई अवसरमा परिणत गर्दै आज विश्वकै उदाहरणीय महिला बन्न सफल भइन् ।

एरिजोना निवासी ३० वर्षीय जेसिका कुशल पाइलट हुनका साथै पौडीवाज, तेक्वान्दो खेलाडी र ‘मोटिभेसन स्पिकर’ पनि हुन् । तेक्वान्दोमा उनले ‘ब्ल्याक बेल्ट’ हासिल गरेकी छन् ।

अमेरिकी न्यूज च्यानल ‘सिएनएन’ का अनुसार जेसिकाकी आमा शुरुमा निकै हतास थिइन् । सुत्केरी भएलगत्तै चिकित्सकले आफूलाई छोरी सुम्पिँदा छाँगाबाट खसे जस्तो अनुभव भएको उनले सुनाइन् । उनी भन्छिन्, ‘चिकित्सकले छोरी काखमा राखिदिए तर म स्तब्ध भएँ, किनकी छोरीका दुवै हात थिएनन् ।’

जीवनका हरेक मोडमा जेसिकालाई उनकी आमाले साथ दिइन् । उनलाई आत्मनिर्भर बन्न आमाले प्रेरित गरिरहिन् । सन् २००५ मा जेसिकाले पाइलटको प्रशिक्षण लिन थालिन् । सन् २००८ मा उनले फेडरल एभिएसन एडमिनिस्ट्रेशनका तर्फबाट एरकुप नामको एउटा सानो विमान उडाउने अनुमतिपत्र हासिल गरिन् ।

हाल उनी आफू जस्ता अपांगता भएकाहरुका लागि प्रेरित गर्न विभिन्न मुलुकमा ‘मोटिभेसन कक्षा’ मा सहभागी हुन्छिन् । उनले करिब २० मुलुकमा त्यस प्रकारको प्रशिक्षण दिइसकेकी छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्