चीन विशाल विमानबाहक युद्धपोत निर्माण गर्दै



बेइजिङ (एजेन्सी)
अमेरिकाका एक थिंक ट्यांकले भुउपग्रह तस्वीर जारी गर्दै चीन आफनो तेस्रो र सबैभन्दा ठुलो विमानबाहक युद्धपोत निर्माण गरिरहेको दावी गरेका छन् ।

यसको निर्माण सांघाई नजिकै जियानगांग सिपयार्डमा भइरहेको छ । चीन सरकार र त्यहाँका सैन्य अधिकारीहरुले यस विषयमा कुनै पनि जानकारी दिन अस्विकार गरेका छन् । गत महिना अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि यसको जानकारी दिएको थियो ।

चीनको उक्त एयरक्र्याट क्यारियरको तस्वीर सेन्टर फर स्टे«टेजिक एन्ड इन्टरनेसनल स्टडिज अर्थात सीएसआइएसले जारी गरेको हो । संस्थानले चीनको विमान वाहक युद्धपोतको निर्माण विगत ६ महिनामा तिब्र गतिमा अत्यन्तै गोप्य तरिकामा कामा भइरहेको जनाएको छ । पेन्टागनले गत महिना यसको पुष्टि गरेको थियो तर उसँग त्यसको तस्विर उपलब्ध नभएको बताएका थिए । सीएसआईएसले अब त्यसको तस्वीर जारी गरि दावीलाई बलियो बनाएको छ ।


समाचार एजेन्सीका अनुसा यो विमान बाहक युद्धपोत पुर्ण रुपमा स्वदेशी हुने छ । यसको माध्यमबाट चीन पुर्वी एसियमा आफनो दबदबा बढाउन चाहन्छ । यस मामिलामा अहिलेसम्म उ अमेरिका भन्दा धेरै पछाडी रहेको छ । स्याटलाइट तस्विरबाट उक्त युद्धपोतको अगाडीको भाग ३० मिटर र ४१ मिटरका दुई सेक्सन निर्माण भइरहेको प्रष्ट देखिएको जनाइएको छ । यसकालागि शक्तिशाली क्रेनको प्रयोग भइरहेको देखिएको बताइएको छ ।

यस प्रकारको क्यारियरलाई ००२ टाइप भन्ने गरिन्छ । अमेरिकासँग अहिले १ लाख टन र फ्रान्ससँग ४२ हजार ५ सय टनको विमानवाहक युद्धपोत छ । चीनको निर्माणाधिन यो युद्धपोत अमेरिकाको भन्दा धेरै सानो तर फ्रान्सको भन्दा केही ठुलो हुने छ ।

चीनको यस युद्धपोतका कारण विमानको अवतरण र उडानमा पर्याप्त सुधार हुने पेन्टागनले आफनो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको थियो । उक्त विमानबाहक युद्धपोत परमाणु हतियार सम्पन्न हुने हो वा होइन भन्ने विषयमा यकिन गर्न गाह्रो हुने विशेषज्ञहरुले बताए ।

चीनसँग १० परमाणु पनडुब्बी छ ।
यो तयार भएपछि चीन एसियामा सबैभन्दा अगाडी हुनेछ । भारत र जापान पनि पछाडी पर्ने भएकोले ती दुबै देशको निर्भरता अमेरिकामाथि बढ्ने हङकङका रक्षा विशेषज्ञ इयान स्टेरेले बताए ।

प्रतिक्रिया दिनुहोस्